पहिलो दिनको जेन–जी आन्दोलन र दोस्रो दिनको हिंसात्मक प्रदर्शनका क्रममा ३१ जनाको ज्यान गएकामा केहीको पहिचान हुनै बाँकी, गोरखाका मात्रै ३ जनाको मृत्यु
सोमबार बिहान सुरु भएको जेन–जीको आन्दोलनले दिउँसोदेखि उग्ररूप लिन पुग्यो । दिनभर प्रहरीले चलाएको गोलीबाट १९ विद्यार्थीको मृत्युका खबर छ्याप्छ्याप्ती भइसकेका थिए । धनगढी उपमहानगर–५ तारानगरकी सोनिया जोशीले राति ९ बजेतिर टिकटकमा काठमाडौंमा भएको आन्दोलनका भिडियो हेरिरहेकी थिइन् ।
यत्तिकैमा उनले एक युवालाई गोली लागेको भिडियो हेर्न पुगिन् । सोनिया त्यसै पनि त्रसित भइरहेकी थिइन्, तर जब एक जनाले कमेन्टमा गोली लाग्नेको फोटो पोस्ट गरे, तब उनी विछिप्त बन्न पुगिन् । उनको मुटुले ठाउँ छोड्यो । सोनियालाई विश्वास नै गर्न गाह्रो भयो, त्यो फोटो उनकै काका गौरव जोशीको थियो । अत्ताल्लिएर उनले काठमाडौंमा रहेका भाइ प्रवीनलाई फोन गरेर फोटो पठाइन् । रगतले लतपतिएको अनुहार प्रस्ट चिनिएको थिएन ।
प्रवीनले गौरवलाई कपडा र झोलाबाट चिने । गौरवले त्यो दिन प्रवीनसँगै किनेको कपडा लगाएका थिए । यत्तिकैमा अस्पतालमा मृत्यु भएका एक जनाको एटीएम कार्ड भेटिएको समाचार आयो । जसमा उही नाम थियो गौरव जोशी । सोनिया र प्रवीनले गौरवको मृत्यु भएको खबर तत्काल कसैलाई सुनाउन सकेनन् ।
गौरव वृद्ध आमाबुवाको एक मात्र भरोसा थिए । रातभरि निदाउन नसकेकी सोनियाले बिहान ४ बजे यो कुरा आफ्ना आमाबुवालाई सुनाइन् । घरमा रुवाबासी चल्यो । उनको घर नजिकै गौरवको घर छ । बिहान ६ बजे आमाबुवासँगै उनी गौरवको घर पुगिन् । एकाबिहानै सबै घरमा आएको देख्दा ७८ वर्षीय बुवा बासुदेव र वृद्ध आमा आश्चर्यमा परे । धेरैपटक दुःखद खबर सुनाउन प्रयास गरे पनि बूढो अनुहारका आमाबुवा देखेर सुनाउन कसैले साहस गरेनन् । २४ गते साँझ ६ बजे मात्रै उनका आमाबुवालाई गौरव गोली लागेर घाइते भई टिचिङ अस्पतालको आईसीयूमा उपचाररत रहेको कुरा सुनाइयो ।
सोनियाका अनुसार गौरवका दुई आमामध्ये जेठी आमा र बुवा धनगढीमा नै बस्छन् । उनी भने तीन वर्षदेखि आमा माया र दिदी आयुशासँग काठमाडौं बस्दै आएका थिए । काठमाडौंमै भए पनि गौरवको गोली लागेर मृत्यु भएको खबर आमा र दिदीलाई भदौ २४ गते साँझ ५ बजे मात्रै सुनाइयो ।
बिहान कन्सल्टेन्सी गएर आएपछि खाना खान्छु भन्दै गएका गौरव त्यसपछि कहिल्यै नफर्किने गरी अस्ताए । दिदी आयुशाले आन्दोलन भएकाले नजान सुझाएकी थिइन् । तर उनी आन्दोलनमा नजाने भन्दै कोटेश्वरस्थित डेराबाट निस्केका थिए ।
छोराको शव हेर्न भए पनि अस्पताल जान्छु भनेका आमा र दिदीलाई आफन्तकहाँ पुर्याइएको छ । गौरवको मृत्युको खबरले जोशी परिवार मात्र होइन, तारानगर नै शोकमा डुबेको छ । धनगढी रहेका बुवाआमा भावविह्वल छन् । ‘आमाबुवाले केही खान सकिरहनुभएको छैन । हामीले के भनेर सम्झाउने ? कुनै शब्द नै छैन,’ सोनियाले भनिन् । उनका अनुसार २१ वर्षीय गौरव ३ वर्षअघि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा प्लसटु सकेर काठमाडौं गएका थिए । ‘सोझो, मिलनसार हुनुहुन्थ्यो अंकल । कहीँकतै नजाने, डराउने,’ उनी भन्छिन् ।
