कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरिया छाडेर अनाथालयमा सेवा

शिव पुरी

रौतहट — एकाबिहानै बालबालिकाहरू एकअर्कालाई ब्युँझाउँछन् । केहीबेरमै नजिकै रहेको मन्दिरमा प्रार्थना गर्न पुग्छन् । अनि प्रार्थनापछि सुरु हुन्छ उनीहरूको दिन । रौतहटको गरुडा–४ स्थित वंशीराम जयसवाल अनाथालयको दैनिकी हो यो । 

कोरिया छाडेर अनाथालयमा सेवा

पछिल्लो समय यो अनाथालयसँग जोडिन पुगेका छन्, जितपुरसिमरा उपमहानगरपालिकाका ३८ वर्षीय कृष्णकुमार सिंह । सिंह कोरियाको राजधानी सोलस्थित ध्यान केन्द्रमा जागिर गर्थे । तलब आकर्षक थियो । जिन्दगी राम्रै चलिरहेको थियो ।

तर एक महिनाअघि अनाथालयका संस्थापक वंशीराम जैसवालले उनलाई अनाथालय रेखदेखका लागि आग्रह गरेपछि उनी नेपाल फर्केका हुन् । त्यसयता उनी टुहुरा बालबालिकाको साथी बनेका छन् । बिहान ५ बजेदेखि बेलुका बालबालिका नसुतुन्जेलसम्म उनी सँगै हुन्छन् ।

खासमा सिंह पनि यही अनाथालयमा हुर्केका हुन् । अनाथालयमै बसेर एसएली उत्तीर्ण गरेपछि उनी अध्ययनका लागि पहिले भारत र पछि कोरिया पुगे । सोलस्थित नेसनल विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर गरेपछि भारतीय दर्शन विषयमा त्यहीको डङगक विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका थिए ।

तर जैसवालको आग्रहपछि उनी आफ्नो बाल्यकाल सम्झेर नेपाल फर्किएका हुन् । अध्ययन बीचमै छाडेर आएका सिंह तीन सातायता अनाथालयका बालबालिका सेवामा छन् । एक दशक बढी समय कोरिया बसेका सिंहले अनाथालय सञ्चालन र टुहुरा बालबालिकाको सेवा गर्न पाउँदा आफूलाई भाग्यमानी सम्झन्छन् । ‘अनाथालयको सेवा मेरा लागि जीवनको महायज्ञ हो । मानव सेवाभन्दा ठूलो अरू कुनै सेवा हुन सक्दैन,’ उनले भने, ‘सबैको सहयोग प्राप्त गर्न महायज्ञमा होमिएको छु । अब यसैमा सारा जीवन अर्पण गर्छु ।’

कोरियाको सहज जीवन छाडेर बालबालिकाको सेवा गर्न यहाँ आएका सिंह परिस्थितिले दिएको विशेष जिम्मेवारी ठान्छन् । सिंह अनाथालयमा बसेर २०५७ सालमा गरुडा माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । साहित्य, संगीत र अध्यात्ममा रुचि राख्ने उनले भारतको बनारस विश्वविद्यालय काशी गएर संगीत/तबला विषयमा स्नातक गरे । र, नोयडास्थित गायत्री चेतना केन्द्रको सहप्रबन्धकका रूपमा केही समय काम गरे ।

उनी २०६८ सालतिर दक्षिण कोरिया पुगेका थिए । त्यहाँ बुद्ध दर्शनमा स्नातक गरेपछि स्नातकोत्तर र पीएचडीसम्मको अध्ययनको यात्रा तय गरेका हुन् । ‘कोरियामा दुई वर्ष त्यहाँको भाषा सिक्न लाग्यो । ४ वर्ष बौद्ध दर्शकको कोर्समै बित्यो,’ उनले भने । केही समययता अनाथालयको अवस्था नाजुक बन्दै थियो । संस्थापक जैसवाल वृद्धावस्थाको कारण अनाथालय सञ्चालनमा कठिनाइ हुँदै आयो । यही कारण आफूले सिंहलाई जिम्मेवारी सुम्पिन बोलाएको जैसवालले बताए ।

‘अब अनाथालयको सञ्चालन र रेखदेखको सम्पूर्ण जिम्मेवारी सिंहले नै सम्हाल्ने छन्,’ उनले भने । कोरिया हुँदा सिंहले आवश्यक परेका बेला अनाथालयलाई सहयोग रकम पठाउँथे । जन्म दिन, वैवाहिक वार्षिकोत्सव र चाडपर्वको अवसरमा मनकारीले अनाथालयमा पुगेर खाद्यान्न, रकम दिन्छन् । संघसस्थाले वार्षिकोत्सव अनाथालयमा मनाउने गरेका छन् । २०५१ सालमा वंशीरामले आफ्नै निजी जग्गामा अनाथालय सञ्चालनमा ल्याएका हुन् । अहिले अनाथालयमा ३ जना अपांगसहित २६ बालक र ३ बालिका छन् ।

अनाथालयमा मासिक एक लाख रुपैयाँभन्दा बढी खर्च हुने सिंहले सुनाए । दातासँगको समन्वय, विद्यालय व्यवस्थापन, बालबालिकाको रेखदेख र संस्थापक बुबाको सेवालगायतको काम सिंहले गर्न थालेका छन् । अनाथालयका नाममा एउटा ट्रक छ । त्यही ट्रकको आम्दानीले अनाथालयलाई केही राहत पुगेको छ । २०५५ सालतिर बाबु रामपुकार सिंह र आमा सावित्री देवीको मृत्युपछि उनी अनाथालय आइपुगेका थिए । त्यस बेला उनी १३ वर्षका थिए ।

प्रकाशित : जेष्ठ २५, २०८० ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?