३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘हामी कुराकानी गर्दै सँगै जोमसोमका लागि उडेका थियौं‌’

अभिनन्दन खड्का

तारा एयर र हाम्रो (समिट एयर) जहाज पोखराबाट आज बिहान सँगसँगै जस्तो उडेको थियो । म समिट एयरको लेट विमान उडाउँदै अघि-अघि थिएँ । प्रभाकार सर (तारा एयरका क्याप्टेन) मेरो पछिपछि आइरहनु भएको थियो ।

‘हामी कुराकानी गर्दै सँगै जोमसोमका लागि उडेका थियौं‌’

बिहान ९ बजेर ५२ मिनेटमा मेरो जहाज उड्यो । उहाँको ९: ५५ मा उड्यो । हामी एक–दुई मिनेटको अन्तरमा पोखरा विमानस्थलबाट जोमसोमका लागि यात्रु बोकेर उडेका थियौं । पोखराबाट जोमसोम लेट विमानका लागि १५ मिनेट र ट्विनअटर विमानका लागि १७ मिनेट हाराहारीको दुरीमा पर्छ ।

उहाँले उडाइरहेको क्यानेडियन जहाज ट्विनअटर । मैले उडाइरहेको जहाज चेक रिपब्लिकन लेट टर्बो । उहाँको जहाजको दाँजोमा मेरो जहाजको गति अलि बढी हुन्छ । तर पनि हाम्रो बाटोमा कुराकानी भइरहेको थियो । हामी टावरकै फ्रिक्वेन्सीमा कुराकानी गर्दै उडिरहेका थियौं ।

खासगरी हामी जोमसोम जाँदा १० हजार ५ सय फिट उचाइमा उड्छौ‌ं । तर आज तल फेदीमा बादल देखिएकाले हाम्रो जहाजलाई १२ हजार ५ सय फिट उचाइमा उडारहेका थियौं । सायद उहाँ पनि १२ हजार ५ सय फिट हाराहारी उचाइमै उडिरहनु भएको थियो ।

इनरुट (जहाज उड्ने बाटो) को मौसम सफा भएकाले हाम्रा दुवै जहाज भीएफआर (भिजुअल फ्लाइट रुल्स) हेरेर जहाज उडाउने विधि अनुसारै उडिरहेका थिए ।

पोखराबाट उडेपछि म्याग्दीको घोडेपानीसम्म पोखरा टावरको सम्पर्कमा जहाज हुन्छन् । त्यसपछि हामी पोखरा टावरको सम्पर्कबाट अलगिन्छौं ।

घोडेपानीदेखि मुस्ताङको लेतेसम्मको आकासमा उड्दा जहाजहरु न त पोखरा र न त जोमसोमको टावरको सम्पर्कमा हुन्छन् । लेते नाघिसकेपछि मुस्ताङको टुकुचेपछि हामी जोमसोम टावरको सम्पर्कमा जोडिन्छौं ।

आज म जोमसोम विमानस्थल नजिकै पुग्दा प्रभाकर सरको जोमसोम टावरसँग कुरा भएको थियो । म अवतरणका लागि तयार भएँ । उड्डयनको भाषामा यसलाई ‘फाइनल पोजिसन’ भनिन्छ । मेरो जहाज अवतरण भयो । केही मिनेटमै मेरो पछिपछि आइरहेको ताराको जहाज जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने । तर भएन ।

यदि मौसम राम्रो नभइदिएको भए वा मैले अगाडि नदेखेको भए सायद म फर्किन्थें । तर मौसम ठिकै थियो । प्रभाकर सरलाई मैले ‘ट्रयाक मेन्टन गरेर अल्टिच्यूड मेन्टन गरेर म अगाडि देखिरहेको छु, अघि बढिरहेको छु’ भनेको थिएँ । हाम्रो जहाज फाइनलमा हुँदा उहाँले जोमसोम टावरसँग त्यहाँको मौसमको जानकारी माग्नु पनि भएको थियो ।

आइतबारका लागि जोमसोममा म दोस्रो र उहाँ तेस्रो उडानमा हुनुहुन्थ्यो । हामी दुई आउनुअघि मेरै कम्पनीको अर्को जहाज अल्फा किलो जुलु जोमसोम आइ पोखरा फर्किसकेको थियो ।

शनिबार पनि हामीसँगसँगै थियौं । उहाँले जोमसोमका लागि चारवटा उडान गर्नुभएको थियो । मैले पनि चारवटै उडान गरेर १२ बजेपछि क्रू–क्याम्प फर्केको थिएँ ।

ताराको जहाज हराएपछि यता जोमसोमको माहोल बिग्रिएको छ । सायद आज हामी अब पोखरा फर्किदैनौं ।

(जोमसोममा आइतबार दोस्रो अवतरण गरेका समिटका क्याप्टेन अभिनन्दन खड्कासँग कान्तिपुर संवाददाता सुरज कुँवर ले गरेको कुराकानीमा आधारित )

प्रकाशित : जेष्ठ १५, २०७९ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?