गौरवले १२ कक्षा पास गरेपछि अस्ट्रेलिया जान खोजेका थिए, सम्भव नभएपछि यूके जाने तयारीमा थिए । जेन—जी आन्दोलनमा गौरव अस्ताउँदा वृद्ध आमाबुवाको सहाराको टेको नै ढलेको छ ।
यतिबेला गौरवको शव टिचिङ अस्पतालमा छ । मृतकका आफन्तले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गौरवलाई सहिद घोषणा गरेर राष्ट्रिय सम्मान साथ अन्त्येष्टि गर्नुपर्ने र वृद्ध आमाबुवालाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
बुवालाई रोकेर प्रदर्शनमा गएका ईश्वत फर्किएनन्
तनहुँको भानु नगरपालिका–१२ कवाजित पुर्ख्यौली घर भई काठमाडौंमा बसोबास गर्दै आएका ईश्वत अधिकारीको पनि काठमाडौंको भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको छ । नेपाली सेनाका पूर्वमेजर ईश्वरबहादुर अधिकारी र अन्जना थापाका २६ वर्षीय छोरा ईश्वत गत सोमबार बुबालाई भनेरै जेन—जी आन्दोलनमा सरिक हुन घरबाट निस्केका थिए । बुवा ईश्वरले भने, ‘म सँग जान्छु भनेर गएको हो । म पनि जान्छु भन्दा यो जेन—जीको आन्दोलन हो, यो हाम्रा लागि हो भनेर मलाई रोकेर आफू गएको थियो ।’
देशलाई भ्रष्टाचारमुक्त बनाउँछु, देशमा परिवर्तन ल्याउछु भनी प्रदर्शनीमा गएको छोरा सहिद भएको उनी बताउँछन् । ‘हामी दुःखी छौं । प्रदर्शनीमा गएको जवान छोरा घर नफर्किदा कसलाई दुःख हुन्न र ?’ उनले भने, ‘अहिले दुःख मलाई मात्र होइन सबैलाई परेको छ । देश नै रोएको छ । छोरा सहिद भयो । देशले जे चाहेको छ, म पनि त्यही चाहन्छु ।’
ईश्वत अर्थ मन्त्रालयका पूर्व सहसचिव एवं गाउँसेवा कोषका संस्थापक भीमबहादुर अधिकारीका नाति हुन् । ईश्वत अंग्रेजी र मनोविज्ञानमा स्नातकोत्तर सकेर व्यवस्थापन पढिरहेका थिए । अध्ययनका लागि यूके जाने तयारीमा रहेका उनको पासपोर्ट नवीकरणका लागि जिल्ला प्रशासन काठमाडौंमै रहेको परिवारजनले सुनाए । अधिकारी परिवार हाल काठमाडौं–१६ बालाजुमा बसोबास गर्दै आएको छ ।
पहिलो दिनको जेन–जी आन्दोलन र दोस्रो दिनको हिंसात्मक प्रदर्शनमा हालसम्म देशभर मृतकको संख्या ३१ पुगिसकेको छ । मृतक सबैको पहिचान हुन सकेको छैन । प्रहरीबाट आउनुपर्ने मुचुल्का प्राप्त नभएकाले पोस्टमार्टम सुरु गर्न नसकिएको शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यले जनाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ३१ मध्ये काठमाडौंमा भएको आन्दोलनमा निधन हुनेको संख्या २५ रहेको छ । त्यसैगरी १ हजार ७ सय ६० जना घाइते भएकामा ३ सय २२ जना उपचाररत छन् ।
