२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

जसपामा विवाद चर्कियो, सप्तरी र पर्सामा समानान्तर समिति गठन

असन्तुष्ट समूहको नेतृत्व रेणु यादव, प्रदीप यादव र शैलेन्द्र साह लगायतका नेताले गर्दै
अवधेशकुमार झा

राजविराज — जनता समाजवादी पार्टी (जसपा) नेपालका भित्र आन्तरिक विवाद चर्किएको छ । नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै सप्तरी र पर्सामा समानान्तर जिल्ला समिति गठन भएका छन् ।

जसपामा विवाद चर्कियो, सप्तरी र पर्सामा समानान्तर समिति गठन

पार्टीमा स्वेच्छाचारी प्रवृत्ति बढ्दै गएको, त्यागी नेता कार्यकर्ताहरू अवमूल्यन हुँदै गएको, पार्टी र संगठनका लागि मरिमेटने कार्यकर्ताहरुलाई पाखा लगाउने कार्य भएको, केही सीमित व्यक्तिको कुरा सुनेर पार्टी अध्यक्षले निर्णय गर्ने गरेको आरोप असन्तुष्ट समूहको छ ।

उनीहरूले पार्टीका संघर्षशील कार्यकर्ताहरू आन्दोलनमा रहँदा अन्य पार्टीमा लागेकाहरू अहिले आएर पार्टीमा हाबी भएको, कारबाही गर्ने नाममा पार्टीमा योगदान गरेकाहरूलाई पाखा लगाउने कार्यहरू भइरहेको, पार्टीका नेताहरूले कार्यकर्ताहरूको संरक्षण गर्न नसकेको आरोपसमेत लगाएका छन् । असन्तुष्ट समूहको नेतृत्व पार्टी केन्द्रीय नेताहरु रेणुकुमारी यादव, प्रदीप यादव, शैलेन्द्रप्रसाद साह, प्रदेश नेता शम्भू झा लगायतकाले गरिरहेका छन् ।

जसपाका असन्तुष्ट कार्यकर्ताहरुले बुधबार सप्तरीको राजविराजमा समानान्तर जिल्ला समितिको घोषणा गरेका छन् । पार्टीका जिल्ला समिति उपाध्यक्ष उमेश यादवको अध्यक्षतामा ५७ सदस्यीय समानान्तर जिल्ला समिति गठनको घोषणा गरेका छन् ।

जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यकर्ता भेलामा पार्टीको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष पूर्वमन्त्री रेणुकुमारी यादव, मधेश प्रदेश सरकारका पूर्वमन्त्री शैलेन्द्रप्रसाद साह, केन्द्रीय सदस्यहरु जगदेव यादव, चितनारायण यादव, भिमराज यादव, पार्टीका प्रदेश नेता शम्भू झासहितका नेताहरुको उपस्थितिमा समानान्तर जिल्ला समिति घोषणा गरिएको हो । सप्तरीमा केदार यादवको नेतृत्वमा जसपा नेपालको जिल्ला समितिसमेत रहेको छ ।

डेढ महिनाअघि पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादव लगायतका नेताको उपस्थितिमा पर्सा जिल्लामा पनि बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन साह तेलीको अध्यक्षतामा नयाँ जिल्ला समिति घोषणा गरिएको थियो ।

‘चार वर्षदेखि तदर्थ समितिकै भरमा जिल्ला समिति चलिईरहेकोले जिल्ला कमिटीको बहुमत सदस्यहरुको निर्णय गरी सिंहासन साह तेलीलाई अध्यक्ष चयन गरेको हो’ नेता प्रदीप यादवले भने, ‘कुनै पनि हिसावले एकवर्ष भन्दा बढी समय सम्म तदर्थ समिति रहनु हुँदैन,’ उनले भने, ‘पार्टीका नेता कार्यकर्तामा नैराश्यता बढदै गयो, पार्टी छोडेर अन्य पार्टीमा जान थालेका थिए, पार्टीका बहुमत सदस्यले निर्णय गरेर अध्यक्ष चयन गरेको हो ।’ पर्सामा रामनरेश यादवको अध्यक्षतामा जसपा जिल्ला समिति छ ।

बुधबार राजविराजमा आयोजित कार्यक्रममा पार्टी कार्यकारिणी सदस्य रेणुकुमारी यादवले घोषित समानान्तर समिति नै आधिकारिक भएको बताइन् । उनले भनिन्, ‘पार्टीको गाउँ र नगर कमिटीका अधिकांस साथीहरु, जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु, पार्टीबाट निर्वाचन लडेकाहरुले बनाएको जिल्ला समिति नै आधिकारिक हो, पार्टीलाई भड्खालोमा डुबाउनेहरुबाट अब नेतृत्व सम्भव छैन ।’

‘पार्टीमा गणेश प्रवृत्ति हावी भयो,’ जसपा सप्तरीका नेता एवं बलान बिहुल गाउँपालिकाका पूर्वअध्यक्ष दयानन्द गोइतले भने, ‘केन्द्रीय मूल नेतृत्वले पनि त्यही गणेश प्रवृतिहरूको कुरा सुनेर इमान्दार कार्यकर्तालाई पाखा लगाउने कार्य गरे ।’

अनुभवहिन र पार्टी संचालनको ज्ञान नभएकाहरु जिल्लाको नेतृत्वमा रहेका कारण पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधिसभा निर्वाचनमा सप्तरीबाट पराजय भोग्नुपरेको हो,’ जसपा प्रदेश उपाध्यक्ष रहिसकेका शम्भु झाले भने, ‘अझै पनि ती अनुभवहीनलाई बोक्दै हिँडने हो भने पार्टीलाई डुबाउने निश्चित देखिएपछि जिल्ला समिति पुनर्गठन गरी नयाँ शिराबाट पार्टी संगठनलाई अगाडि बढाउने जमर्को हामीले गरेका हौं ।’

जसपा नेपालका केन्द्रीय प्रवक्ता मनिषकुमार सुमनले पार्टीको संगठनमा केही जिल्लामा अन्तरसंघर्ष देखिएको स्वीकार गरे । उनले भने, ‘पर्सामा हाम्रो अध्यक्ष रामनरेश यादव र सप्तरीमा केदार यादव नै अध्यक्ष हुन् तर जिल्ला तहमा केही अन्तरसंघर्ष देखिएको छ ।’

उनले पछिल्लो अन्तरसंघर्ष पार्टी केन्द्रीय नेतृत्वका विरुद्ध नभई जिल्ला र प्रदेशस्तरीय नेताकाबीच रहेको दाबी गरे । यद्यपि बुधबार राजविराजमा भएको समानान्तर जिल्ला समिति घोषणा कार्यकर्ता भेलाका वक्ताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको समेत आलोचना गरे ।

तीन दिनदेखि पार्टीको प्रशिक्षण कार्यक्रममा सिरहाको लहानमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादव बुधबार दिउँसो राजविराज आएका छन् । उनी राजविराज आएको केही घण्टामै पार्टीको सामानान्तर जिल्ला समिति घोषणा भएको हो । जसपाका असन्तुष्ट नेताहरुले मधेश प्रदेशसहित अन्य प्रदेशमा पनि अब सामानान्तर जिल्ला समिति गठन गरी पार्टी संगठनलाई अगाडि बढाउने बताएका छन् ।

प्रकाशित : कार्तिक २३, २०८० १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?