२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नेकपाका दुवै समूहको कांग्रेसलाई अफर– प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री

मुख्यमन्त्री भागबन्डा गरेर गठबन्धन बनाउन औपचारिक प्रस्ताव गरिए पनि कांग्रेसले निर्णय गर्न सकेन

काठमाडौँ — प्रदेश सरकार फेरबदलको कसरत चलिरहेका बेला नेकपाका दुवै समूहले कांग्रेसलाई प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री दिन सकिने भन्दै गठबन्धनको अफर गरेका छन् । नेकपाका दुवै समूहले मुख्यमन्त्री भागबन्डा गरेर गठबन्धन गर्न औपचारिक प्रस्ताव गरे पनि कांग्रेसले नेताहरूबीच सहमति नहुँदा निर्णय गर्न सकेको छैन ।

नेकपाका दुवै समूहको कांग्रेसलाई अफर– प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री

नेकपाको केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीलाई हटाउन प्रदेश १ र वाग्मतीमा नेकपाकै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएपछि दुवै पक्षले कांग्रेसलाई मनाउने कसरत जारी राखेका छन् । दाहाल–नेपाल समूह दुइटा प्रदेशमध्ये एउटामा कांग्रेसलाई मुख्यमन्त्री दिन तयार भएपछि ओली समूहले पनि त्यस्तै ‘ग्रिनसिग्नल’ दिएको छ । दुवै समूहको प्रस्तावमा कारण कांग्रेसमै अन्योल खडा भएको छ ।

सभापति शेरबहादुर देउवाले दाहाल–नेपाल समूहसँगभन्दा ओली नेतृत्वको नेकपासँग गठबन्धन बनाउन चाहिरहेकाले कांग्रेसले औपचारिक निर्णय लिन सकेको छैन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइरालासहितका संस्थापनइतरका नेताहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनेर विरोध प्रदर्शन गरिरहेकै बेला उक्त समूहसँगै गठबन्धन गर्दा राम्रो सन्देश नजाने बताउँदै आएका छन् । सभापति देउवा सोमबार कांग्रेसका वरिष्ठ नेता पौडेलसँग प्रदेश सरकारलगायतका मुद्दामा समझदारी जुटाउन बोहराटारस्थित उनकै निवास पुगेका थिए । पौडेलसहितको संस्थापन इतर पक्षले ओलीभन्दा दाहाल–नेपाल समूहसँगको गठबन्धन प्राकृतिक हुने बताउँदै आएको छ । शक्तिमा रहेका ओलीभन्दा दाहाल–नेपाल समूहसँग मिल्दा पार्टीका लागि पनि बढी लाभ हुने बुझाइ संस्थापनइतर नेताहरूको छ ।

महामन्त्री कोइरालाले नेकपाभित्र ओली समूह बलियो भएकाले पनि दाहाल–नेपाल समूहसँगकै गठबन्धनमा जानुपर्ने आफूहरूको सुझाव रहेको बताए । पुस २४ र माघ २ मा सभापतिसँग भएका भेटमा पनि आफूले त्यहीं सुझाव दिएको उनले जानकारी दिए । ‘प्रदेश सरकार गठबन्धन र पार्टी महाधिवेशनको प्रक्रियाका लागि अड्किएका विषयमा छलफल गर्न सभापतिजीले बोलाउनुभएकाले म निवासमै गएको हुँ,’ कोइरालाले भने, ‘सभापतिजीको झुकाव ओलीजीसँग भएको हो कि जस्तो देखियो । हामीले प्रदेश सरकारमा गठबन्धन गर्ने विषयमा दाहाल–नेपाल समूहसँग मिल्नुपर्छ भन्यौं ।’ सोमबार आफ्नै निवासमा आएका सभापति देउवालाई वरिष्ठ नेता पौडेलले पनि यही सुझाएका थिए ।

दाहाल–नेपाल समूहका नेताहरूसँग कांग्रेसका दोस्रो पुस्ताका नेताहरूले प्रदेश सरकारका विषयमा अनौपचारिक छलफल गरिरहेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार वाग्मती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिएर प्रदेश सरकारमा दाहाल–नेपाल समूहसँग गठबन्धन गर्नेबारे छलफल केन्द्रित भएको छ । कांग्रेसले प्रदेश १ भन्दा वाग्मती प्रदेशको मुख्यमन्त्री चाहेको छ । संसदीय दलका नेता इन्द्र बानियाँ सभापति देउवानिकट हुन् । उनलाई मुख्यमन्त्री बनाउँदा देउवा पनि खुसी हुने र दाहाल–नेपालको गठबन्धन पनि बन्ने बुझाइ संस्थापन इतरपक्षीय नेताहरूमा छ ।

दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले दुईवटा प्रदेश सरकार निर्माणका विषयमा कांग्रेससँग छलफल चलिरहेको बताए । ‘मुख्यमन्त्रीकै विषयमा कुरा पुगिसकेको छैन । अहिले छलफलकै चरणमा छौं । कांग्रेसलाई सहयोग गर्नुहोस् भनेका छौं । कुरा टुंगिसकेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘कांग्रेसको प्रस्ताव कस्तो आउँछ हेरौं । कांग्रेसले ल्याउने प्रस्तावमा छलफल गर्न खुला छौं ।’

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने नेकपाभित्र सांसदहरू तानातान गर्ने क्रम भइरहेका बेला कांग्रेसले अहिल्यै निर्णय लिन उपयुक्त नहुने बताए । नेकपाका दुवै पक्षले मुख्यमन्त्री दिन सक्ने संकेत गर्दै उनले मतदानको बेला आएपछि मात्रै कांग्रेसले निर्णय लिने जानकारी दिए । महामन्त्री कोइरालाले भने सभापति देउवाले समझदारी जुटाउन चाहिरहेकाले केही दिनमा निर्णय हुन सक्ने बताए ।

प्रकाशित : माघ ७, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?