विपन्‍नले कसरी बाँच्‍ने ? महानगर भन्छ : ‘खुलामञ्‍चमा खाना नबाँड्नू’

अभियन्ता भन्छन् - ‘हामी सकेसम्म सफा गर्छौं, तैपनि हामीले खुवाउँदा फोहोर भएको छ भने अझ सफा गर्न तयार छौं तर खाना बाँड्नै बन्द गर भन्नुचाहिँ आपत्तिजनक हो ।’
गोकर्ण गौतम

काठमाडौँ — अभियन्ता बद्रीप्रसाद ढुंगाना स्वयंसेवकका साथ हरेक दिन दिउँसो २ बजे खुलामञ्च पुग्छन् । त्यहाँ भेला भएका झन्डै २ सय जनालाई निःशुल्क खाना वितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ भएका मजदुरको बाहुल्य हुन्छ । अशक्त र असहाय पनि हुन्छन् । 

विपन्‍नले कसरी बाँच्‍ने ? महानगर भन्छ : ‘खुलामञ्‍चमा खाना नबाँड्नू’

तर, सोमबार ढुंगानाको समूहले खाना वितरण गरिरहँदा अवरोध झेल्नुपर्‍यो । महानगर प्रहरीका सईको नेतृत्वमा आएका १० प्रहरीले खाना नबाँड्न उर्दी जारी गरेको उनले बताए । ‘मेयर सा’बको निर्देशन भन्दै हामीलाई खाना बाँड्न बन्द गर्न निर्देशन दिइयो । केही दिनअघि पनि अवरोध गरिएको थियो । तर हामी रोक्दैनौं,’ उनले भने ।

ढुंगानाले नेतृत्व गरिरहेको निःशुल्क खाना वितरण अभियानमा लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिन सिटी, मानवी क्रिएटिभ एसोसिएसन र सेभ एसोसिएसन नेपालले सहकार्य गरेका छन् । उनीहरूले खुलामञ्चमा खाना खुवाउन थालेको सोमबार ३७ दिन पुगेको छ । प्लेटमा दाल, भात, तरकारी र अचार खुवाउने गर्छन् । खाना खुवाउने ठाउँमा फोहोर नगरेको उनको दाबी छ । ‘हामी सकेसम्म सफा गर्छौं, तैपनि हामीले खुवाउँदा फोहोर भएको छ भने अझ सफा गर्न तयार छौं तर खाना बाँड्नै बन्द गर भन्नुचाहिँ आपत्तिजनक हो,’ ढुंगानाले कान्तिपुरसँग भने ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नागरिककै आग्रहमा निःशुल्क खाना वितरण रोक्ने निर्णय गरिएको बताए । लकडाउन खुलेपछि खुलामञ्चलगायत ठाउँमा मान्छेको आवतजावत बढेको, सवारीसाधन चल्न थालेको र बाहिर त्यतिकै खुवाउँदा शोभनीय नदेखिएकाले त्यस्ता ठाउँमा खाना वितरण रोक्नु आवश्यक भएको डंगोलको जिकिर छ । ‘खाना खाएर हात धुने ठाउँ छैन, शौचालय छैन, यत्रतत्र फोहोर गरेको छ, अरू मान्छेलाई हिँडडुलमा समस्या भएको छ । यो त ठीक भएन नि,’ उनी भन्छन्, ‘यस्तो अव्यवस्थित काम रोक्न नागरिकबाट व्यापक गुनासो आएको छ । हामीले नागरिककै आवाज सुनेका हौं ।’ लकडाउनका बेला सुनसान भएकाले खुलामञ्चलगायत खुलाक्षेत्र खाना खुवाउन ठिकै भए पनि अहिले उपयुक्त नभएको उनले बताए । कोरोना त्रास बढेसँगै गत चैत ११ गतेबाट देशव्यापी लकडाउन भयो ।

दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गरिरहेकाहरूलाई लकडाउनले आहत बनायो । बिहान–बेलुका छाक टार्नै धौधौ भएर छटपटिएकालाई राजधानीका खुलामञ्च, कालीमाटी, पशुपतिलगायत ठाउँमा मनकारीहरूले निःशुल्क खाना खुवाउन सुरु गरेका थिए, जुन अधिकांश क्षेत्रमा अझैं निरन्तर छ । चैत १४ गतेबाट हन्ड्रेड ग्रुपले यो पुण्यकर्म थालनी गरेको थियो । यसका संस्थापक बब्लु गुप्ताका अनुसार अहिले पनि पशुपति र खुलामञ्चमा दैनिक ४ सय जनालाई निःशुल्क खाना खुवाइन्छ । यसमा ‘हाम्रो सानो प्रयास’ लगायत अन्य अभियानले सहकार्य गरेका छन् । गुप्ताले पनि महानगरको निर्णयको विरोध गरे । ‘हामी दैनिक खुलामञ्च र पशुपतिमा खाना खुवाउँछौं, अहिलेसम्म महानगरपालिकाले रोकेको छैन,’ गुप्ताले भने, ‘तर, कतिपय साथीहरूलाई रोकेको र महानगरपालिकाले रोक्ने निर्णय गरेको भन्ने सुनें । हामी यसको प्रतिवाद गर्छौं ।’

