राजविराज — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेशमार्फत तराईका जमिनमा पहाडबाट ल्याएर बसाउने प्रपन्च भएको आरोप लगाएका छन् । चुरे विनाश गर्ने दिशामा सरकार अघि बढेको बताउँदै उनले चुरे विनास गरी मधेशलाई मरुभूमिकरण गर्न खोजेको आरोप लगाए ।
सप्तरीको खडग नगरपालिका खरचुहियामा बिहीबार जसपा नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जंगल र चुरे फँडानी गरी पहाडबाट मानिस ल्याएर बसाइ मधेशमा मधेशीलाई अल्पसंख्यक बनाउने षड्यन्त्र सरकारले भूमि अध्यादेश ल्याएर गरेको आरोप लगाए ।
भूमाफियाको चक्करमा भूमि अध्यादेश ल्याइएको भन्दै उनले भूमिसम्बन्धी अध्यादेश देश र जनताको हितमा नरहेको बताए । उनले ५४ प्रतिशत जनसंख्या रहेको मधेशमा १२-१३ प्रतिशत मात्र विकास बजेट दिएर भेद्भाव भइरहेको उल्लेख गरे । जनताको समस्या समाधान नभएर देशमा विद्रोहको बिस्फोट हुने खतरा रहेको भन्दै उनले कांग्रेस कम्युनिष्टको विकल्प खोज्नुपर्ने अवस्था आएको धारणा राखे । उनले कांग्रेस कम्युनिष्ट देशलाई अगाडि बढाउन असफल भएको र वैदेशिक ऋणमा देशलाई डुबाएको आरोप लगाए ।
देशमा कुनै भविष्य नदेखेपछि वर्तमान अवस्थामा १२ कक्षा पढेर विदेश जाने सोचका युवा बढेको उनको भनाइ छ ।
जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले भूमिसम्बन्धी अध्यादेश देशद्रोही अध्यादेश भएको आरोप लगाए । सचिव शैलेन्द्रप्रसाद साहले भूमि अध्यादेशले मधेशलाई मरुभूमिकरण गर्ने षड्यन्त्र रहेकोले त्यसका विरुद्धमा जसपा नेपाल चट्टानी अडानका साथ उभिएको बताए ।
