नयाँ सरकार प्रमुख बनाउन राष्ट्रपतिले को–कोसँग परामर्श गरिरहेका छन् ? 

नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा यसबीचमा उनले केही संविधानविद्का अलवा सभामुख र केही प्रमुख नेताहरूसँग छलफल गरेका थिए ।

भाद्र २७, २०८२

काठमाडौँ — जारी संकटलाई निकास दिन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल मध्यरातसम्मै छलफलमा जुटिरहेका छन् । नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा यसबीचमा उनले केही संविधानविद्का अलवा सभामुख र केही प्रमुख नेताहरूसँग छलफल गरेका थिए ।

स्रोतका अनुसार राष्ट्रपतिले सभामुख देवराज घिमिरेसँग अबको निकासबारे छलफल गरेका थिए । उनले सभामुख घिमिरेमार्फत कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र अरु केही प्रमुख नेतासँग पनि परामर्श गरेका छन् । 

‘राष्ट्रपति र सभामुखबीच करिब एक घण्टाजति कुराकानी भयो,’ शीतल निवास स्रोतले भन्यो, ‘लामो समय सरकाविहीनताको स्थितिमा मुलुकलाई राख्न हुन्न भनेरै राष्ट्रपतिले सबैसँग परामर्श गर्नु भएको हो ।’ आन्दोलनरत जेन–जी समूहसहितका ‘स्टेकहोल्डर’ का प्रतिनिधिसित प्रधानसेनापति अशोकराज सिग्देलले अनौपचारिक संवाद गरिरहेका छन् । त्यसको बिफ्रिङ सेनापति सिग्देलले राष्ट्रपति पौडेललाई गराइरहेका छन् । 

प्रधानसेनापति सिग्देलले बुधबार दिनभरजसो आन्दोलनरत विभिन्न पक्षका प्रतिनिधिसँग दुईपक्षीय र बहुपक्षीय छलफल गरेका थिए । त्यसपछि राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र पूर्व प्रधानन्यायाधीश कार्कीबीच संवाद भएको थियो । कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्ने जानकारी राष्ट्रपति पौडेलले सभामुख घिमिरेमार्फत कामचलाउ प्रधानमन्त्री ओलीसमक्ष सन्देश दिएको सभामुख निकट स्रोतको दाबी छ । ‘राति ८ बजेतिर सभामुख शीतल निवास छिर्नुभएको हो, कुराकानी के–के भयो, जानकारीमा भएन,’ स्रोतले भन्यो । 

जेन–जीसमूहले बुधबार ‘भर्चुअल’ मतदान गरेर पूर्व प्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सारेको थियो । त्यसलाई काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले समर्थन गरेका थिए । तर बालेनले संसद् विघटन र संवैधानिक निकायका पदाधिकारीको नियुक्ति खारेजी हुनुपर्ने सर्त अघि सारेका थिए ।


Link copied successfully