बागमती किनारवासीलाई बर्सेनि बाढीको त्रास, छैन सरकारको आस

तराई, मधेशका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । त्यसमा पनि रौतहटमा बागमती र लालबकैयाको बाढी बस्ती पसेपछि बर्सेनि डुबान हुँदै आएको छ ।

असार १२, २०८२

शिव पुरी

Residents of Bagmati shores are afraid of monsoon floods, there is no hope for the government

रौतहट — जब बर्खा लाग्छ, दुर्गाभगवती गाउँपालिका–५ स्थित बडहर्वाका ४७ वर्षीय बुतहीदेवी ठाकुरको परिवार राति राम्ररी सुत्न सक्दैन । तीन दशकदेखि ठाकुर परिवार बर्सेनि यस्तै नियति भोगिरहेको छ । उनको परिवार मात्र होइन, बागमती बाँधको आडैमा आश्रित झन्डै ३ सय घर परिवारको कथा एउटै छ । 

‘अब झरीको समय सुरु भयो । विगतको जस्तै नियति भोग्नुपर्ने हो कि भन्ने चिन्ता लागेको छ,’ बुतहीले भनिन्, ‘हामी पटकपटक मरेर बाँचेका मानिस हौं । हाम्रो पीडाको कथा राज्यले कहिले सुनेन् ।’ उनीसित विगतका वर्षाको बेला हुने घटनाको लामै लेखाजोखा छ । त्यो बयान गर्दा उनको अनुहारमा आक्रोश पनि झल्किन्छ । 

गत वर्ष साउनको पहिलो साता । आकाशमा बादल मडारिन थाल्यो । बागमती बाँधको आडैमा बस्दै आएका बुतहीका लागि त्यो सामान्य वर्षाको दिनजस्तै थियो । तर रातभर परेको पानीले गाउँ नै डुबानमा पर्‍यो । 

‘पहिले अलिअलि पानी घरको आँगनमा पुग्यो,’ बुतहीले भनिन्, ‘दुई घण्टापछि घरको आधा भाग डुबिसकेछ । धन्न बाँध माथि उक्लेर ज्यान जोगायौं ।’ परिवारले राति नै घर छोड्नुपर्‍यो । उनीहरु बाँधमा गएर शरण लिए । डुबानले काठको घर भत्कियो । लत्ता, कपडा, खाद्यान्न, भाँडाकुडा पानीले केही पनि बाँकी राखेन । 

भोलिपल्ट स्थानीय प्रशासनले राहत वितरण सुरु गर्‍यो । त्रिपाल र केही खाद्यान्न बाँडेर टोली फर्कियो । सोमबार गाउँ पुग्दा बाँधको आडैमा बसेका महिलाहरु पीडा पोख्न जम्मा भए । बागमतीको भेल र पानीको सतह कहाँसम्म आउँछ भनेर देखाउन थाले । उनीहरुको एउटै स्वर थियो- ‘सरकारप्रति हाम्रो विश्वास गुमिसक्यो ।’ 

लामो समयदेखि उनीहरु स्थायी बसोबासको प्रतीक्षामा छन् । गत वर्ष असारमै लगातार पानी परेर घर डुबानमा परेपछि बडहर्वाका अधिकांश बासिन्दाले रातारात ड्याममा उक्लेर ज्यान जोगाएका थिए । बागमती नदीको पश्चिमतर्फ ड्याम बनाइएको छ । ड्यामको आडैमा बडहर्वा र चण्डियाका ३ सय परिवारको बसोबास छ । 

Residents of Bagmati shores are afraid of monsoon floods, there is no hope for the government

तराई, मधेशका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । त्यसमा पनि रौतहटमा बागमती र लालबकैयाको बाढी बस्ती पसेपछि बर्सेनि डुबान हुँदै आएको छ । 

२०७६ साउन अन्तिम साता बागमतीको बाढी गाउँ पसेपछि बाँधमुनि बसेका ३ सय घर डुबानमा परे, केही बगे । यसपालि पनि यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्ता लागेको छ, स्थानीय इन्दु दासलाई । लामो समयदेखि प्राकृतिक प्रकोपले पनि खेदेको खेदै गरेको भन्दै स्थानीयले सुरक्षित बासस्थानको माग गर्दै आएका छन् । बडहर्वाका ६५ वर्षीय सुखल दासको पीडा पनि बुतहीको भन्दा कम छैन । 