इटहरी स्थायी घर भएका १९ वर्षीय श्रेयम (श्रीराम) चौलागार्इं बानेश्वरस्थित ग्लोबल कलेजमा व्यवस्थापन विषयमा कक्षा १२ मा अध्ययनरत थिए । सोमबार जेन–जीले आन्दोलन घोषणा गरेपछि ग्लोबल कलेजले आफ्ना सबै विद्यार्थीलाई कलेजकै गाडीमा घर फर्कने व्यवस्था मिलाएको थियो । चौलागाईं पनि कलेजबाट पेप्सीकोलास्थित घर फर्किएको प्रिन्सिपल अम्बादत्त जोशीले बताए । ‘कलेजकै गाडीमा घरतर्फ पठाएका थियौं । एक्कासि कलेज पोसाकमा नै मृत्यु भएको थाहा भएपछि के कसो भयो केही बुझ्न सकेका छैनौं,’ उनले भने । उनको शव यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
पढाइ सकेर कलेजबाट घर फर्केका श्रेयमलाई बानेश्वरमा भएको प्रदर्शनमा गोली लागेर निधन भएको कलेज र उनका सहपाठीले जनाएका छन् । उनको निधनपछि अभिभावक र आफन्त काठमाडौं आएका छन् । मुचुल्काका लागि प्रहरीले जाहेरी माग गरेको एक आफन्तले बताए । विद्यालयले निहत्था विद्यार्थीको हत्या भएको भन्दै त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै विज्ञप्ति निकालेको छ । न्यायिक छानबिन गरी दोषीमाथि कडा सजायको व्यवस्था गर्न विज्ञप्तिमा माग गरिएको छ । सहपाठीका अनुसार प्रहरीले एक्कासि गोली चलाउन थालेपछि भाग्ने क्रममा चौलागाईंलाई गोली लागेको थियो । कलेजबाट साथीहरूसहित उनी आन्दोलनमा सहभागी थिए ।
गोली लागेर ढलेपछि उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले मृत घोषणा गर्दै शव शिक्षण अस्पताल पठाएका थिए । ‘युवापुस्ताले देशकै भलाइका लागि गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले सुरक्षा दिन नसक्दा ज्यान गुमाउनुपर्यो,’ चौलागाईंका एक आफन्तले भने ।
काठमाडौंको आन्दोलनमा नेपालगन्ज उपमहानगरपालिका–१ का २३ वर्षीय सुलभराज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको पनि ज्यान गयो । सुलभका बुवा सोमबार साँझै काठमाडौं आए पनि अहिलेसम्म पोस्टमार्टम हुन सकेको छैन ।
केएमसी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ सकेका सुलभ ग्राजुयसनको पर्खाइमा थिए । उनी नेपालगन्जस्थित भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठ र बिना खड्का श्रेष्ठका एक्ला सन्तान थिए । छोराको निधनको खबरले यतिबेला बिनाका आँखा ओभाएका छैनन् । दुई महिनाअघि घर आएका सुलभ केही दिनअघि मात्रै काठमाडौं फर्केका थिए । आफन्तसँग काठमाडौंमा बस्दै आएका उनलाई प्रदर्शनमा सहभागी हुन गएका बेला बानेश्वर क्षेत्रमा गोली लागेको थियो ।
आयुष कक्षा १२ सम्मको अध्ययन गाउँकै विद्यालयबाट सकेर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने सिलसिलामा काठमाडौंमा थिए । फिनल्याड जाने तयारीका लागि उनी अघिल्लो साता मात्रै काठमाडौं गएको आफन्तजनको भनाइ छ । आयुष घरका कान्छा सन्तान हुन् । उनकी एक दिदी छिन् ।
‘पढाइमा बाहिर जान भिसा आइसकेको थियो । केही दिनमा उड्ने तयारीमा थिए,’ श्रेष्ठका छिमेकी तथा पूर्वउपमेयर उमा थापामगरले भनिन्, ‘बुवाआमा छोराको शव बुझ्न काठमाडौं जानुभएको थियो, तर शव ल्याउन पाउनुभएको छैन ।’
