‘हिजोजस्तै लाग्छ, बेंसीका बस्तीमा पुगेर गोलभेंडा राखेको काउलीको तरकारी खाँदा के–के नै खाएजस्तो लाग्थ्यो तर अहिले आफ्नै बारीमा फल्न थालेको छ’
म्याग्दी — कुनै जमाना थियो, उपल्लो भेगका मुस्ताङवासी जाडो छल्न बेंसी झरेका बेला मात्र काउली, बन्दा, गोलभेंडा, काँक्राजस्ता तरकारी देख्न र खान पाउँथे । हिउँदको जाडो सकिएपछि बेंसीबाट घर फर्कने मुस्ताङीले खाद्यान्नसँगै १५–२० दिनसम्म लगाएर तरकारी बोकेरै लैजान्थे । आलुबाहेक अन्य तरकारी यो क्षेत्रमा फल्दैनथ्यो ।
जलवायु परिवर्तनका कारण घट्दो हिमपात अनि बढ्दो तापक्रम र वर्षाले हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा पहिला कहिल्यै नफलेका तरकारी फल्न थालेका छन् । खेती प्रणालीमा आएको फेरबदलले उपल्लो मुस्ताङीको भान्सा नै फेरिएको छ ।
छायावृष्टि हुने सुक्खा तर चिसो हावापानी भएको बालुवाले ढाकेका फुस्रा पहाडहरू बीचका हिमाली बस्तीमा अचेल काउली, ब्रोकाउली, गोलभेंडा, रायो, मुला, गाँजर, जुगुने फर्सीलगायत तरकारी लटरम्मै फल्न थालेका छन् ।
‘हिजोजस्तै लाग्छ, बालबच्चा सहित घरका घोडाहरू धपाउँदै बेंसीका बस्तीमा पुगेर गोलभेंडा राखेको काउलीको तरकारी खाँदा के–के नै खाएजस्तो लाग्थ्यो तर अहिले आफ्नै बारीमा फल्न थालेको छ,’ लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ घमीकी छिरिङ डोल्मा गुरुङले भनिन्, ‘अहिले घरायसी प्रयोजनमा मात्र तरकारी खेती गरेका छौं, अब केही वर्षभित्र उपल्लो मुस्ताङको चिसो हावापानीमा उत्पादित अर्गानिक तरकारी बेंसीका सहरमा पठाउने लक्ष्य लिएका छौं ।’
उच्च हिमाली जिल्लामा नयाँ तरकारी फल्न थाल्नु र पहिला फल्दै आएका तरकारी पनि बढी फल्नुमा विज्ञहरूले तापक्रम र वर्षामा भएको वृद्धिलाई कारण मानेका छन् । ‘सुक्खा स्थानमा पानी परेपछि माटो मलिलो बन्छ । आर्द्रता र सिँचाइ पुग्छ । अनि तापक्रमले फल लाग्ने तत्त्व पुर्याउँछ र नयाँ तरकारीका फल फल्न थाल्छन्,’ कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङ भन्छन्, ‘कुनै पनि बाली तोकिएको भन्दा फरक हावापानी र उचाइमा फल्न थाल्नुलाई क्रप्स सिफ्टिङ भनिन्छ । उत्पादनमा देखिएको परिवर्तन तरकारीमा मात्र होइन, मुस्ताङका अन्य बालीमा पनि देखिन थालेको छ ।’
जल तथा मौसम विज्ञान कार्यालय पोखराले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार मुस्ताङको सबैभन्दा माथिल्लो लोमन्थाङ गाउँपालिका–१ छोसेरस्थित मौसम मापन केन्द्रको रेकर्डमा सन् २००९ सम्म उपल्लो मुस्ताङमा अधिकतम वर्षा २ सय मिलिमिटर भन्दा तलै थियो तर त्यसयता वर्षाको मात्रा बढेर सन् २०२३ सम्म आइपुग्दा ३ सय ३१ मिमिसम्म रेकर्ड छ ।