गत वर्षको डुबान सम्झेर उनी झस्किन्छन् । मध्यरातमा घर डुबानमा परेपछि ज्यान जोगाउन उनीलगायत परिवारका सदस्य बाँधमाथि उक्लेर रात बिताए । भारत सरकारले बागमतीको बाढीबाट हुने क्षति रोक्न पश्चिम क्षेत्रमा सन् १९८९ मा झन्डै ३३.५ किलोमिटर लामो बाँध निर्माण गरेको छ । त्यही बाँधमुनि दुर्गाभगवती र राजदेवी नगरपालिकाका परिवारको बसोबास छ । अधिकांशको घर पश्चिमतर्फ पर्छ ।

रश्मिदेवी दासको घर भने बाँधको पूर्वपट्टि छ । जहाँ बागमतीमा बाढी आउनासाथ उनको घर सबैभन्दा पहिले डुबानमा पर्छ । गत वर्ष बागमती नदीमा आएको बाढीले उनको घर डुबानमा पार्‍यो । दास परिवार पनि २०५० सालको बाढीले घर र ५ कठ्ठा खेत बगाएपछि विस्थापित भएका हुन् । अहिले एकधुर पनि नम्बरी छैन । बाँधमुनिको सबै ऐलानी जग्गा हो । २०५० असार २९ गते बागमती नदीमा भीषण बाढी आएपछि बडहर्वा र चण्डियाका ३ सय घर परिवार विस्थापित भए । अधिकांशको खेतबारी बगाएर बगरमा परिणत भयो । घर बगे । ७ जनाको मृत्यु भयो । स्थानीयको २ सय बिघा जमिन छिनभरमै बलुवामा परिणत भयो । अहिले पनि खेतीयोग्य जमिनमा बागमती नदी बगिरहेको छ । बाढीपछि बाँधमुनि बसेकाहरुले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । 

Residents of Bagmati shores are afraid of monsoon floods, there is no hope for the government

डुबानकै बेला एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा लगायतका नेता रौतहट आए । बाढी र डुबानको क्षेत्रमा हेलिकोप्टरबाट निरीक्षण गरेर फर्किए । थुप्रै मन्त्री, सांसदहरु पनि आएर फर्किए । डेढ दशकयता बाढी र डुबानको बेला केन्द्र, प्रदेशका मन्त्री र सांसदहरुको ओइरो लाग्ने गरेको स्थानिय रुपेश दासले सुनाए । ‘पीडामा परेको बेला रमिते बन्न थुप्रै मन्त्री, नेता यहाँ आउँछन,’ उनले भने, ‘हामीले स्थायी बसोबास खोजेका हौं । कम्तीमा पनि डुबानले क्षति नपुगोस । तर सरकारले हाम्रो आवाज सुन्दैन ।’ 

बाग्मती, लालबकैया र भारतले एकातर्फी रुपमा लगाएको गौर सीमाक्षेत्रको बाँध हेरेर फर्कने धेरै मन्त्री, सांसद छन् । कांग्रेस सभापति शेरबहादुर देउवा २०७६ साउन २३ गते यही डुबान हेर्न बडहर्वा बस्ती पुगेका थिए । तर हेरे फर्किए, समस्या जहाँको त्यहीँ छ । ठोस र दीर्घकालीन योजनासहित तराई मधेशलाई डुबान र बाढीबाट जोगाउने काम नभएको भन्दै स्थानीयले दुखेसो पोख्दै आएका छन् । सरकारका मन्त्रीहरु राष्ट्रिय सभाका अध्यक्ष, विकास समितिका सभापतिलगायत मधेश प्रदेशका मुख्य मन्त्री आएर डुबान र सिमाक्षेत्रको बाँध निरिक्षण गर्दै फर्किंदै गरेका छन् । 

दु:खको सुरुवात

भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनिया लगायतका बिहारको सहर बचाउन रौतहटको सीमाक्षेत्रमा २० फिटभन्दा बढी अग्लो ३० किलोमिटर लामो बाँध बनाएपछि डुबान सुरु भएको हो । बाँधले भारतीय भूमिलाई डुबानबाट जोगाएको छ । उस बेला बाँध बनाउन लाग्दा गौरवासीले भारतीयको विरोध गरे । निर्माण कार्य सुरु हुँदै गर्दा गौरका स्थानीयले जुलुस निकाले । दिनहुँ बिरोध गरे । भारतीय पक्षले कुनै सुनुवाइ गरेन । 