हन्ड्रेड ग्रुपले खुलामञ्चमा बिहान ९ बजे र साँझ ४ बजे खाना खुवाउँछ भने पशुपतिमा साढे १२ बजे । यसका लागि समूहका झन्डै २० जना स्वयंसेवक खटिन्छन् । खानाको समस्या भएकाहरूको आग्रहमै निःशुल्क खाना वितरणलाई निरन्तरता दिइएको गुप्ताले बताए । ‘नागरिकहरू कति भोका छन् भनेर सडकमा आएर बुझ्नुपर्‍यो नि । खाना नबाँड्नु भनेर मात्र हुन्छ ?’ आक्रोशित हुँदै उनले भने, ‘जस्तोसुकै स्थितिमा पनि हामी खाना खुवाउन रोक्दैनौं । जसरी पनि खुवाउँछौं । प्रहरीले अवरोध गर्‍यो भने झडप नै हुन्छ ।’ खाना खुवाउने ठाउँमा फोहोर भए महानगरपालिकाले सफा गर्नुपर्ने उनको भनाइ छ । ‘आफैं खाना पनि नखुवाउने, फोहोर पनि सफा नगर्ने, महानगरको के काम ?’ उनको प्रश्न छ ।

महानगरपालिकाचाहिँ जसरी पनि निःशुल्क खाना वितरण रोक्ने तयारीमा छ । यो अभियानले आफ्नो आलोचना बढाएकाले मेयर विद्यासुन्दर शाक्य पहिल्यैबाट अनुदार रहँदै आएका छन् । यद्यपि प्रवक्ता डंगोलचाहिँ रोक्नभन्दा व्यवस्थित गर्न लागेको दाबी गर्छन् । महानगरले भोका नागरिकको वास्ता नगरेको भन्ने आरोपको उनले खण्डन गरे । उनका अनुसार लकडाउनको सुरुवाती महिनामा महानगरका सबै वडा कार्यालयले निःशुल्क खाना खुवाएका थिए । ‘मेरै १५ नम्बर वडामा दैनिक २ हजारलाई खाना खुवाएका थियौं तर नागरिकहरूले नै यसरी समूहमा खाना खुवाउन हुँदैन, संक्रमण बढ्छ भनेर गुनासो गरेपछि हामीले रोक्यौं,’ डंगोल भन्छन्, ‘नागरिकले माग गरे भने हामी फेरि खानाको व्यवस्थापन गर्न सक्छौं । तर, त्यस्तो माग भएको छैन ।’

निःशुल्क खाना वितरण गरिरहेका अभियन्ताहरूले महानगरलाई जस नदिएकोप्रति पनि उनले रोष पोखे । ‘अहिले महानगरले केही नगरेको, हामी मात्र सर्वेसर्वा हौं, हामीले मात्र भोकालाई खुवायौं भनेर हल्ला गरिरहेको छ, यो गलत हो ।’ उनको यही अभिव्यक्तिले निःशुल्क खाना वितरण रोक्ने निर्णय गर्नुपछाडिको महानगरको खास नियत झल्कन्छ । त्यसैले त लामो समयदेखि खाना खुवाइरहेका गुप्ता, ढुंगानालगायत अभियन्तासँग छलफल गर्न महानगरले आवश्यक ठानेन ।

बरु उल्टै डंगोलले अभियन्ताहरूलाई निहुँ नखोज्न, बरु आफूहरूसँग छलफलका लागि आउन आग्रह गरे । उनले खुला ठाउँभन्दा पार्टी प्यालेस उपयुक्त विकल्प हुने बताए । पार्टी प्यालेसहरू खाली भएकाले अभियन्ताहरूले चाहे महानगरले समन्वय गरिदिने उनको भनाइ छ । ‘हामीले निःशुल्क खाना खुवाउनै हुन्न, रोक्नैपर्छ भनेको होइन, व्यवस्थित गरौं भनेका हौं । तर, पहिले जहाँ खुवाएका हौं, त्यहीं खुवाउँछौं भनेर चल्दैन, समयअनुसार परिवर्तन हुनुपर्छ,’ डंगोलको प्रश्न छ, ‘निःशुल्क खुवाउने भन्दैमा विष्णुमतीको फोहोरको डंगुरमाथि खुवाएको ठीक हो त ? खाने र हेर्ने दुवैलाई सन्तोष हुनुपरेन ?’

प्रकाशित : कार्तिक १८, २०७७ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?