जेन–जी, जसले देश ब्युँझाउन बलिदानी दिए

पहिलो दिनको जेन–जी आन्दोलन र दोस्रो दिनको हिंसात्मक प्रदर्शनका क्रममा ३१ जनाको ज्यान गएकामा केहीको पहिचान हुनै बाँकी, गोरखाका मात्रै ३ जनाको मृत्यु

भाद्र २७, २०८२

सोमबार बिहान सुरु भएको जेन–जीको आन्दोलनले दिउँसोदेखि उग्ररूप लिन पुग्यो । दिनभर प्रहरीले चलाएको गोलीबाट १९ विद्यार्थीको मृत्युका खबर छ्याप्छ्याप्ती भइसकेका थिए । धनगढी उपमहानगर–५ तारानगरकी सोनिया जोशीले राति ९ बजेतिर टिकटकमा काठमाडौंमा भएको आन्दोलनका भिडियो हेरिरहेकी थिइन् ।

यत्तिकैमा उनले एक युवालाई गोली लागेको भिडियो हेर्न पुगिन् । सोनिया त्यसै पनि त्रसित भइरहेकी थिइन्, तर जब एक जनाले कमेन्टमा गोली लाग्नेको फोटो पोस्ट गरे, तब उनी विछिप्त बन्न पुगिन् । उनको मुटुले ठाउँ छोड्यो । सोनियालाई विश्वास नै गर्न गाह्रो भयो, त्यो फोटो उनकै काका गौरव जोशीको थियो । अत्ताल्लिएर उनले काठमाडौंमा रहेका भाइ प्रवीनलाई फोन गरेर फोटो पठाइन् । रगतले लतपतिएको अनुहार प्रस्ट चिनिएको थिएन । 

प्रवीनले गौरवलाई कपडा र झोलाबाट चिने । गौरवले त्यो दिन प्रवीनसँगै किनेको कपडा लगाएका थिए । यत्तिकैमा अस्पतालमा मृत्यु भएका एक जनाको एटीएम कार्ड भेटिएको समाचार आयो । जसमा उही नाम थियो गौरव जोशी । सोनिया र प्रवीनले गौरवको मृत्यु भएको खबर तत्काल कसैलाई सुनाउन सकेनन् ।

गौरव वृद्ध आमाबुवाको एक मात्र भरोसा थिए । रातभरि निदाउन नसकेकी सोनियाले बिहान ४ बजे यो कुरा आफ्ना आमाबुवालाई सुनाइन् । घरमा रुवाबासी चल्यो । उनको घर नजिकै गौरवको घर छ । बिहान ६ बजे आमाबुवासँगै उनी गौरवको घर पुगिन् । एकाबिहानै सबै घरमा आएको देख्दा ७८ वर्षीय बुवा बासुदेव र वृद्ध आमा आश्चर्यमा परे । धेरैपटक दुःखद खबर सुनाउन प्रयास गरे पनि बूढो अनुहारका आमाबुवा देखेर सुनाउन कसैले साहस गरेनन् । २४ गते साँझ ६ बजे मात्रै उनका आमाबुवालाई गौरव गोली लागेर घाइते भई टिचिङ अस्पतालको आईसीयूमा उपचाररत रहेको कुरा सुनाइयो ।

सोनियाका अनुसार गौरवका दुई आमामध्ये जेठी आमा र बुवा धनगढीमा नै बस्छन् । उनी भने तीन वर्षदेखि आमा माया र दिदी आयुशासँग काठमाडौं बस्दै आएका थिए । काठमाडौंमै भए पनि गौरवको गोली लागेर मृत्यु भएको खबर आमा र दिदीलाई भदौ २४ गते साँझ ५ बजे मात्रै सुनाइयो । 

बिहान कन्सल्टेन्सी गएर आएपछि खाना खान्छु भन्दै गएका गौरव त्यसपछि कहिल्यै नफर्किने गरी अस्ताए । दिदी आयुशाले आन्दोलन भएकाले नजान सुझाएकी थिइन् । तर उनी आन्दोलनमा नजाने भन्दै कोटेश्वरस्थित डेराबाट निस्केका थिए ।

छोराको शव हेर्न भए पनि अस्पताल जान्छु भनेका आमा र दिदीलाई आफन्तकहाँ पुर्‍याइएको छ । गौरवको मृत्युको खबरले जोशी परिवार मात्र होइन, तारानगर नै शोकमा डुबेको छ । धनगढी रहेका बुवाआमा भावविह्वल छन् । ‘आमाबुवाले केही खान सकिरहनुभएको छैन । हामीले के भनेर सम्झाउने ? कुनै शब्द नै छैन,’ सोनियाले भनिन् । उनका अनुसार २१ वर्षीय गौरव ३ वर्षअघि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा प्लसटु सकेर काठमाडौं गएका थिए । ‘सोझो, मिलनसार हुनुहुन्थ्यो अंकल । कहीँकतै नजाने, डराउने,’ उनी भन्छिन् ।

गौरवले १२ कक्षा पास गरेपछि अस्ट्रेलिया जान खोजेका थिए, सम्भव नभएपछि यूके जाने तयारीमा थिए । जेन—जी आन्दोलनमा गौरव अस्ताउँदा वृद्ध आमाबुवाको सहाराको टेको नै ढलेको छ ।

यतिबेला गौरवको शव टिचिङ अस्पतालमा छ । मृतकका आफन्तले हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गौरवलाई सहिद घोषणा गरेर राष्ट्रिय सम्मान साथ अन्त्येष्टि गर्नुपर्ने र वृद्ध आमाबुवालाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

बुवालाई रोकेर प्रदर्शनमा गएका ईश्वत फर्किएनन्

तनहुँको भानु नगरपालिका–१२ कवाजित पुर्ख्यौली घर भई काठमाडौंमा बसोबास गर्दै आएका ईश्वत अधिकारीको पनि काठमाडौंको भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको छ । नेपाली सेनाका पूर्वमेजर ईश्वरबहादुर अधिकारी र अन्जना थापाका २६ वर्षीय छोरा ईश्वत गत सोमबार बुबालाई भनेरै जेन—जी आन्दोलनमा सरिक हुन घरबाट निस्केका थिए । बुवा ईश्वरले भने, ‘म सँग जान्छु भनेर गएको हो । म पनि जान्छु भन्दा यो जेन—जीको आन्दोलन हो, यो हाम्रा लागि हो भनेर मलाई रोकेर आफू गएको थियो ।’


Link copied successfully