तत्कालीन प्रमुख जिल्ला अधिकारी चन्द्रिकानन्द खरेलले गृह मन्त्रालयलाई जानकारी गराए । त्यसपछि तत्कालीन पञ्चायतकालीन गृहमन्त्री जोगमेहर श्रेष्ठ गौर आएर भारतीय पक्षसँग वार्ता गरे । त्यस बेलाका भारतीय अधिकारीहरुले बाँधले नेपाली भूमि डुबानमा परेको बेला आपतकालीन रुपमा ढोका खोल्ने र सहयोग गर्ने प्रतिबद्धता जनाएको गौरका स्थानीय समाजसेवी विजयकिशोर झाले बताए । उनी त्यसबेलाका प्रत्यक्षदर्शी एवं वार्तामा बसेका मध्ये एक हुन् ।

Residents of Bagmati shores are afraid of monsoon floods, there is no hope for the government

‘३२ सालपछि पनि गौर डुबानमा पर्दै आएको छ,’ झाले भने, ‘डुबानका बेला बाँधको ढोका (साइफन) खोल्न अनुरोध गर्दा भारतीय अधिकारीहरुले साचो छैन भनेर झुक्याउँथे । दु:ख दिन्थे । अहिले त्यही अवस्था आएको छ ।’ 

गौरमा डुबान हुँदा नेपालीले बाँध फुटाउँछन् भनेर भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी आधुनिक हतियार बोकेर गस्ती गर्छन् । बाँध नजिक कसैलाई जान दिँदैनन् । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतले दसगजा भित्र बाँध निर्माण गरेको हो । जिल्ला प्रशासनले वर्षा सुरु हुनु अगावै जिल्लाभरिका स्थानीय तहका प्रमुखलाई बोलाएर दैवी प्रकोपबाट बच्न तयारी अवस्थामा बस्न अनुरोध गर्दै आएको छ । 

वर्षाका बेला जिल्लाको ७०/८० प्रतिशत भूभाग डुबानमा पर्ने गरेको छ । बागमती र लालबकैया नदीमा आउने बाढीको समस्या नयाँ होइन । जिल्लावासीले २५ वर्षदेखि यही नियति भोग्दै आएका छन् ।

बर्सेनी क्षति, समाधान कहिले ?

गत वर्ष वर्षाका बेला जिल्लाका अधिकांश बस्ती बानमा पर्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनका अनुसार बाढी र डुबानमा परि ९ जना घाइते भए । १० हजार हेक्टरधान बालीमा क्षति पुगेको थियो । ३ सय हेक्टर उखुबाली, १२५० हेक्टर तरकारी बाली र १५० हेक्टर फलफुलबारीमा क्षति पुगेको थियो । १८१० घर परिवार विस्थापित भए । बाढीले ३४ वटा चौपाया हराए । ५४२ वटा घर पूर्ण रुपले क्षति भए । २४४५ घरमा आंशिक क्षति पुग्यो । झन्डै ९ करोडको क्षति भएको प्रशासनको तथ्यांकमा उल्लेख छ । 

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बर्सेनि बाढी र डुबानको पीडा भोग्दै आएका रौतहटवासीलाई धनजनको क्षति हुन नदिन सबै पालिका प्रमुखलाई तयारी अवस्थामा बस्न अनुरोध गरेको बताए । ‘मैले विपद्‍को बैठकमा पालिका प्रमुखहरुलाई पूर्वतयारी गर्न अनुरोध गर्दै आएको छु,’ उनले भने, ‘लालबकैया र बागतीको बाँध बलियो भयो भने सायद डुबानबाट धेरै घर जोगिन्छन् ।’

सर्लाहीमा गत वर्ष असोज १४ गते राति अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण दुई हजारभन्दा बढी परिवार प्रभावित भए । लगातारको वर्षापछि बागमती, झिम, लखन्देही, सोती र मनुस्मारा लगायत खोलामा बाढी आयो । बाँध फुटाएर गाउँमा पानी पसेपछि जिल्लाको दक्षिण–पश्चिममा रहेका ८ वटा पालिका प्रभावित भए । बाढी र डुबानमा परेर २ सय ९० घर पूर्ण रुपमा क्षति भए । झन्डै ६ सय घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो । बाढी र डुबानमा परेर घरवास गुमाएका परिवार नजिकैका आफन्तकोमा शरण लिएर बसे । 

Residents of Bagmati shores are afraid of monsoon floods, there is no hope for the government

स्थानीय प्रशासनले केही पीडितहरुलाई नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेको थियो । गाउँमा बाढी पसे पनि खानेपानीको समस्या झेल्नुपरेको स्बलराका सरोज सिंहले सुनाए । ‘बर्खाको बेला हामीले भोग्ने भनेकै डुबान नै हो,’ उनी भन्छन्, ‘सरकारले स्थायी समाधान खोज्नुपर्नेमा पीडा मात्र देख्ने काम गर्दै आएको छ ।’ 

