२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘मकुना’ नियन्त्रण गर्न बोलाइयो टोली

सुनसरी — मारिएका किसानको शव अस्पतालबाट उठाउनुअघि नै जंगली हात्तीलाई तह लगाउन दबाब बढेपछि सुनसरी प्रशासन कसरी नियन्त्रणमा लिने भन्ने दोधारमा छ । 'मकुना' भन्ने गरिएको कोसी टप्पु आसपासको क्षेत्रमा लामो समयदेखि देखिएको जंगली मत्ताको आक्रमणबाट सोमबार कोसी गाउँपालिका–६ का २८ वर्षीय प्रमोद यादवको मृत्यु भएको थियो ।

‘मकुना’ नियन्त्रण गर्न बोलाइयो टोली

पोस्टमार्टमका लागि ल्याइएको शव आफन्त र स्थानीयले उठाउनुअघि उक्त जंगली हात्तीलाई तह लगाउनुपर्ने माग उठेपछि मंगलबार सुनसरी प्रशासन दबाबमा परेको हो । कोसीटप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ । तीन वर्षको अवधिमा आरक्ष आसपासका मध्यवर्ती क्षेत्रमा बस्ने २३ जनालाई जंगली हात्तीले मारेको छ । आरक्षमा हात्तीसार छ । त्यसमा ढोई (पोथी हात्ती) पालिन्छन् । पोथी खोज्दै जंगली मत्ता (भाले हात्ती) का हूल आउँछन् । संसर्गको समयमा बस्ती पस्दा तिनले घर भत्काउने, अन्नपात नष्ट पार्ने र प्रतिकार गर्न खोज्ने मान्छेमाथि आक्रमण गर्छन् ।

आरक्ष आसपासको वन क्षेत्रमा हात्तीमा आहारा सुलभ छैन । त्यसैले जंगली हात्ती अन्न बालीमा पस्छन् । गत सोमबार मारिएका यादव बिहानै गहुँमा पानी लगाउन गएका थिए । बाक्लो कुहिरो लागेको थियो । नजिकै आएको ढिला थाहा पाउँदा मकुनाले आक्रमण गरेको थियो । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा सुनसरीको कोसी गाउँपालिका, बराह क्षेत्र नगरपालिका, सप्तरीको सप्तकोसी, कञ्चनरूप नगरपालिका र उदयपुरको बेलका नगरपालिका गरी तीन जिल्लाका पाँच स्थानीय तह छन् । एक दशकदेखि आरक्ष क्षेत्र आसपास देखिएको मकुना कोसीटप्पु छाडेर बाहिरिएको छैन ।

जंगली हात्तीको उपद्रोबाट हालसम्म सबैभन्दा बढी कोसी गाउँपालिकामा जनधनको क्षति भएको छ । ‘आरक्ष क्षेत्रबाट निस्केका अर्ना, हात्ती, बँदेलको आक्रणमा परेर बर्सेनि जनधनको क्षति भइरहेको छ, बढी दुःख मकुनाले दिएको छ,’ गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले भने, ‘नियन्त्रणका लागि हामीले सुनसरी जिल्ला प्रशासन र आरक्षलाई ज्ञापनपत्र दिएअनुसार मंगलबार सर्वपक्षीय भेला भयो । कानुनी प्रक्रिया अपनाएर मार्ने निष्कर्षमा पुगिएको छ ।’ मकुनालाई मार्नैपर्ने अवस्था भएको उनले बताए ।

‘मकुना हिंस्रक भएकैले कता कता जान्छ भनेर थाहा पाउन रेडियो कलरसमेत लगाइदिएका हुन्, त्यसको उपयोग हुन सकेन,’ उनले भने । केहीअघि बेहोस वा सुस्त बनाउने डार्ट विधिबाट नियन्त्रण गर्न खोजिएको थियो । तर उक्त विधि स्थायी नहुने भएकाले जनधनको क्षति हुनबाट जोगाउन मकुनालाई नियन्त्रण गर्नुपर्ने भएको उनले बताए ।

आरक्षका अनुसार कोसीटप्पु आरक्ष क्षेत्र आसपास मकुनासहित सातवटा हात्ती छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले मकुनालाई के गर्ने भन्ने प्राविधिक टोलीको परामर्शमा निर्भर रहेको बताए । ‘धेरै जनधनको क्षति गरिसकेकाले मकुनालाई जसरी पनि तह लगाउनैपर्ने माग छ । हामीले बैठक बसेर तह लगाउने निर्णय गर्‍यौं,’ उनले भने, ‘चितवनबाट हात्ती नियन्त्रण गर्ने प्राविधिक टोली बोलाएका छौं । उहाँहरूको सल्लाह जे हुन्छ, त्यही गरिने छ ।’ प्राविधिक टोलीले दिने सल्लाहमा मकुनालाई के गर्ने भन्ने टुंगो लाग्ने उनले बताए ।

‘वन्यजन्तु बुझेको प्राविधिक टोलीले हात्तीका बारेमा निर्णय लिने हो,’ उनले भने, ‘उहाँहरूले त्यो हात्तीले मानसिक सन्तुलन गुमाएको छ, नियन्त्रणका उपाय गर्न सकिँदैन भन्छ भने गर्न सकिने उपायका लागि कानुनबमोजिम गर्नुपर्छ ।’ प्राविधिक टोलीले गर्ने निर्णय सबैले मान्ने गरी सहमति बनेको उनले बताए ।

आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले धेरै क्षति पुर्‍याउँदै आएकाले मकुनालाई नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा दुई पटक पत्राचार गरिसकेको बताए ।

प्रकाशित : पुस १, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?