आयुषका बुवाआमा मंगलबारदेखि छोराको शव पाउने प्रतीक्षामा काठमाडौंमा छन् । शव ल्याउन नपाउँदा परिवार थप पीडामा छ भने वडावासी पनि शोकमा भएको उनले बताइन् । दुई युवकले ज्यान गुमाएको शोकमा वडा कार्यालयले मंगलबार शोक बिदासमेत दिएको वडाअध्यक्ष प्रमोद रिजालले जानकारी दिए । ‘वडा नै शोकमा डुबेको छ । परिवारले सन्तानको शव ल्याउने तयारी गरिरहेको छ । हामी समन्वय गरिरहेका छौं ।’
जेन–जी आन्दोलनका क्रममा गोरखा पनि ३ युवाले ज्यान गुमाएका छन् । बारपाक सुलिकोट गाउँपालिका–५ का २२ वर्षीय विमल भट्ट, पालुङटार नगरपालिका–३ बर्देडाँडाका ४० वर्षीय रमेश पराजुली र गण्डकी गाउँपालिका–४ ढावेका २७ वर्षीय अर्जुन भट्टको ज्यान गएको परिवारले जनाएका छन् । सबै मृत्युबारे सरकारी निकायबाट भने पुष्टि हुन बाँकी छ ।
विमल भदौ २३ मा जेनजी आन्दोलनमा सरिक थिए । संसद् भवनअघिको प्रदर्शनमा उनी निधारमा गोली लागेर ढलेका थिए । संसद् भवनअघि सबैभन्दा पहिले प्रहरीको गोली लाग्ने नै विमल रहेको आफन्त सुजन भट्टले बताए । ‘आन्दोलनमा जाँदा बानेश्वरको संसद् भवनअघि सबैभन्दा अघि उहाँ ढल्नुभएको रहेछ,’ सुजनले भने, ‘साथीहरुले तत्कालै सिभिल हस्पिटल पुर्याएका थिए, लैजाँदा लैजाँदै उनी रहेनन् ।’
एसईईपछि उनी काठमाडौं कोटेश्वरमा मामासँगै बसेर अध्ययन गर्दै आएका थिए । पशुपति क्याम्पसमा अध्ययनरत उनी साथीहरूसँगै आन्दोलनमा होमिएका थिए । उनको देब्रे छाती र निधारमा गोली लागेको प्रत्यक्षदर्शीको भनाइ छ ।
‘देशमा परिवर्तन आउनुपर्छ, केही हुनुपर्छ, केही गर्नुपर्छ भन्ने विचार र भावना उसमा देखिन्थ्यो’, उनले भने, ‘मृत्युको खबर पत्यार नै लागिरहेको छैन ।’ विमल तीजपछि काठमाडौं फर्किएका थिए । दुई साताअघिसम्म गाउँमा रहेका उनको मृत्युको खबरले नारेश्वर डाँडामा यतिखेर सन्नाटा छाएको छ । मृत्युको खबर आमा सीतालाई हालसम्म थाहा दिइएको छैन । ‘आमा बिरामी हुनुहुन्छ, कान्छाको खुट्टामा गोली लागेर घाइते मात्र छ भनेर झूटो बोल्नुपरेको छ,’ सुजनले भने, ‘छोरा घाइते छ भन्ने मात्र सुनाएपछि आमाले कान्छासँग बोल्छु, फोन लगाइदेऊ भनिरहनुभएको छ, हामीले अस्पतालमा हुनुहुन्छ भनेर थमथमाइरहेका छौं ।’
पालुङटारका रमेश पराजुली दुबईबाट फर्केर काठमाडौंमा व्यवसाय गर्दै आएका थिए । साथीभाइसँगै आन्दोलनमा सहभागी उनको छातीमा गोली लागेर ज्यान गएको पालुङटार–३ का वडाध्यक्षसमेत रहेका उनका छिमेकी रविन्द्र अधिकारीले बताए । रमेशका दुई छोरा छन् । ‘निकै सहयोगी, असल र राम्रो मान्छे हो,’ उनले भने, ‘दुःखद् खबरले गाउँ नै शोकमा छ ।’ पहिलो दिन आन्दोलनमा गएका रमेश साँझसम्म नफर्किएपछि सोधीखोजी हुन थालेको थियो । ‘आन्दोलनमा गोली चलेको खबर फैलिसकेको थियो । त्यहीं गएको ऊ राति अबेरसम्म नफर्के पछि सोधीखोजी गर्न थाल्यौं,’ उनले भने, ‘पछि महाराजगन्जको एउटा हस्पिटलमा भएको थाहा भयो, बुझ्दा ज्यान गइसक्यो भन्ने खबर पायौं ।’