त्यसबेला सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका– ४, हरपूर्वा गाउँका पाँच घरमा आंशिक क्षति पुगेको थियो । बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले बाढी र डुबानको समस्याले बर्सेनि पीडामा पार्दै आएको गुनासो पोखिन् । बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले त्यस बेला स्वच्छ खानेपानी पाएनन् । 

२०७६ असार २८ गते लगातारको वर्षापछि सर्लाहीको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन भएको सूचना आयो । बाढी र डुबानले नेपाल प्रहरीको चौकी, इलाका प्रहरी, सशस्त्र प्रहरीतर्फ बोर्डर आउट पोस्टका सुरक्षाकर्मी नै सम्पर्कविहीन भए । ६ दिनदेखि विद्युत अवरुद्ध हुँदा सञ्चार सेट र युनिट इन्चार्जसहित सुरक्षाकर्मीको मोबाइलसमेत चार्ज गर्न पाएनन् । त्यसबेला डुबान क्षेत्रका सुरक्षा इकाइसँग सम्पर्क गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी प्रधान कार्यालयलाई जानकारी गरायो । 

विद्युत सञ्चालन नहुँदा डुबान क्षेत्रमा टेलिकम र एनसेलको टावर सञ्चालनमा आउन नसकेकाले जिल्लाबाट गएका सुरक्षाकर्मीको समेत मोबाइलमा कुरा हुन नसकेको तत्कालीन डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार इलाका प्रहरी बलरा, प्रहरी चौकी इनरर्वा, इलाका प्रहरी हरकठवा, प्रहरी चौकी छन्कीटोला लगायत आधा दर्जन इकाइ सम्पर्कविहीन भए । डुबान क्षेत्रका युनिटसँग सम्पर्क नहुँदा उद्धार र क्षतिको विवरण संकलनमा कठिनाइ भयो । 

सप्तरीको जिता नदीको बाँध भत्किँदा २०७८ असार २१ मा राजविराज नगरपालिका–१० स्थित, कदमाहाका करिब २ सय घर डुबानमा परेका थिए । वडा नम्वर २, १०, १२, १५ का घर डुबानमा परे । सोही समयमा सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका– ११, १२, १३ र १४ का ३ सय घरसमेत डुबानमा परे । हनुमाननगर कंकालनिको गोबरगाढास्थित कोशीटप्पुका झन्डै २ सय घर परिवार डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जानकारी दियो । सप्तरीमा बर्सेनि विभिन्न खोलामा आउने बाढीले बस्ती डुबानमा पारेर सास्ती खेप्दै आएका छन् । 

सप्तरीस्थित त्रियुगा नदीमा २०८१ असार २५ गते आएको बाढीले सप्तकोशी नगरपालिकामा ५४ घर डुबानमा पार्‍यो । लगातारको वर्षा पछि त्रियुगामा आएको बाढी सप्तकोशी नगरपालिका २, फत्तेपुर स्थित सुकुम्बासी बस्तीमा पसेको थियो ।त्यस बेला डुबान क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र , नेपाली सेनाको उद्धार टोलीसहित स्थानिय जनप्रतिनिधि र स्थानियले बाढीमा फसेकाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा राखेको थियो । डुबानबाट मानवीय क्षति नभए पनि घर, लत्ताकपडा, खाद्यान्न लगायत सामग्रीमा क्षति पुर्‍याएको थियो । 

२०७८ साउन ८ गते अविरल वर्षापछि आएको बाढीले पर्सामा १ सय ५० घरमा पूर्णरुपमा क्षति पुगेको थियो । ३ सय ९१ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । बाढीबाट ६ सय ७७ घरपरिवार प्रभावित भए । त्यस बेला जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको तथ्यांकअनुसार बाढीले ४ हजार जना प्रभावित भए । बाढीले बासस्थानमा २ करोड ३० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको थियो । 

मधेशप्रदेशमा २०७४ मा महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा ठुलो क्षति पुर्‍याएको थियो । महोत्तरीमा २०७४ साउन ३२ गते लगातारको वर्षापछि डुबान र बाढीमा परेर ४ जनाको मृत्यु भएको थियो । एकजना बेपत्ता भए । ३ सय ४७ घरमा क्षति पुगेको प्रशासनको तथ्यांकमा उल्लेख छ । करिब १० हजार मानिसहरु विस्थापित भए । बाढी र डुबानमा फसेका ४ हजारलाई सुरक्षाकर्मीले उद्धार गरेको थियो । 

