२४ घण्टापछि खुल्यो काठमाडौं विमानस्थल 

भाद्र २६, २०८२

सुरज कुँवर.

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक करिब ३ सय उडान हुने गर्छ, जसमा २ सय आन्तरिक र १ सय अन्तर्राष्ट्रिय उडान पर्छन्, आन्तरिकतर्फ दैनिक १४–१६ हजार यात्रु र अन्तर्राष्ट्रिय उडानमार्फत १२–१४ हजार यात्रु ओहोरदोहोर गर्ने गर्छन्, विमानस्थल बन्द हुादा हजारौं यात्रु विभिन्न गन्तव्यमा अलपत्र छन्

जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण मंगलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टापछि सञ्चालनमा आएको छ । बुधबार बेलुकीदेखि विमानस्थल सुचारु भएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए ।



उनका अनुसार विमानस्थल सञ्चालनमा आएसँगै बुधबार बेलुकी नेपाल वायुसेवा निगमका चार वटा र हिमालय एयरलाइन्सका चार वटा उडान हुने निश्चित भएको छ । बेलुकी ८ बजेसम्मको तथ्यांकअनुसार अन्य विदेशी वायुसेवा पनि राति काठमाडौं आउने तयारीमा छन् । मंगलबार हङकङमा रोकिएको नेपाल वायुसेवा निगमको जहाज पनि बुधबार राति नै फर्किने भएको पाण्डेले बताए । 



सामान्य अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक करिब ३ सय उडान हुने गर्छ, जसमा २ सय आन्तरिक र १ सय अन्तर्राष्ट्रिय उडान पर्छन्, आन्तरिकतर्फ दैनिक १४–१६ हजार यात्रु र अन्तर्राष्ट्रिय उडानमार्फत १२–१४ हजार यात्रु ओहोरदोहोर गर्ने गर्छन्, विमानस्थल बन्द हुँदा हजारौं यात्रु विभिन्न गन्तव्यमा अलपत्र छन् ।



नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलेजनजीवन सामान्य अवस्थामा फर्कंदै गएको र यात्रु अलपत्र परेको गुनासो बढेपछि सुरक्षा समितिसँग बैठक बसेर विमानस्थल सञ्चालनको अनुमति दिइएको जानकारी दिए । उनका अनुसार प्राधिकरणले मातहतका सबै अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थललाई आवश्यक निर्देशन दिएको छ । साथै यात्रुलाई टिकट देखाएर मात्र सुरक्षा जाँचपछि यात्रा गर्न दिन विमान कम्पनी र ट्राभल एजेन्सीहरूलाई पनि सूचनामार्फत निर्देशन दिइएको छ ।



यसैबीच, आन्तरिक उडान गर्ने बुद्ध, यती, श्री एयरलाइन्सलगायतले आफ्ना सोसल मिडिया प्लाटफर्ममार्फत यात्रुलाई बिहीबार बिहानदेखि उडान हुने भएकाले विमानस्थल आउन भनेका छन् । यी वायुसेवाले उडान रद्द भएका यात्रुलाई रिजर्भेसनमा सम्पर्क गरी टिकटको पुनर्तालिका  गराउन पनि अनुरोध गरेका छन् ।


सुरज

Link copied successfully