'गरिबको जिन्दगीमा अनेक समस्या आउँछन्'

पाखुरीमा बल भएसम्म रिक्सा चलाउने हिम्मत छ, नसकेका दिन घरमै कपडा सिलाउने मेसिन राखेर पसल खोल्ने सोच बनाएकी छु

वैशाख १९, २०८२

गीता सुनार

'There are many problems in the life of the poor'

बाँके — मेरा नाम नै दुइटा छन् । नागकितामा गोमा उल्लेख भए पनि सबैले गीता भने बोलाउँछन्/चिन्छन् । अटो चलाउने गीता दिदी भनेपछि अहिले कोहलपुर बजारमा नचिन्ने कमै होलान् । कोहलपुरका गल्ली–गल्ली अटोरिक्सा चलाएर घरखर्च धान्न थालेको ७ वर्ष भइसक्यो ।

अटोरिक्सा चलाएर दिनमा त्यहीँ ५ सयदेखि १ हजार रुपैयाँसम्म कमाइ हुन्छ । दुई-चार पैसा कमाइ भएका दिन घरखर्च चल्ने हो, नत्र उपाय छैन । कोहलपुर–२, आनन्दनगरमा बसोबास छ । सम्पत्तिको नाउँमा स्वरोजगार कार्यक्रमले निर्माण गरिदिएको दुइकोठे घर मात्र छ । धन्न ओत मिलेको छ ।

अहिले ४२ वर्षकी भएँ । अमाशयमा क्यान्सर रोगका कारण २८ वर्षको उमेरमै श्रीमान्‌को निधन भयो । उहाँसित साथ छुटेको पनि १२ वर्ष पुग्यो । श्रीमान् गुमाएपछि घर मात्र रित्तिएन, एकछिन त के गरौं, कसो गरौं भयो । साथमा दुई छोरा भएकाले उनीहरुको लालनपालनका लागि पनि केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले हरेस खाइनँ ।

अहिले छोरा २१ र १५ वर्षका भए । कान्छो छोराको पढाइमा ६ हजारजति खर्च लाग्छ । गाउँकै सरकारी स्कुल भए पनि वार्षिक शुल्क, ट्युसन, कोचिङको फिस भन्दै माग्छन् । किताब, कापी, कलम र खाजा खर्च अलग्गै छ ।  

चामल–दाल, तेल–मसला, हरियो तरकारी किनेर खानुपर्छ । पाहुनापाछा आउँदा माछा–मासु खानैपर्‍यो । सबै गरेर भान्छाको खर्च मात्रै महिनाको १० हजारजति हुन्छ । सन्तानको भविष्यका लागि भए पनि धन कमाउन भनेर छोरालाई सासूआमाको जिम्मा लगाएर कुवेत गएँ । तीन वर्ष काम गरेपछि उनीहरुलाई मेरो खाँचो छ भन्ने सम्झेर घर फर्कें । फर्किने बेला म सँग जम्मा १ लाख १० हजार बचत थियो । त्यति रकमले कति दिन पो चल्थ्यो र ?

थपक्क बसेर आम्दानी नहुने भएपछि ७ वर्षअघि एउटा सहकारीबाट ५ लाख ऋण निकालेर अटोरिक्सा किनेँ । कोरोना महामारीमा पनि रिक्सा चलाउन छाडिनँ । रातदिन नभनी कमाएर सहकारीको ऋण चुकाएपछि मन हलुंगो भयो । साइकल चलाउन नसिक्दै मैले अटो चलाउन सिकेँ । बाध्यता परेपछि हिम्मत आउँदो रहेछ । त्यही हिम्मतले नयाँ काम सिकाउँदो रहछे । अहिले घामपानी केहीले रोक्दैन । गर्मी धेरै हुने भएकाले बाह्रैमास एउटा ज्याकेट र चस्मा छुटाउदिनँ ।

बजारमा एउटा चोकबाट अर्कोमा गएको प्रतिव्यक्ति ३० रुपैयाँ भाडादर छ । सबेरै उठेर रिक्सा लिएर चोकमा पुग्छु । साँझ ६ बजेसम्म यात्रु ओसारेपछि घर फर्किन्छु । बिहान घरमै आएर खाना खान्छु । कान्छो छोराले खाना पकाउने भएकाले सजिलो भएको छ । अस्ती भर्खर २ लाख ६५ हजार खर्च गरेर रिक्साको ब्याट्री फेरेँ । आफूसित बचत नभएपछि यहीँकै सहकारीबाट ऋण लिएर ब्याट्री किनेँ । अहिले सहकारीको ब्याज र किस्ता तिरीरहेको छु ।

सानो छोरा ८ कक्षामा पढ्छ । एसईई दिएपछि जेठा छोराले पढाइलाई निरन्तरता दिएन । लकडाउन र कोरोनामा पढाइ प्रभावित भएपछि दुर्व्यसनमा फस्यो । साथीहरुको लहलहैमा गलत बाटो रोज्यो । बिस्तारै सुध्रिन थालेको छ । एकपटक साथीहरुसित गएका बेला लागुऔषध ओसारपसार आरोपमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाइदियो । कहिले प्रहरी त कहिले अदालत धाइरहेकी छु । मुद्दा छिटो छिनोफानो भइदिए त निर्धक्क काम गर्न सक्थेँ ।

गरिबको जिन्दगीमा अनेक समस्या आउँछन् । हामी ठूला मान्छे चिन्दैनौं । हाम्रो भनसुन कसले सुन्दैन । पाखुरीमा बल भएसम्म रिक्सा चलाउने हिम्मत छ । यो काम गर्न नसकेका दिन घरमै कपडा सिलाउने मेसिन राखेर पसल खोल्ने सोच बनाएकी छु ।

प्रस्तुति : रुपा गहतराज

गीता

Link copied successfully