भएका पनि सट्टा बिदा लिएर कुम्भ स्नान गर्न गएपछि सेवा प्रभावित
राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थायी दरबन्दीमा कार्यरत एघारौं तहकी वरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियन डा. एन्जिला घिमिरे २०८१ जेठ २७ गतेदेखि असाधारण बिदामा थिइन् ।
अस्पतालले उनीसहित काज र बिदामा रहेका चिकित्सकलाई फर्काइदिन पटक–पटक स्वास्थ्य मन्त्रालयमा आग्रह गर्यो । तर डाक्टरहरु फर्किएनन् । डा. घिमिरे आठमहिनापछि गत माघ २७ गते अस्पतालमा हाजिर भइन् । उनी अस्पतालमा हाजिर भएपछि बालरोग विभागमा विशेशज्ञ चिकित्सकको अभाव पुर्ति हुने अपेक्षा गरिएको थियो । तर हाजिर भएको भोलिपल्टै माघ २८ गते डा. घिमिरे एकसय ७० दिन बिदाको स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालय पुगिन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिपकुमार साहका अनुसार अस्पतालबाट बिदाको सिफारिस लिएर डा. घिमिरे स्वीकृतिका लागि माघ २८ गते मन्त्रालय गएकी छिन् । गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका दशौं तहकी कन्सलटेन्ट पेडियाट्रिसियन डा श्वेता गुप्ता लामो समयदेखि काजमा अन्यत्र छिन् । २०७६ साल पुस २ गतेदेखि उनी काजमा भरतपुर अस्पताल चितवनमा कार्यरत छिन् ।
यसै अस्पतालमा बालरोग विशेशज्ञको रुपमा कार्यरत डा. मुकुन्द देव र डा. सरोजकुमार यादव फागुन ३ गतेदेखि सट्टा बिदा लिएर कुम्भ स्नान गर्न भारततर्फ लागेका छन् । डा. देव र डा. यादव बिदा लिएर कुम्भ स्नान गर्न गएपछि फागुन ३ गतेबाट गजेन्द्रनारायण अस्पतालको बालरोग विभाग विशेषज्ञ चिकित्सकविहीन छ ।
अस्पतालको बालरोग विभागमा रहेका मेडिकल अधिकृत डा. एनिलता दास र डा. गौतम मण्डलको भरमा विभाग सञ्चालित छ । अस्पतालको बालरोग विभाग मात्र होइन, यहाँ दरबन्दी भई कार्यरत रहेका विशेषज्ञ चिकित्सकहरु काज मिलाउँदै लामो समयदेखि अन्यत्रैको अस्पतालमा कार्यरत छन् ।
गजेन्द्रनारायण अस्पतालमा ५० शय्याको स्वीकृति भए पनि बिरामीको चापका कारण एकसय ५० शय्या सञ्चालनमा छ । तर चिकित्सककाे अभावमा सर्वसाधारणले विशेषज्ञ चिकित्सकबाट उपचार पाउन सकिरहेका छैनन् । गत कात्तिक महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पतालमा अनुमगनमा आएका बेला उनले अस्पतालमा जनशक्ति पूर्ति गर्नेतर्फ मन्त्रालयले आवश्यक कार्य गर्ने आश्वासन दिएका थिए ।
विभागीय मन्त्रीको साेही आश्वासनपछि हौसिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले काजमा काम गरिरहेका एघाराैं र नवाै/दसाैं तहका ८ चिकित्सकको काज फिर्ता गरिदिन भन्दै २७ कात्तिकमा स्वास्थ्य मन्त्रालयमा पत्राचार समेत गरेका थिए । उक्त पत्रमा ठूलाे संख्यामा चिकित्सकहरु काजमा भएकाले अस्पतालकाे सेवा प्रवाहमा कठिनाइ भएकाे उल्लेख गरिएकाे छ ।
मन्त्री पौडेलको आश्वासन र त्यसपछिको पत्राचारको लामो समय भइसक्दा पनि न त काजका चिकित्सक फर्किएका छन् न वैकल्पिक व्यवस्था नै भएको छ । बरू पठाइदिन आग्रह गरिएकामध्ये डा. घिमिरे हाजिर भएर भोलिपल्टै बिदा स्वीकृत गराउन काठमाडौं लागिन् ।
यसबारे बुझ्न प्रमुख मेसु डा तिवारी सम्पर्कमा आएनन् । अस्पताल प्रशासनका अनुसार उनी माघ २७ गतेदेखि राजधानी गएको छन् । एघारौं तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. अवधेशकुमार मिश्र २०८१ साल असार ४ गतेदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छन् । दसौं तहका वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. इन्द्र ढकाल २०८१ असार ५ गतेदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा काजमा छन् । यहाँ दरबन्दी रहेका नवौं तहका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. प्रकाश ढकाल २०८१ साउन १६ गतेदेखि लुम्बिनी प्रदेशमा र नवौं तहकै कन्सलटेन्ट डर्माटोलोजिष्ट डा. रन्जु पोखरेल २०८१ साउन २९ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काजमा छन् ।
नवौं तहकै कन्सलटेन्ट साइक्लोजिष्ट डा. सुशिल समदर्शी २०८१ जेठ २७ गतेदेखि कर्णाली प्रदेशमा र नवौं तहकै कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. विशालकुमार देव २०८१ साउन ३० गतेदेखि कोशी अस्पताल विराटनगरमा काजमा गएको अस्पतालले जनाएको छ । अस्पतालमा दरबन्दी रहेका विशेषज्ञ चिकित्सकहरु स्वास्थ्य मन्त्रालयबाट काज मिलाउँदै अन्यत्रका अस्पतालमा जाने क्रम नरोकिएपछि यो अस्पतालमा चिकित्सक अभाव भएको छ ।
कार्यालय प्रमुख जिम्मेवार भएनन्–स्वास्थ्य मन्त्रालय
गजेन्द्रनारायण सिंह अस्पतालको बालरोग विभाग विशेषज्ञविहीन हुनुको प्रमुख कारण मेडिकल सुपरिन्टेन्डेन्ट जिम्मेवार रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘सबै विशेषज्ञ चिकित्सक एकैपटक खाली हुने गरी काम गर्नु कार्यालय प्रमुख आफ्नो पदमा जिम्मेवार नहुनु हो,’ प्रवक्ता बुढाथोकीले भने, ‘अस्पताल प्रशासन जिम्मेवार देखिएन।’
‘एकै विभागका ४–४ जनालाई एकै पटक बिदा वा काजमा पठाउनुहुदैनथ्यो,’ उनले अघि थपे,‘अस्पताल सही ढंगले चलाउनु प्रमुखको जिम्मेवारी हो, यसरी एकैपटक सबैलाई बिदा वा काज दिएर विभाग नै विशेषज्ञ विहीन बनाउनु अति संवेदनशील विषय हो । यसबारे हामी जानकारी लिन्छौं ।’
लामो समयपछि हाजिर भएका डाक्टरलाई फेरि बिदा स्वीकृत गर्नेगरी सिफारिस किन दिइयो भन्ने प्रश्न उठेको उनको भनाइ छ । मेडिकल सुपरिटेन्डन्टसँग यसको जवाफ लिइने बताए । अस्पतालका प्रशासन शाखा प्रमुख रामबाबु यादवले सुपरिन्टेन्डेन्ट डा. तिवारी मन्त्रालयमा काम छ भन्दै गत माघ २७ गते राजधानी गएको बताए ।
