मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका झन्डै दुई सय नेपाली अझै पनि फर्कन पाएका छैनन् ।
काठमाडौं — जेन–जीको आन्दोलनका कारण मंगलबार दिउँदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र चहलपहल बिहीबारदेखि पुरानै लयमा फर्केको छ । विमानस्थल कार्यालयका अनुसार बिहीबार एकै दिन ३ सय ५८ उडान भएका छन् । जसमा आन्तरिक २ सय ६० र ९८ अन्तर्राष्ट्रिय उडान छन् ।
मंगलबारदेखि बुधबार बेलुकीसम्म विमानस्थल बन्द हुँदा हजारौं यात्रु अलपत्र परेका थिए । प्रदर्शन रोकिएर वातावरण सहज बनेपछि बुधबार बेलुकीबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको थियो । नेपालबाट उडान हुने प्रमुख अन्तर्राष्ट्रिय मार्गहरू गल्फ क्षेत्रका कुवेत, दुबई, दोहा, शारजाह र भारतका दिल्ली, मुम्बई, बेंगलोर हुन् । यसमध्ये बिहीबार दिल्ली–काठमाडौं–दिल्ली मार्ग सबैभन्दा व्यस्त रहेको विमानस्थलले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय वायुसेवाहरूमध्ये हिमालय एयरलाइन्स, इन्डिगो, स्पाइसजेट, फ्लाइ दुुबई र कतार एयरवेजले धेरै उडान गरेका थिए ।
विमानस्थल सञ्चालनमा आएसगै तीन दिनदेखि विभिन्न विदेशी विमानस्थलको ट्रान्जिटमा रोकिएका नेपाली बुधबार बेलुकादेखि स्वदेश आउन थालेका छन् । विभिन्न देशबाट उडान लिएर कतार, यूएई र मलेसियाको विमानस्थलमा ट्रान्जिटमा रोकिएका उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि फर्कन पाएका हुन् । आन्दोलनपछि त्रिभुवन विमानस्थलमा हवाई उडान बन्द गरिएपछि देश फर्कन खोजेका नेपाली विदेशका विभिन्न विमानस्थलमा
नै रोकिनुपरेको हो । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका झन्डै दुई सय नेपाली अझै पनि फर्कन पाएका छैनन् । गैरआवासीय नेपाली संघ, मलेसियाका पूर्वअध्यक्ष विनोद थापाका अनुसार नेपाल फर्कन लागिरहेका उनीहरूलाई भने सम्बन्धित एयरलाइन्सले उडाउने तालिका अझै दिइसकेको छैन । अलपत्र परेका नेपाली यात्रुलाई गैरआवासीय नेपाली संघ मलेसिया, जनजाति महासंघ मलेसियाले खाना वितरण गरिरहेको बताएका छन् ।
यता, वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जान दिल्ली पुगेका नेपाली श्रमिक पनि दिल्ली विमानस्थलमा रोकिएका छन् । प्रदर्शनकारीले वैदेशिक रोजगार विभाग जलाइदिएपछि विभागको सर्भर डाउन हुँदा श्रम स्वीकृति लिनका लागि अनलाइन फाराम लिन पाएका छैनन्, जसले गर्दा अध्यागमन प्रशासनले रोकेको हो । विभागका निर्देशक टीकाराम ढकालका अनुसार विभाग जलेर ठूलो क्षति पुगेको छ । ‘श्रम स्वीकृति दिन मिल्छ तर बाहिर हेर्न मिल्दैन । यसले समस्या निम्तायो । हामी डाउन भएको सर्भर मर्मत गरेर हेर्न मिल्ने बनाउने कोसिसमा छौं’, उनले भने ।
विभागका अनुसार कर्मचारीले घरबाटै श्रम स्वीकृति सेवा दिइरहेका छन् । ‘हाम्रो कार्यालय जलेर ध्वस्त भएको छ । तत्काल कार्यालयबाट सेवा दिन कठिन छ । हामी अनलाइनबाट श्रम स्वीकृति दिन सक्छौं,’ उनले भने, ’यसबाहेक अन्य सेवा दिन कठिन छ ।’
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले पनि श्रम स्वीकृति पाएका कामदार रोकिएको गुनासो आइरहेको बताए । उनले भने, ‘अहिले म्यानपावर कम्पनी बन्द छन् ।’
विमानस्थल पूर्णरुपमा सञ्चालनमा आएपछि आन्तरिक उडानतर्फ बिहीबार २६० उडानको तालिका राखिएको थियो । यसमा बुद्ध एयरका १४२, यती
एयरलाइन्सका ४२, श्री एयरका ३८, सीता एयरका ८, समिट एयरका ६, तारा एयरका २० र नेपाल वायुसेवा निगमका ४ उडान समावेश थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केही उडान मौसमका कारण रद्द भए पनि अधिकांश उडान सफलतापूर्वक सञ्चालन भएको जानकारी दिएको छ । सबै उडान
राति १ बजेसम्म हुने भएकाले कति यात्रु ओहोरदोहोर भए भन्ने यकिन तथ्यांक शुक्रबार मात्रै सार्वजनिक गरिन्छ ।
काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि खुला हुन्छ । राति १ बजेसम्म सञ्चालनमा आउने गर्दछ । विमानस्थलले दैनिक ३० हजार यात्रुलाई सेवा दिन्छ । जसमा आन्तरिक १५ हजार र यति नै संख्यामा अन्तर्राष्ट्रिय यात्रु हुने गरेका छन् ।