जोमसोमस्थित ‘एरोसिनप्टिक’ केन्द्रको रेकर्डमा सन् २०१० सम्म जोमसोम क्षेत्रमा अधिकतम वर्षा ३ सय मिलिमिटरभन्दा तल रहेकोमा सन् २०२३ सम्म आइपुग्दा वर्षाको मात्रा बढेर ६ सय ६५ मिलिमिटरसम्म पुगेको छ ।
तापक्रम र वर्षामा आउने ०.१ प्रतिशतकै परिवर्तनले पनि वातावरणमा अत्यधिक प्रभाव पर्ने विज्ञहरू बताउँछन् । यूएनडीपीले १६–१७ वर्षअघि नै जलवायु परिवर्तनका कारणले मुस्ताङ र मनाङमा नयाँ तरकारी फल्ने, कम उचाइमा हुने बोटबिरुवा देखा पर्ने पूर्वानुमान गरेको थियो । यूएनडीपीको मानव विकास रिपोर्ट २००७/०८ मा जलवायु परिवर्तनले बढाएको तापक्रम र वर्षाका कारण असामान्य परिवर्तन आउने उल्लेख गर्दै भनिएको छ, ‘हिमाली क्षेत्रमा नयाँ तरकारी काउली, बन्दा, गोलभेंडा, काँक्रो, खुर्सानी पनि फल्नेछन् । कम उचाइमा पाइने बोटबिरुवा पनि यी स्थानमा पाइनेछन् । हिमाली जिल्ला अघिल्ला दशकमा भन्दा हरियालीयुक्त बन्दै जानेछ ।’
‘जलवायु परिवर्तनसँगै स्थानीयलाई बेंसीमा फल्ने तरकारी खेतीतर्फ आकर्षित गरिरहेका छौं’ लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले भने, ‘जलवायु अनुकूलनका लागि मुस्ताङकै तल्लो क्षेत्रमा उत्पादन हुने रायो, गाँजर, काउली र बन्दाको बीउ तथा बेर्ना ल्याएर खुला खेती गराएका छौं । फापर, उवा जस्ता रैथाने अन्नबाली संरक्षण गर्न पनि अहिल्यैदेखि सचेत बनेका छौं ।’
कात्तिकदेखि चैतसम्म बाक्लो हिउँले ढाक्ने यो क्षेत्रमा फागुनदेखि असोजसम्मको मौसम मात्र खेतीपातीका लागि उपयुक्त हो । तर अचेल हिउँदमा हिउँ नै नपर्ने वा पर्दा पनि सामान्य पर्न थालेको छ । वर्षा हुने क्रम बढेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुक्साङकी ४५ वर्षीया छिमी गुरुङले पहिलो पटक आफ्नै बारीमा काँक्रो, करेला, भिन्डी र लौका फलाएकी छन् । ‘काँक्रो, करेला त फल्ला भन्ने लागेकै थिएन, वैशाखमा रोपेको भदौमा राम्रो फल्यो, असोजसम्मै रह्यो,’ उनले भनिन् ।
‘जलवायु परिवर्तनका अनेक प्रभावमध्ये क्लाइमेट जोन सिफ्टिङ (बाली हुने क्षेत्र बिस्तारै माथि सर्दै जानेक्रम) धेरै देखिन थालेको छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमन्थाङ कार्यालय प्रमुख उमेश पौडेल भन्छन्, ‘तरकारी बाली मात्र होइन, मुस्ताङमै तल्लो क्षेत्रमा मात्र फल्ने स्याउ अहिले माथिल्लो मुस्ताङको लोमन्थाङसम्म उक्लेको छ । सँगसँगै हिमाली भेगमा फलफूल र अन्नबालीमा रोग, किरा देखिन थालेका छन्, पहिला देखिँदैनथ्यो ।’
