सन्नाटामा सिंहदरबार 

प्रधानमन्त्री कार्यालय, गृह र शिक्षा मन्त्रालयको भवन बस्नै नमिल्ने गरी क्षतिग्रस्त, भवन नजलेका मन्त्रालयको परिसरमा गाडीहरू ध्वस्त

भाद्र २८, २०८२

राजेश मिश्र

प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरू रहेको मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार लगाइएको आगो अझै निभेको छैन । दमकलले आगो निभाउन सैनिकहरू निरन्तर खटिइरहेका छन् । 

प्रदर्शनकारीहरूले मंगलबार अपराह्न लगाएको आगो अझैसम्म सल्किइरहेको छ । नेपाली सेनाका जवानहरू शुक्रबार साँझसम्मै खटिई सल्किहरेको र धूवाँ आइरहेका स्थानमा आगो निभाउने प्रयासरत थिए । 



सिंहदरबारको मुख्य आकर्षणका रूपमा रहेको अघिल्लो भागमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय थियो । त्यो बस्न नमिल्ने गरी ध्वस्त भएको देखिन्छ । २०७२ मा आएको भूकम्पपछि मौलिकता नहराउने गरी ‘रेट्रोफिटिङ’ गरिएको थियो । 



भूकम्पका कारण भवन क्षतिग्रस्त भएपछि सारिएको प्रधानमन्त्री कार्यालय पाँच वर्ष अगाडि मात्र आफ्नो भवनमा सरेको थियो । अहिले फेरि प्रधानमन्त्री कार्यालय विस्थापित हुने स्थतिमा पुगेको छ । 



जेन–जी आन्दोलनको दबाबमा केपी शर्मा ओलीले मंगलबार नै प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेका छन् । नयाँ प्रधानमन्त्रीलाई कहाँ राख्ने भन्ने अन्योल भइरहेका बेला मुख्य सचिव तथा सचिवहरूको बैठकले गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनलाई प्रयोगमा ल्याउने निष्कर्ष निकालेको छ । 



पुरानो गृह मन्त्रालय रहेको स्थानमा नयाँ भवन तयार छ । त्यहाँ गृह मन्त्रालय सार्ने तयारी थियो । तर अब प्रधानमन्त्री कार्यालय सार्ने तयारी गरिएको हो । गृह मन्त्रालय भने पहिला सामान्य प्रशासन मन्त्रालय बसेको ठाउँमा सार्ने तयारी छ ।



मुख्य सचिव तथा सचिवहरूले शुक्रबार बिहान सिंहदरबारको निरीक्षण गरेका छन् । मुख्य सचिव एकनारायण अर्यालको निर्देशनपछि सबै मन्त्रालयका सचिवहरू आआफ्नो मन्त्रालय पुगेका थिए । 



मन्त्रालयहरूमा सरसफाइ थालिएको छ । प्रधानमन्त्री कार्यालयपछि गृह मन्त्रालय रहेको भवन बढी क्षतिग्रस्त छ । गृहकै अगाडि रहेको शिक्षा मन्त्रालय पनि क्षतिग्रस्त छ । त्यसबाहेक संघीय मामिला, ऊर्जा/सिँचाइ तथा अर्थ मन्त्रालयको भवनमा आगजनी भएको छ । 



सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली प्रधानमन्त्री कार्यालय, गृह र शिक्षा मन्त्रालयको भवन बस्नै नमिल्ने गरी क्षतिग्रस्त देखिएको बताए । आइतबारबाट क्षतिको विवरण संकलन गरिने उनले जानकारी दिए । 



‘प्रहरीबाट मुचुल्का उठाएर मन्त्रालयहरूले क्षतिको विवरण संकलन गर्ने तयारी छ,’ उनले भने । 

भवनमा क्षति नपुगेका मन्त्रालयको परिसरमा राखिएका सवारी साधन जलाइएका छन् । भवन र सवारी साधन जलेको सिंहदरबारको दृश्य ठूलै युद्धपछिको जस्तो देखिन्छ । सहरी विकास मन्त्रालयको भवनमा क्षति छैन । तर उसका ५० वटा गाडी जलाइएका छन् । 



अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयको पछाडि, गृह मन्त्रालय तथा पुरानो संसद् भवनको अगाडि सयौंको संख्यामा कार, जिप, बस र मोटरसाइकल जलेको देखिन्छ । सिंहदरबार परिसरमा रहेका कांग्रेस र एमालेका संसदीय दलको कार्यालय पनि ध्वस्त भएका छन् । 



सिंहदरबारलाई फेरि कसरी पुनर्जीवित गर्ने चुनौती अब आउने सरकारका अगाडि छ । मुख्य सचिव एकनारायण अर्याल सिंहदरबारमा अकल्पनीय क्षति भएको बताउँछन् । अहिले मन्त्रालयहरू कसरी सञ्चालनमा ल्याउने विकल्पमा छलफल गरिरहेको उनको भनाइ छ । 



अर्यालका अनुसार केही मन्त्रालयलाई एउटै भवनमा गाभेर सञ्चालन गर्ने वा अन्य के–के विकल्प हुन सक्छ भन्नेबारे अध्ययन गरिनेछ । ‘अब जसरी पनि सिंहदरबारलाई सञ्चालन गर्ने तयारीमा हामी जुट्दै छौं । अवलोकन र सरसफाइको कार्य थालिएको छ,’ उनले भने, ‘भवनहरूको स्थितिको मूल्यांकनपछि बस्नै नमिल्ने भएका मन्त्रालयहरूलाई सुरक्षित रहेका भवनहरूमा सारेर काम चलाउने प्रयास गरिनेछ ।’


राजेश

Link copied successfully