सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति, संसद् विघटनको एजेन्डामा अझै विवाद

शीतल निवास स्रोतका अनुसार अहिलेलाई केही कुरामा सहमति भए पनि 'संविधानसम्बन्धी' केही कुरामा सहमति हुन बाँकी

भाद्र २७, २०८२

राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सहमत भएका छन् । तर, जेनजी समूहले सर्तका रूपमा अघि सारेको संसद् विघटनको एजेन्डामा भने अझै सहमति जुट्न सकेको छैन ।

अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति  अशोकराज सिग्देल, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार राती साढे १० बजेदेखि शुक्रबार बिहानसम्म वार्ता भएको थियो । 'पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । तर, संसद् विघटको विषयमा भने विवाद कायमै छ,' बैठकमा सहभागी एक अधिकारीले भने, 'अन्तरिम सरकार र संसद् विघटनका विषयमा कसरी संवैधानिक प्रक्रिया पूरा गर्ने भन्ने विषयमा लामो छलफल भएको हो । संवैधानिक व्यवस्थाका विषयमा प्रश्न नउठोस् भनेर लामो छलफल भएको हो । राष्ट्रपति र पूर्वप्रधानन्यायाधीशबीच धेरै विषयमा समान धारणा छ । शुक्रबार फेरि छलफल हुन्छ, सायद सहमति पनि हुन्छ र नियुक्तिको प्रक्रिया अघि बढ्छ ।'

बिहीबार साढे १० बजेदेखि पाँच घन्टा वार्ता गरे पनि संसद् विघटको विषयमा सहमति हुन सकेन । शुक्रबार बिहान ९ बजे फेरि छलफल गर्ने तय भएको छ ।



भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्ध जेन-जीहरूले सुरु गरेको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री हुने तय भएको हो । 

बिहीबार रातिदेखि शीतल निवासमा सुरु छलफल शुक्रबार बिहान उज्यालो हुने बेलासम्मै चलेको थियो । छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश कार्कीसहित सफल कानुनविद् ओमप्रकाश अर्याल सहभागी थिए । 

नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा यसबीचमा राष्ट्रपतिले संविधानविद्का अलावा सभामुख देवराज घिमिरे र  केही प्रमुख नेताहरूसँग छलफल गरेका थिए । कोहीसँग टेलिफोनमा त कोहीसँग राष्ट्रपतिले प्रत्यक्ष भेटेर नयाँ सरकार प्रमुखको नियुक्ति कसरी गर्ने भन्ने विषयमा छलफल गरेका थिए । स्रोतका अनुसार सभामुख घिमिरेका अलावा माओवादी नेता वर्षामान पुन पनि राति नै छलफलका लागि शीतल निवास पुगेका थिए । पुनमार्फत नै राष्ट्रपति पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । स्रोतका अनुसार राति नै शीतल निवासमा थप छलफलका लागि कांग्रेस नेता रमेश लेखक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका हुन् । 



जेन-जीले सोमबार गरेको प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा धेरै घाइते भएका थिए । मृत्यु हुनेको संख्या अहिले ३४ पुगिसकेको छ । आन्दोलनको पहिलो दिन नै अत्यधिक बल प्रयोग गरेपछि मंगलबार देशव्यापी प्रदर्शन भएको थियो । जसमा संसद् भवनदेखि सिंहदरबारसम्म र शीतल निवासदेखि सर्वोच्च अदालत र दर्जनौं निजी कम्पनी, होटल र सार्वजनिक संरचनामा क्षति पुगेको थियो ।


Link copied successfully