छोरा रमेशको निधन भएको खबर पाएपछि आमा कृष्णकुमारी काठमाडौं पुगेकी छन् । उनका बुवा छोरासँगै काठमाडौं बस्थें । रमेशले दसैंपछि आमालाई समेत काठमाडौं लैजाने योजना परिवारलाई सुनाएका थिए । अधिकारीले भने, ‘आमाबुवा वृद्धवृद्धा हुनुभयो, काठमाडौंमा लगेर सँगै राख्छु, घर बनाउँछु भनेर सुनाउँथे, यस्तो खबर पत्याउनै सकेका छैनौं । सारा सपना चुँडियो ।’
गोरखा गण्डकी गाउँपालिका अर्जुन भट्ट काठमाडौं कीर्तिपुर बस्थे । भदौ २४ मा कालिमाटीको प्रहरी वृत्त अगाडि नाराबाजी भइरहँदा प्रहरीको गोली लागेर उनको घटनास्थलमै निधन भएको आफन्तको भनाइ छ । आफन्त जितबहादुर भट्टले भने, ‘डेढ वर्ष दुबई बसेर डेढ महिना अघि मात्र आएको थियो ।’ उनी कीर्तिपुरमा होटल चलाउने बुवासँगै बसेर जापानी भाषा पढ्दै थिए ।
अर्जुन परिवारका दुई भाइमध्ये कान्छा हुन् । ‘जेनजीको टिममा नै रहेछ, आन्दोलनमा पनि अग्रपंक्तिमा थियो रे, एउटै गोली ३ जनालाई लागेको रहेछ, अगाडि रहेको अर्जुनलाई सबैभन्दा पहिले गोली लागेर ढलेको सुन्यौं,’ जितबहादुरले भने । अर्जॅनको शव टिचिङ अस्पतालमा रहेको उनले बताए । ‘अब राज्यले के भन्छ, हाम्रो अवस्था बिजोग बन्यो,’ उनले भने ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका ४८ वर्षीय निरज पन्त लामो समयदेखि काठमाडौंकै महराजगन्ज क्षेत्रमा औषधि व्यवसाय गर्थे । त्यही व्यवसायबाट उनले काठमाडौंमै घर समेत बनाएका थिए । महेन्द्रनगरकै कञ्चन विद्या मन्दिरबाट एसएलसी सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका उनी पतञ्जली योग समितिमा पनि आबद्ध थिए ।
निरज परिवारसहित काठमाडौंमा बसोबास गरिरहेका थिए । जेन—जी आन्दोलनका क्रममा उनको महाराजगन्ज क्षेत्रमा प्रहरीको गोली लागेर मृत्यु भएको हो । २४ गते दिउँसो गोली लागेर घाइते भएका उनको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भाइ पर्ने ललित पन्तले बताए । छोराको मृत्युको खबर सुनेपछि बुवा कृतिवल्लब र आमा सीतादेवी बिहीबार काठमाडौं गएका छन् । उनीहरु गड्डाचौकीमै बसोबास गर्थे । २४ गते नै छोराको मृत्यु भए पनि आमाबुवाले भने दोस्रो दिन मात्रै खबर पाएका छन् । ‘छोराले काठमाडौंमा व्यवसायबाटै घर बनाएर बस्न थाले पनि आमाबुवा भने यहीं बस्थे,’ मृतकका काकाका छोरा ललितले भने, ‘बेलाबेलामा आउजाउ भइरहन्थ्यो ।’
निरज घरको जेठो छोरा हुन् । कान्छा सरोज अस्ट्रेलियामा बस्छन् । पन्त निकै मिलनसार र सामाजिक कार्यका लागि अग्रसर हुन्थे । उनका सयौं साथीभाइ, आफन्त र सहकर्मीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । पन्तका एक छोरा, एक छोरी र श्रीमती छन् । छोरा अध्ययनका लागि अमेरिकामा रहेको पन्तले बताए ।
- सुदीप कैनी (काठमाडौं), रञ्जना बीसी (कैलाली), सम्झना रसाइली (तनहुँ), रुपा गहतराज (नेपालगन्ज), हरिराम उप्रेती (गोरखा) र भवानी भट्ट (कञ्चनपुर)
