काबुलमा अलपत्र ३४ नेपालीलाई सोमबार मात्र उद्धार गरिने 

आश्विन २, २०७८

राजेश मिश्र

नयाँदिल्ली — दुबईमा अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी नियमका कारण शनिबार अफगानिस्तानबाट उद्धार गर्ने भनिएका ३४ जना नेपालीको काठमाडौं यात्रा रोकिएको छ । 

विभिन्न माध्यमबाट अवैधानिक तरिकाले रोजगारीका लागि काबुल पुगेका र अहिले त्यहाँ अलपत्र बन्न पुगेका ३४ जना नेपाली दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा छन् । दूतावासले उनीहरूलाई नेपाल फर्काउन लगातार प्रयास गरिरहेको छ । ती नेपाली यूएन एजेन्सीलाई सुरक्षाकर्मी परिचालन गर्ने आईडीजी नामक संस्थाको सम्पर्कमा छन् । यूएन एजेन्सीमा कार्यरत ८५ जनालाई बिदामा नेपाल पठाउन आईडीजीले चार्टर्ड फ्लाइटको व्यवस्था गरेको थियो । त्यही फ्लाइटमा थप ३४ जनाको उद्धार गरिदिन दिल्ली दूतावासले विभिन्न एजेन्सीहरूसँग समन्वय गर्दै आएको छ ।

शनिबारका लागि तोकिएको फ्लाइटको रुट काबुलबाट तेहरान र दुबई हुँदै काठमाडौंको थियो । कोभिडविरुद्धको सम्पूर्ण खोप नलगाएकालाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने दुबईको नियमका कारण त्यस रुटबाट आउन झन्झटिलो हुन पुगेको दिल्ली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले बताए । ‘काबुलबाट शनिबार उड्नका लागि तयारी पूरा भएको थियो तर कोभिडको प्रोटोकल पूरा गर्दा झन्झटिलो भएछ,’ उनले भने, ‘त्यही भएर आजको उडान कार्यक्रम स्थगित हुन पुग्यो ।’ उनका अनुसार बिदामा आउने ८५ र अन्य ३४ जना अब सेप्टेम्बर २० तारिखमा काबुलबाट उड्ने छन् । उनीहरूलाई चार्टर्ड फ्लाइटले काबुलबाट तेहरान हुँदै काठमाडौं पुर्‍याउने तयारी रहेको उनले बताए । 

विभिन्न मित्रराष्ट्रको सहयोगमा अफगानिस्तानबाट ९ सय ४० नेपालीको उद्धार भइसकेको छ । अवैधानिक तरिकाले पुगेकामध्ये सम्पर्कमा आएका ३४ जनाको अहिले उद्धार हुन लागेको हो । उनीहरू रोजगारीसमेत नपाएर समस्या परेका थिए ।

राजेश

Link copied successfully