राजविराज — गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणका आरोपी जीबी राईको खोजी भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले राईको खोजी भइरहेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, 'जीबी राईको खोजी भइरहेको छ । कहाँ छन्, के छन् अहिले यहीँबाट भन्न मिल्दैन ।'
त्यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणबारे सोधिएको प्रश्नमा गृहमन्त्री लेखकले अस्पष्ट जवाफ दिए । 'छोरी निर्मलाको बीभत्स दुःखद हत्या भयो, कुनै पनि अपराधको अनुसन्धान रोकिँदैन । '
सरकार बनेको १० महिना पूरा हुँदा आशा जागेको गृहमन्त्री लेखकले बताए । पछिल्लो १० महिनामा आर्थिक सूचकांकहरू सकारात्मक दिशामा अघि बढेको र बिग्रँदो अर्थतन्त्र लयमा फर्किएको गृहमन्त्री लेखकको दाबी छ । कांग्रेस-एमालेबीचको वर्तमान सत्ता समीकरण भत्किने हल्ला मात्र भएको उनले बताए ।
