कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जाडोमा झन्झन् हिमालतिर

धेरै घाँस चाहिने भएकाले लेकाली चरन खोज्दै सर्दै छन् चौंरी गोठ
घनश्याम खड्का

म्याग्दी — चिसो बढेसँगै उपल्लो मुस्ताङी जाडो छल्न बेंसी झरेका छन् । सामान्यतया हिउँदका चिसा दिनमा हिमाली बस्तीबाट मान्छे मात्र होइन चरन खर्कमा लगिएका भेडा र चौंरीगोठलाई तल्लो बस्ती वरपर न्यानो क्षेत्रमा ओर्लन्छन् । तर मुस्ताङको उपल्लो भेग लोमान्थाङका गोठाला भने झन् माथि र टाढाको चरन क्षेत्रतिर लाग्दैछन् ।

जाडोमा झन्झन् हिमालतिर

हिउँदका चार महिना उपल्लो भेगका चौंरीगोठ हिमालपारिको केक्याम उपत्यकाको चरन क्षेत्रमा लग्ने गर्छन् । केक्याम लोमान्थाङबाट चुम्जुङ गाउँ हुँदै दक्षिण डोल्पा जाने बाटोमा छ । पारिलो रहेको केक्याप चरन उपत्यका पुग्न लोमान्थाङबाट तीन दिन लाग्छ ।

हिउँदको चिसो र हिउँले ढाकिने मौसममा चौंरी धपाउँदै छोसेर, चुम्जुङ, छोन्हुप र लोमान्थाङ क्षेत्रका चौंरीगोठ भने झन् माथिको केक्याप चरन उपत्यका पुगेका छन् । चार महिनालाई पुग्ने खर्च (रासन) बोकेर चौंरीगाई धपाउँदै केक्याप पुग्ने १२ गोठालामध्येका एक हुन्, लोमान्थाङ गाउँपालिका–४ चुम्जुङका शरदसिं घ्याप्चो गुरुङ । ‘बर्खाभरि चौंरी, भेडा, घोडा, खच्चड चर्ने हिमालवारिका चरन क्षेत्र हिउँदमा बाक्लो हिउँले ढाक्छ,’ उनले भने, ‘भेडा, च्याङ्ग्रा, घोडा हिउँमा टाढा चरनमा जान सक्दैनन् । चौंरीलाई धेरै घाँस चाहिन्छ, घरको घाँसले पुग्दैन । त्यसैले चौंरीलाई हिउँदमा धेरै टाढा र झन् माथिको चरनमा लग्नुपरेको हो ।’ माथि केक्याम्पको चरन क्षेत्र फराकिलो, बर्खाभरिको घाँस संग्रह हुने र हिउँ पनि यताभन्दा उता छिटो पग्लिने उनले बताए । पारिलो क्षेत्र भएकाले छिटो हिउँ पग्लने भएकाले चौरीलाई चरन तयार भइरहन्छ ।

तस्बिर सौजन्य : पेमा गुरुङ

त्यसैगरी उपल्लो मुस्ताङका चौंरी गोठ झन् माथि उकालिएको भए पनि तल्लो भेगका चौंरीलाई भने तल पहाडको फेदीमा ओरालिएको छ । नीलगिरि साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मुलीखर्क, टुक्चेपिकमुनिको बतासे र अन्नपूर्ण साउथमुनिको खोप्रा–खयर लेकका चौंरीलाई तुलनात्मक न्यानो क्षेत्रमा झारिएको हो ।

‘हिमालमुनि अब बाक्लो हिउँ पर्छ, तीन/चार महिनासम्मै पग्लँदैन । त्यसैले चौंरीलाई न्यानो र चरन क्षेत्र भएको पहाडका फेदीमा झारेका छौं,’ थासाङ गाउँपालिका–४ कोवाङका गौतम शेरचनले भने, ‘केही दिनअघिको हिमपहिरोले पनि तर्सायो । माथि हिउँ पनि पर्ने बेला भएकाले तल बस्ती वरपरको जंगलमा चौंरी झारेका छौं । अब घरबाटै रेखदेख गर्न पनि सकिन्छ ।’

मुली, बतासे क्षेत्रका चौंरी तल नाउरीकोट, बोक्सीखोला क्षेत्रमा झारिएको छ भने नीलगिरि फेदीका चौंरी तल चोखोपानी, सौरु, टिटी र अन्नपूर्णको खोप्राका चौंरी तल लरेनी क्षेत्रमा ओरालिएको छ । अब चौंरी वैशाखपछि मात्र माथि बुकीमा पठाइने किसानले बताए । ‘अहिले तल फेदी झारिएका चौंरी अब वैशाख पहिलो साता लेकतिर पठाइन्छ,’ अर्का कृषक सकेन्द्र गौचनले भने, ‘तल्लो क्षेत्रका चरन पर्ने ठाउँ वन समूहले संरक्षण भनेर गोठ लैजान रोक्न थालेपछि चौंरी पाल्न समस्या हुन थालेको छ ।’

प्रकाशित : मंसिर ६, २०७८ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?