कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुसी सेनामा कार्यरत टीकापुरका भरत शाहको मृत्यु

परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई ‌औपचारिक रुपमा जानकारी दिइसकेको छैन । परिवारजनले रुसी सेनामै कार्यरत शाहका साथी मार्फत् मृत्युको खबर पाएका हुन् ।
अर्जुन शाह

धनगढी — तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ । परिवारले शुक्रबार उनको मृत्यु भएको खबर पाएका हुन् ।

रुसी सेनामा कार्यरत टीकापुरका भरत शाहको मृत्यु

मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् ।

भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई ‌औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।

मृतक शाहका भाई मंगल शाहले भने, ‘उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएका हौं । शव आउने /नआउनेसमेत टुंगो नभएपछि आइतबार परम्परा अनुसार अन्तिम संस्कार गरेका हौं ।’

सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । दुबईमा उनी गार्डको काम गर्थे । भाई मंगल शाहकाअनुसार दुबईमा पनि राम्रै तलब थियो । तर उनी तीन महिना अघि रुसी सेनामा भर्ना भएका थिए ।

नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मी कञ्चनपुरका रविन थापाले पठाएको शाहले बताए । ‘उनीसँग कुराकानी नभएको तीन हप्ता भइसकेको थियो, एक्कासी यस्तो खबर आयो,’ मंगलले भने ।

मृतक भरत घरका माइला हुन् । उनका कान्छा भाई मोहन मलेसियामा छन् भने दाजु उत्तम रोमानिया छन् । मृतक शाहका श्रीमति, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको मंगलले बताए । शाहको परिवार अछामको बान्नीगढी जयगढ नगरपालिका ६ दर्नाबाट टीकापुर बसाई सरेको हो ।

प्रकाशित : पुस १, २०८० १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौंका खोला किनारमा थप २० मिटर खाली गराउने सर्वोच्च अदालतको आदेशलाई लिएर भइरहेको बहस र विवादबारे तपाईं के भन्नुहुन्छ?

x
×