पर्सा, रौतहट, सप्तरी — वीरगन्ज महानगरपालिका–१३ मालदिभ्स टोलकी ६५ वर्षीया जोयालस हवारी बिहीबार दिउँसो देखिएको मधुरो घाम ताप्न आँगनको बाटोमा कुर्सी राखेर बसेकी थिइन् । पक्षघातले गलेको उनको शरीर जाडोले लगलग काँपिरहेको थियो । आङमा पातलो स्विटर लगाएकी उनले पातलै कपडा ओढेकी थिइन् ।
‘धेरै दिनमा घाम झुल्कियो ताप्न बाहिर निस्केकी छुँ,’ उनले भनिन्, ‘घाम लागे पनि जाडो असह्य छ, शरीरको कम्पन रोकिएको छैन ।’
खाटमा चटाई र एउटा पातलो ओढ्नेको भरमा चिसो रात कटाउने गरेकी जोयालसले एक सातादेखि बढेको जाडोले दैनिकी कष्टकर बनाएको बताइन् । ‘एक त लकवाले आफ्नै शरीर भारी भएको, हामी गरिबलाई जाडो र त्यसमा पनि शीतलहर ठूलो कहर हो,’ उनले भनिन्, ‘हाम्रो लागि बरु गर्मी नै बेस, न न्यानो कपडा न सिरक चाहिने ।’
वीरगन्ज–१२ मुर्लीकी ७१ वर्षीया साहजहान अन्सारीको दैनिकी पनि जाडोले कष्टकर बनाएको छ । पक्षघातका कारण शरीरको देब्रे भाग चल्न छोडेकी उनको बोली पनि हराएको छ । पातलो ओढ्ने कपडाले जाडो छल्न बाध्यता बीच उनको खाटमा एउटा प्लाष्टिकको चटाई मात्र छ । सिरानी छेउ पातलो कम्बल छ । बुहारी मायरा खातुनले आफूहरु भाडाको घरमा बस्दै आएको बताइन् ।
जाडो बढेपछि सासूलाई झनै सास्ती भएको उनले बताइन् । ‘लगलग कामेर बस्नु भएको छ, हामीले न्यानो कपडा र बाक्लो सिरकको व्यवस्था गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘मुटु कमाउने जाडोमा अशक्त सासुलाई कसरी जोगाउने भन्ने चिन्ता छ, शीतलहर हामी जस्ता गरिबका लागि कहर बनेर आउँछ ।’
सातायता जारी शीतलहरले तराइमा विपन्न वर्गलाई सास्ती भएको छ । जाडो छल्ने न्यानो कपडा अभावमा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई झनै सास्ती भएको छ ।
तराई–मधेशमा लगातार चलेको शीतलहर, हुस्सुका कारण जनजीवन अस्तब्यस्त भएको छ । चिसो बढेपछि सडकमा आवागमन पातलिएको छ । चिसोका कारण बालबालिका अस्पताल भर्ना हुने क्रम बढेको छ । बिहीबार समान्य घाम लागे पछि स्थानीयले केही राहत महशुस गरेका छन् ।
रौतहटको चन्द्रपुर–८ डुमरिया, वडानम्बर ९ चेतनगरको मुसहर र बृन्दावनको हरसाहास्थित डोम बस्तीमा शीतलहरले जनजीवन प्रभावित पारेको छ । मुटु काप्ने जाडोले आफू र छोराछोरीलाई समस्या परेको धमौराका संजय मल्लिकले सुनाए । ‘जाडोले घरबाट बहिर निस्कन सकेका छैनौं,’ उनले भने, ‘न्यानो कपडा नहुँदा हामी जस्तो गरिबलाई जाडो काल हुने रहेछ ।’
सडक छेउमा ७ परिवारको बसोबास रहेको यो बस्तीका अधिकांश घरमा ओढ्ने सिरक छैन् । शीतलहरले वृद्धवृद्धा र बालबालिका बिरामी हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । चिसो बढेयता दिनहुँ चार/पाँच बालबालिका निमोनियाका कारण भर्ना हुने थालेको चन्द्रपुर अस्पतालका चिकित्सक अभिषेक अधिकारीले बताए । चेतनगरको मुसहर बस्तीका बालबालिका चिसोले बिरामी पर्न थालेका छन् ।
चिसो बढ्न थाले पछि जिल्लाभरीका बालबालिका विद्यालय आउन छाडेका छन् । विद्यालयको पठनपाठन समेत प्रभावित हुन थाले पछि स्थानीय तहले दुई दिन विद्यालय बन्द गरेको छ । जिल्लाको गौर, ईशनाथ, चन्द्रपुर, बृन्दावन, फतुवाविजयपुर, राजदेवी, यमुनामाई, गोनाहीदेबाही नगरपालिकाले शुक्रबारसम्मका लागि विद्यालय बन्द गरेको हो ।
गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै ३ दिन नगर क्षेत्रका विद्यालय बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताए ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शीतलहरबाट मानवीय क्षति हुन रौतहटका १८ वटै पालिकाले पनि गाउँका बजार र चोकमा दाउरा बाल्ने व्यवस्था मिलाएको छ । चिसोले सबैभन्दा बढी दलित बस्तीमा प्रभाव पारेको छ ।
मुसहरबस्तीमा सास्ती
सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका-८ का ९ महिनाका बिक्की सदा चिसोका कारण आठ दिनदेखि बिरामी छन् । उनलाई रुघा र ज्वरोले सताएको छ । ‘शीतलहरले मजदुरी लागिरहेको छैन । घरमै बस्न पनि तनावपूर्ण छ,' बिक्कीकी हजुरआमा गीतादेवी सदाले भनिन्, 'नातिलाई राजविराज लगेर डाक्टरलाई देखाएँ । तर औषधिले काम गरिरहेको छैन । शीतलहरले झन् बिरामी बढाएको छ।'
कोसी पश्चिमी नहरको डिलमा छाप्रो बनाएर बस्दै आएकी गीतादेवी गाउँनै शीतलहरबाट पीडित रहेको बताउँछन् । नहरछेऊको यो बस्ती पुरै मुसहरको हो । अधिकांश परिवार शीतलहरबाट समस्यामा परेका छन् ।‘घरको टाटीमा ठूलो ठूलो प्वाल छ, एक त पानी बगिरहेको नहरको डिलमा हाम्रो बसोबास छ, त्यसमाथि कच्ची र हावा पस्ने घर छ,’ गीतादेवीले भनिन्, ‘पर्याप्त ओढ्ने ओछ्याउने कपडाको अभावमा हामी जाडो छल्न सकिरहेका छैनौँ ।’
शीतलहरले मजदुरी गरेर खाने बाटो समेत बन्द भएको उनले बताइन् । 'मजदुरी गर्न नपाएपछि चुलो बाल्न सक्ने स्थिति छैन,' उनले भनिन् । कच्ची घरले शीतलहरको सिरेटो छेक्दैन । शीतलहर बढ्दै गर्दा ओत लाग्ने छत नभएका मुसहर परालको ओछ्यानमा सुत्छन् । लगाउने न्यानो कपडाको अभाव छ । ‘बिहानदेखि बेलुकासम्म चिसो हावासंगै शीतलहरी चल्दा घुर सहारा भएको छ,’ स्थानीय अनितादेबी सदाले भनिन्,‘घरमा पर्याप्त लुगा छैन, कच्ची घर छ, हावा पनि छेक्न सक्दैन, जाडो छल्न मुस्किल छ ।’
बिहान हुने बितिकै बस्तीमा घरैपिच्छे घुर बाल्छन्, रातिसम्म घुरकै सहारामा जिउ न्यानो बनाउनुपर्ने अवस्था छ,' उनले भनिन्,‘कतै मजदुरी गर्न काम नपाउँदा छाक टार्ने थप समस्या आइपरेको छ ।’
नजिकै अर्को मुसहरबस्ती पनि छ, उत्तर तिलाठी कोईलाडी गाँउपालिका-८ मा । त्यहाँ पनि अवस्था उही छ । बलियो छत र न्यानो कपडा नहुँदा शीतलहर छल्न आफूहरूका लागि कठिन बनेको स्थानीय भुलन सदाले बताए । ‘हामी गरिबलाई सँधै समस्या, मौसमको पनि समस्या,’ भुलनले भने,‘वर्षा र बाढी पनि हाम्रै घरमा पस्छ, जाडो र शीतलहरी पनि हामीलाई नै खान्छ ।’
शीतलहरीका कारण कतै जान नसक्दा बस्तीमा छाक टार्न अब अर्काको भर पर्नुपर्ने अवस्था आएको उनले सुनाए । यहाँका मुसहर मजदुर माटो काट्ने, ज्यालादारी गर्ने काम गर्छन् । बाह्रै महिना मजदुरी गरेपनि उनीहरूको आर्थिक जीवन उचो हुने गरी पारिश्रमिक पाउँदैनन् ।
ज्याला बढी माग गरे काम नै नपाउने अवस्था छ । शीतलहर सुरू भएपछि मधेशमा ठूलो संख्यामा रहेका मुसहरूलाई दैनिकी बिताउन कठिन बनेको छ । नेपालमा मुसहर समुदायको कुल जनसंख्या २ लाख ६४ हजार ९ सय ७४ छ । नदी, नहर र सडक वरपर आश्रय लिएर बसेका अधिकांश मुसहर भूमिहीन छन् ।
