म्याग्दीमा पहिरोले गुर्जा खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

घनश्याम खड्का

म्याग्दी — धवालागिरी गाउँपालिका वडा नम्बर १ र ४को बीचमा पर्ने खास्का भन्‍ने स्थानामा पहिरो जाँदा शनिबार बिहानदेखि गुर्जाखोला थुनिएको स्थानीयले बताएका छन् । खोला थुनिएको स्थान गुर्जा गाउँदेखि कम्तीमा २ घन्टा तल पर्छ ।


पहिरोले खोला थुनिएपछि बनेको तालमाथिबाट शनिबार साँझदेखि पानी ओभर फ्लो भएर बग्‍न थालेको वडा नम्बर १ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । चुरेन र गुर्जा हिमालबाट झर्ने गुर्जा खोला थुनिएपछि साँझ ७ बजेदेखि ओभर फ्लो भएर बग्न थालेको आफूलाई गोठालाहरुले जानकारी दिएको वडाध्यक्ष छन्त्यालले बताए ।

‘गोठालाहरुले पहिरो गै गुर्जााखोला थुनिएर ताल परेको र शनिबारसाँझ ७ बजेबाट बग्न थालेको भनेका छन् । पहिरो गएको क्षेत्रमा गुर्जाबासीको घुम्ती खेतीको मकै बाली रहेको र मकै बालीसँगै रहेका गोठालाले खबर गरेका हुन् । पहिरो गएको स्थान धेरै खोंचमा रहेकोले थुनिएको खोलाबाट कसरी पानी बग्न भन्न सकिन्नँ ।’ थुनिएको खोला फुटेमा म्याग्दीखोला तटीय क्षेत्रमा जोखिममा पर्ने उनले बताए ।

पहिरो क्षेत्र मानव बस्तीदेखि धेरै टाढा जंगलमा पर्ने भएकोले पहिरो कति बेला गएको र कति पानी थुनिएको भन्ने खुलेको छैन । गुर्जा खोला म्याग्दी नदीको मुख्य एक सहायक नदीमध्येको एक हो । थुनिएको गुर्जाखोलाको पानी फुटेर बाढी आएमा धवलागिरी गाउँपालिकाको खाम्ला हुँदै मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार भएर बेनीसम्मका बस्तीमा क्षति पुर्‍याउन सक्छ ।

‘गुर्जाबाट वडाध्यक्षले पहिरोले गुर्जाखोला थुनिएको खबर गर्नु भएको छ । बस्तीदेखि धेरै टाढा भएकोले पहिरोको यकिन विवरण नआएपनि तटीय बस्तीमा सतर्कता गराइएको छ,’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘हामी पनि उच्च सर्तक अवस्थामा रहेका छौं ।’

प्रकाशित : श्रावण ९, २०७८ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्

'युथफोर्स' काठमाडौं भ्याली कमाण्ड घोषणा

इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा (एमाले) को ओली पक्षीय युवा संघले 'युथफोर्स' काठमाडौं भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच एमाले महासचिव ईश्वर पोखरेलले युथ फोर्सका सेन्ट्रल कमान्डका सहकमान्डर पुष्पराज श्रेष्ठको अध्यक्षतामा ११ सय १ सदस्यीय भ्याली कमाण्ड घोषणा गरेका हुन् ।

कमिटी घोषणा कार्यक्रमअघि युवा संघले काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निकालेको थियो । एमाले विवाद जारी रहेकोले यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि अखिल फोर्सको गठन गरेको थियो ।

पार्टीमा अन्तरविरोधका कारण ओली-नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिइरहेका छन् ।

युथ फोर्स सेन्ट्रल कमान्डका संयोजक क्षितिज थेबेले समाज परिवर्तन र सरकारलाई खबरदारी गर्नका लागि युथ फोर्स गठन गरिएको बताए । युथ फोर्सले पार्टी एकता अभियानको पहल र स्वागत गर्ने उनको भनाइ थियो ।

प्रकाशित : श्रावण ९, २०७८ २०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×