गोपालपुर, रहरपट्टी, सिंगियाही, मटिहानी, बालुवा, एकडाँडालगायत गाउँ बढी प्रभावित भए । सर्लाहीमा बाढीबाट ७ जनाको मृत्यु भयो । एकजना बेपत्ता भए । बाढी र डुबानबाट करिब १ लाख मानिस प्रभावित भए । प्रशासनले विस्थापित भएकालाई सार्वजनिक भवन तथा खुला ठाउमा त्रिपालमा राखेको थियो । विभिन्न संघ संस्थाले बाढीपीडितलाई ड्राईफ्रुट दिएका थिए । जिल्ला दैवी प्रकोप उद्धार समितिले ६ ठाउँमा राहत वितरण गरेको थियो । 

बाढीका कारण बारामा ३ जनाको मृत्यु भयो । १ जना बेपत्ता भए । बाढी प्रभावितको संख्या ३ हजारभन्दा बढी थियो । जिल्लामा करिब ७ सय घरमा पूर्ण रुपमा क्षति पुगेको छ । ११ सय घरमा आंशिक क्षति भएको थियो । बाढीबाट विस्थापितलाई सार्वजनिक भवनमा राखिएको थियो । केही पीडितहरु भने आफन्तकहाँ गई बसे । बाढीले बाराको सडक संरचनामा ठूलो क्षति पुगेको थियो । धेरै ठाउँमा सडक बगाएको थियो । त्यही बेला पूर्वपश्चिम राजमार्गअन्तर्गत दुधौरा पुलसमेत भासिएको थियो । उक्त पुलको तीन वर्षअघि अघि ठेक्का लागे पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । 

बाढी र डुबानमा परी पर्सामा २०७६ सालमा ५ जनाको मृत्यु भएको थियो । सयौं बिघामा लगाइएको धानबाली जलमग्न भयो । ५ सयभन्दा बढी घर डुबानमा परे । तीन हजार विस्थापित भए । पर्साको उत्तर, पश्चिम र दक्षिणी भेग बाढीबाट बढी प्रभावित भए । त्यस बेला नगवा, बागवान, मसिहानिया, पट्टेरवा, धोबिनीलगायत गाउँ र वीरगन्ज महानगरका केही वडा पनि डुबानमा परे । 

बाढी र डुबानका कारण रौतहटमा १८ जनाको मृत्यु भएको थियो । ३ जना बेपत्ता भए । देवाही, प्रेमपुर गोनाही र लालबकैया नदी आसपासका क्षेत्र बाढीबाट बढी प्रभावित भए । बाढीका कारण जिल्लाभरमा ३० हजार घरधुरी प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्लाभरमा ६ लाख जना प्रभावित भएको थियो । 

उनले पनि बस्तीलाई अन्यत्र सारेर सुरक्षित राख्नुपर्ने भनेर फर्किए । लामो समयदेखि कर्मथलो बनाएर राजनीति गरेका एकीकृत समाजवादीका अध्यक्ष एवम पूर्वप्रधामन्त्री माधवकुमार नेपालकै १ नम्बर क्षेत्र हो यो । उनी प्रधानमन्त्री हुँदादेखि नै बडहर्वा र चण्डियाका बाढीपीडित बाँधमुनि कष्टसँगले बसिरहेकाले अन्यन्त्र सुरक्षित स्थानमा सार्नुपर्ने भन्दै आएका छन् । बडहर्वा र चण्डिया पुग्ने मन्त्री, सांसद र सरकारी निकायका मानिसलाई स्थानीयले वर्षाका ज्यान जोगाउनै मुस्किल परेको पीडा सुनाउँछन् । 

बाढी र डुबानका घटनामा मानिसको उद्धार कसरी गर्ने भन्ने नेपाली सेनाले चन्द्रपुर–१ स्थित बागमती नदीमा राखिएको डमो कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्रालयका मन्त्री राजकुमार लेखीले बजेट अभावले इच्छाशक्ति हुँदाहुँदै पनि विपद् व्यवस्थापनमा समस्या भएको सुनाए । ‘अरु मन्त्रालयमा हेरौं, १०/१५ अरब बजेट हुन्छ,’ उनलेभने, ‘आफ्नो मन्त्रालयमा बिपदको नाममा जम्मा ७५ करोड बजेट दिएको छ । साधनस्रोत र बजेट अभावको बाबजुद पनि हामी विपद्‌को तयारीमा जुटेका छौं ।'

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully