पाखुरीमा बल भएसम्म रिक्सा चलाउने हिम्मत छ, नसकेका दिन घरमै कपडा सिलाउने मेसिन राखेर पसल खोल्ने सोच बनाएकी छु
बाँके — मेरा नाम नै दुइटा छन् । नागकितामा गोमा उल्लेख भए पनि सबैले गीता भने बोलाउँछन्/चिन्छन् । अटो चलाउने गीता दिदी भनेपछि अहिले कोहलपुर बजारमा नचिन्ने कमै होलान् । कोहलपुरका गल्ली–गल्ली अटोरिक्सा चलाएर घरखर्च धान्न थालेको ७ वर्ष भइसक्यो ।
अटोरिक्सा चलाएर दिनमा त्यहीँ ५ सयदेखि १ हजार रुपैयाँसम्म कमाइ हुन्छ । दुई-चार पैसा कमाइ भएका दिन घरखर्च चल्ने हो, नत्र उपाय छैन । कोहलपुर–२, आनन्दनगरमा बसोबास छ । सम्पत्तिको नाउँमा स्वरोजगार कार्यक्रमले निर्माण गरिदिएको दुइकोठे घर मात्र छ । धन्न ओत मिलेको छ ।
अहिले ४२ वर्षकी भएँ । अमाशयमा क्यान्सर रोगका कारण २८ वर्षको उमेरमै श्रीमान्को निधन भयो । उहाँसित साथ छुटेको पनि १२ वर्ष पुग्यो । श्रीमान् गुमाएपछि घर मात्र रित्तिएन, एकछिन त के गरौं, कसो गरौं भयो । साथमा दुई छोरा भएकाले उनीहरुको लालनपालनका लागि पनि केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले हरेस खाइनँ ।
अहिले छोरा २१ र १५ वर्षका भए । कान्छो छोराको पढाइमा ६ हजारजति खर्च लाग्छ । गाउँकै सरकारी स्कुल भए पनि वार्षिक शुल्क, ट्युसन, कोचिङको फिस भन्दै माग्छन् । किताब, कापी, कलम र खाजा खर्च अलग्गै छ ।
चामल–दाल, तेल–मसला, हरियो तरकारी किनेर खानुपर्छ । पाहुनापाछा आउँदा माछा–मासु खानैपर्यो । सबै गरेर भान्छाको खर्च मात्रै महिनाको १० हजारजति हुन्छ । सन्तानको भविष्यका लागि भए पनि धन कमाउन भनेर छोरालाई सासूआमाको जिम्मा लगाएर कुवेत गएँ । तीन वर्ष काम गरेपछि उनीहरुलाई मेरो खाँचो छ भन्ने सम्झेर घर फर्कें । फर्किने बेला म सँग जम्मा १ लाख १० हजार बचत थियो । त्यति रकमले कति दिन पो चल्थ्यो र ?
थपक्क बसेर आम्दानी नहुने भएपछि ७ वर्षअघि एउटा सहकारीबाट ५ लाख ऋण निकालेर अटोरिक्सा किनेँ । कोरोना महामारीमा पनि रिक्सा चलाउन छाडिनँ । रातदिन नभनी कमाएर सहकारीको ऋण चुकाएपछि मन हलुंगो भयो । साइकल चलाउन नसिक्दै मैले अटो चलाउन सिकेँ । बाध्यता परेपछि हिम्मत आउँदो रहेछ । त्यही हिम्मतले नयाँ काम सिकाउँदो रहछे । अहिले घामपानी केहीले रोक्दैन । गर्मी धेरै हुने भएकाले बाह्रैमास एउटा ज्याकेट र चस्मा छुटाउदिनँ ।
बजारमा एउटा चोकबाट अर्कोमा गएको प्रतिव्यक्ति ३० रुपैयाँ भाडादर छ । सबेरै उठेर रिक्सा लिएर चोकमा पुग्छु । साँझ ६ बजेसम्म यात्रु ओसारेपछि घर फर्किन्छु । बिहान घरमै आएर खाना खान्छु । कान्छो छोराले खाना पकाउने भएकाले सजिलो भएको छ । अस्ती भर्खर २ लाख ६५ हजार खर्च गरेर रिक्साको ब्याट्री फेरेँ । आफूसित बचत नभएपछि यहीँकै सहकारीबाट ऋण लिएर ब्याट्री किनेँ । अहिले सहकारीको ब्याज र किस्ता तिरीरहेको छु ।
सानो छोरा ८ कक्षामा पढ्छ । एसईई दिएपछि जेठा छोराले पढाइलाई निरन्तरता दिएन । लकडाउन र कोरोनामा पढाइ प्रभावित भएपछि दुर्व्यसनमा फस्यो । साथीहरुको लहलहैमा गलत बाटो रोज्यो । बिस्तारै सुध्रिन थालेको छ । एकपटक साथीहरुसित गएका बेला लागुऔषध ओसारपसार आरोपमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाइदियो । कहिले प्रहरी त कहिले अदालत धाइरहेकी छु । मुद्दा छिटो छिनोफानो भइदिए त निर्धक्क काम गर्न सक्थेँ ।
गरिबको जिन्दगीमा अनेक समस्या आउँछन् । हामी ठूला मान्छे चिन्दैनौं । हाम्रो भनसुन कसले सुन्दैन । पाखुरीमा बल भएसम्म रिक्सा चलाउने हिम्मत छ । यो काम गर्न नसकेका दिन घरमै कपडा सिलाउने मेसिन राखेर पसल खोल्ने सोच बनाएकी छु ।
प्रस्तुति : रुपा गहतराज
