काठमाडौँ — हेटौंडा उपमहानगरपालिकाले धान पकेट क्षेत्रका कृषकलाई १३ लाख मूल्य बराबरको कृषि उपकरण वितरण गरेको छ ।
बागमती प्रदेश सरकारसँगको सहकार्यमा उपमहानगरले हेटौंडा–१७ हटियामा रहेको साना किसान कृषि सहकारी संस्थामा आबद्ध धान खेती गर्ने कृषकलाई उपकरण वितरण गरेको हो । पकेट क्षेत्रका लागि चालु आव उपमहानगरले १३ लाख रुपैयाँ खर्चेर कार्यक्रम अघि बढाएको हो ।
उपमहानगरका नगर प्रमुख मीनकुमारी लामाको प्रमुख आतिथ्यमा बिहीबार उपकरण वितरण गरिएको थियो । हेटौंडा उपमहानगरबाट धान पकेट कार्यक्रमअनुसार खरिद भएका उपकरण अनुदानमा वितरण गरिएको हो । उपमहानगरले १ सय ५५ वटा इलेक्ट्रिक स्प्रे, १ सय ६० वटा त्रिपाल, ६ जना किसानलाई हाते ट्रयाक्टर, ५ जना किसानलाई कम्बाइन्ड राइस मिल, १० वटा पानी तान्ने मोटर, २ वटा डिजिटल काँटा वितरण गरेको हो ।
सामग्री वितरण गर्दै नगर प्रमुख लामाले सबै क्षेत्र उत्पादनसँग जोडिनुपर्ने बताइन ्। अहिले हेटौंडामा कृषिजन्य वस्तु मुलुकका विभिन्न भागमा निर्यात हुने गरेको उनको भनाइ छ ।
सहकारीका अनुसार अहिले कार्यक्रममा सहभागी भएका किसानलाई ४ टन मकवानपुरे छोटे र ३ टन रामधान बिउ उत्पादनका लागि बितरण गरिएको छ ।
साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१७ का अध्यक्ष उद्धव सत्याल लगायतको उपस्थिति रहेको थियो । हेटौंडा–१७ को चुच्चेखोलादेखि महादेव खोलासम्मको क्षेत्रलाई उपमहानगरले धान पकेट क्षेत्रको रुपमा विकास गर्न लागेको छ ।
