शीतलहर : गरिबका लागि कहर

पुस २६, २०८१

अवधेशकुमार झा

Sheetalahar: Havoc for the poor

पर्सा, रौतहट, सप्तरी — वीरगन्ज महानगरपालिका–१३ मालदिभ्स टोलकी ६५ वर्षीया जोयालस हवारी बिहीबार दिउँसो देखिएको मधुरो घाम ताप्न आँगनको बाटोमा कुर्सी राखेर बसेकी थिइन् । पक्षघातले गलेको उनको शरीर जाडोले लगलग काँपिरहेको थियो । आङमा पातलो स्विटर लगाएकी उनले पातलै कपडा ओढेकी थिइन् ।

 ‘धेरै दिनमा घाम झुल्कियो ताप्न बाहिर निस्केकी छुँ,’ उनले भनिन्, ‘घाम लागे पनि जाडो असह्य छ, शरीरको कम्पन रोकिएको छैन ।’

खाटमा चटाई र एउटा पातलो ओढ्नेको भरमा चिसो रात कटाउने गरेकी जोयालसले एक सातादेखि बढेको जाडोले दैनिकी कष्टकर बनाएको बताइन् । ‘एक त लकवाले आफ्नै शरीर भारी भएको, हामी गरिबलाई जाडो र त्यसमा पनि शीतलहर ठूलो कहर हो,’ उनले भनिन्, ‘हाम्रो लागि बरु गर्मी नै बेस, न न्यानो कपडा न सिरक चाहिने ।’

वीरगन्ज–१२ मुर्लीकी ७१ वर्षीया साहजहान अन्सारीको दैनिकी पनि जाडोले कष्टकर बनाएको छ । पक्षघातका कारण शरीरको देब्रे भाग चल्न छोडेकी उनको बोली पनि हराएको छ । पातलो ओढ्ने कपडाले जाडो छल्न बाध्यता बीच उनको खाटमा एउटा प्लाष्टिकको चटाई मात्र छ । सिरानी छेउ पातलो कम्बल छ । बुहारी मायरा खातुनले आफूहरु भाडाको घरमा बस्दै आएको बताइन् ।

जाडो बढेपछि सासूलाई झनै सास्ती भएको उनले बताइन् । ‘लगलग कामेर बस्नु भएको छ, हामीले न्यानो कपडा र बाक्लो सिरकको व्यवस्था गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘मुटु कमाउने जाडोमा अशक्त सासुलाई कसरी जोगाउने भन्ने चिन्ता छ, शीतलहर हामी जस्ता गरिबका लागि कहर बनेर आउँछ ।’

Sheetalahar: Havoc for the poor

सातायता जारी शीतलहरले तराइमा विपन्न वर्गलाई सास्ती भएको छ । जाडो छल्ने न्यानो कपडा अभावमा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई झनै सास्ती भएको छ ।

तराई–मधेशमा लगातार चलेको शीतलहर, हुस्सुका कारण जनजीवन अस्तब्यस्त भएको छ । चिसो बढेपछि सडकमा आवागमन पातलिएको छ । चिसोका कारण बालबालिका अस्पताल भर्ना हुने क्रम बढेको छ । बिहीबार समान्य घाम लागे पछि स्थानीयले केही राहत महशुस गरेका छन् ।

रौतहटको चन्द्रपुर–८ डुमरिया, वडानम्बर ९ चेतनगरको मुसहर र बृन्दावनको हरसाहास्थित डोम बस्तीमा शीतलहरले जनजीवन प्रभावित पारेको छ । मुटु काप्ने जाडोले आफू र छोराछोरीलाई समस्या परेको धमौराका संजय मल्लिकले सुनाए । ‘जाडोले घरबाट बहिर निस्कन सकेका छैनौं,’ उनले भने, ‘न्यानो कपडा नहुँदा हामी जस्तो गरिबलाई जाडो काल हुने रहेछ ।’

Sheetalahar: Havoc for the poor

सडक छेउमा ७ परिवारको बसोबास रहेको यो बस्तीका अधिकांश घरमा ओढ्ने सिरक छैन् । शीतलहरले वृद्धवृद्धा र बालबालिका बिरामी हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । चिसो बढेयता दिनहुँ चार/पाँच बालबालिका निमोनियाका कारण भर्ना हुने थालेको चन्द्रपुर अस्पतालका चिकित्सक अभिषेक अधिकारीले बताए । चेतनगरको मुसहर बस्तीका बालबालिका चिसोले बिरामी पर्न थालेका छन् ।

चिसो बढ्न थाले पछि जिल्लाभरीका बालबालिका विद्यालय आउन छाडेका छन् । विद्यालयको पठनपाठन समेत प्रभावित हुन थाले पछि स्थानीय तहले दुई दिन विद्यालय बन्द गरेको छ । जिल्लाको गौर, ईशनाथ, चन्द्रपुर, बृन्दावन, फतुवाविजयपुर, राजदेवी, यमुनामाई, गोनाहीदेबाही नगरपालिकाले शुक्रबारसम्मका लागि विद्यालय बन्द गरेको हो ।

गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै ३ दिन नगर क्षेत्रका विद्यालय बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताए ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शीतलहरबाट मानवीय क्षति हुन रौतहटका १८ वटै पालिकाले पनि गाउँका बजार र चोकमा दाउरा बाल्ने व्यवस्था मिलाएको छ । चिसोले सबैभन्दा बढी दलित बस्तीमा प्रभाव पारेको छ ।

मुसहरबस्तीमा सास्ती 

सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका-८ का ९ महिनाका बिक्की सदा चिसोका कारण आठ दिनदेखि बिरामी छन् । उनलाई रुघा र ज्वरोले सताएको छ । ‘शीतलहरले मजदुरी लागिरहेको छैन । घरमै बस्न पनि तनावपूर्ण छ,' बिक्कीकी हजुरआमा गीतादेवी सदाले भनिन्, 'नातिलाई राजविराज लगेर डाक्टरलाई देखाएँ । तर औषधिले काम गरिरहेको छैन । शीतलहरले झन् बिरामी बढाएको छ।'

कोसी पश्चिमी नहरको डिलमा छाप्रो बनाएर बस्दै आएकी गीतादेवी गाउँनै शीतलहरबाट पीडित रहेको बताउँछन् । नहरछेऊको यो बस्ती पुरै मुसहरको हो । अधिकांश परिवार शीतलहरबाट समस्यामा परेका छन् ।‘घरको टाटीमा ठूलो ठूलो प्वाल छ, एक त पानी बगिरहेको नहरको डिलमा हाम्रो बसोबास छ, त्यसमाथि कच्ची र हावा पस्ने घर छ,’ गीतादेवीले भनिन्, ‘पर्याप्त ओढ्ने ओछ्याउने कपडाको अभावमा हामी जाडो छल्न सकिरहेका छैनौँ ।’

शीतलहरले मजदुरी गरेर खाने बाटो समेत बन्द भएको उनले बताइन् । 'मजदुरी गर्न नपाएपछि चुलो बाल्न सक्ने स्थिति छैन,' उनले भनिन् । कच्ची घरले शीतलहरको सिरेटो छेक्दैन । शीतलहर बढ्दै गर्दा ओत लाग्ने छत नभएका मुसहर परालको ओछ्यानमा सुत्छन् । लगाउने न्यानो कपडाको अभाव छ । ‘बिहानदेखि बेलुकासम्म चिसो हावासंगै शीतलहरी चल्दा घुर सहारा भएको छ,’ स्थानीय अनितादेबी सदाले भनिन्,‘घरमा पर्याप्त लुगा छैन, कच्ची घर छ, हावा पनि छेक्न सक्दैन, जाडो छल्न मुस्किल छ ।’

Sheetalahar: Havoc for the poor

बिहान हुने बितिकै बस्तीमा घरैपिच्छे घुर बाल्छन्, रातिसम्म घुरकै सहारामा जिउ न्यानो बनाउनुपर्ने अवस्था छ,' उनले भनिन्,‘कतै मजदुरी गर्न काम नपाउँदा छाक टार्ने थप समस्या आइपरेको छ ।’

नजिकै अर्को मुसहरबस्ती पनि छ, उत्तर तिलाठी कोईलाडी गाँउपालिका-८ मा । त्यहाँ पनि अवस्था उही छ । बलियो छत र न्यानो कपडा नहुँदा शीतलहर छल्न आफूहरूका लागि कठिन बनेको स्थानीय भुलन सदाले बताए । ‘हामी गरिबलाई सँधै समस्या, मौसमको पनि समस्या,’ भुलनले भने,‘वर्षा र बाढी पनि हाम्रै घरमा पस्छ, जाडो र शीतलहरी पनि हामीलाई नै खान्छ ।’

शीतलहरीका कारण कतै जान नसक्दा बस्तीमा छाक टार्न अब अर्काको भर पर्नुपर्ने अवस्था आएको उनले सुनाए । यहाँका मुसहर मजदुर माटो काट्ने, ज्यालादारी गर्ने काम गर्छन् । बाह्रै महिना मजदुरी गरेपनि उनीहरूको आर्थिक जीवन उचो हुने गरी पारिश्रमिक पाउँदैनन् ।

ज्याला बढी माग गरे काम नै नपाउने अवस्था छ । शीतलहर सुरू भएपछि मधेशमा ठूलो संख्यामा रहेका मुसहरूलाई दैनिकी बिताउन कठिन बनेको छ । नेपालमा मुसहर समुदायको कुल जनसंख्या २ लाख ६४ हजार ९ सय ७४ छ । नदी, नहर र सडक वरपर आश्रय लिएर बसेका अधिकांश मुसहर भूमिहीन छन् ।

अवधेशकुमार झा

Link copied successfully