कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

दयाहाङ राई रेड पाण्डा संरक्षण दूत

अब्दुल्लाह मियाँ

काठमाडौँ — रेड पाण्डा नेटवर्कले कलाकार दयाहाङ राईलाई हाब्रे (रेड पाण्डा) संरक्षण दूत नियुक्त गरेको छ ।संरक्षण दूत नियुक्त भएसँगै कलाकार राई दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा) को संरक्षण र अवैध चोरीसिकारी विरुद्धमा जनचेतना जगाउने अभियानमा सहभागी हुनेछन् । 

दयाहाङ राई रेड पाण्डा संरक्षण दूत

‘हामी प्रसिद्ध कलाकार दयाहाङ राईसँग रेड पाण्डा संरक्षण कार्यमा सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित छौं’, रेड पाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफूरी शेर्पाले भनेका छन्, ‘यो सहकार्यको माध्यमबाट हाब्रे संरक्षणको अभियानमा सफल हुनेमा हामी विश्वस्त छौं ।’

राईले पनि हाब्रे संरक्षणमा सम्मिलित हुन पाएकामा उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘म पूर्वी नेपालको ग्रामीण परिवेशमा हुर्कें, मेरो बाल्यकाल प्रकृतिको सामिप्यतामा बित्यो तर मलाई हाम्रो क्षेत्र यति सुन्दर जनावरले सुशोभित छ भन्ने कुराको हेक्का कहिल्यै भएन’, उनले भने, ‘राष्ट्रको प्राकृतिक सम्पदाको रुपमा रहेको यो वन्यजन्तुको संरक्षणमा सहभागी हुन पाउँदा गौरवान्वित छु ।’

कलाकार दयाहाङ राई र रेडपाण्डा नेटवर्कका सोनाम टासी लामा ।तस्बिर : रशिक महर्जन/रेडपाण्डा नेटवर्क

राई नेपाली चलचित्रका स्थापित कलाकार छन् । उनका हाईवे र ह्वाइट सन अन्तर्राष्ट्रियस्तरसम्मै सफल चलचित्र हुन् । राईले दासढुंगा, सम्बोधन र कबड्डी कबड्डीका लागि तीनवटा राष्ट्रिय अवार्ड जितेका छन् ।

वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा हाब्रेको अनुसन्धानमा काम गर्दै आएको रेडपाण्डा नेटवर्कले पाँचथर–इलाम–ताप्लेजुङ भू–परिधि क्षेत्रका १० वटा हाब्रेको घाँटीमा जीपीएस स्याटेलाइट कलर जडान गरेर अध्ययन गरिरहेको छ ।


पूर्वी नेपालमा स्वचालित क्यामेरामा कैद भएको हाब्रे । तस्बिर: रेडपाण्डा नेटवर्क

वन तथा भू–संरक्षण विभागको वन्यजन्तु महाशाखाका प्रमुख सहसचिव देवेशमणी त्रिपाठीका अनुसार विभागको पहलमा पहिलो पटक हाब्रेको अनुसन्धानका लागि यसरी स्याटेलाइट कलर जडान गरिएको हो ।

संरक्षित सूचीको हाब्रेको संरक्षण गर्न सरकारले पाँच वर्षे (सन् २०१९–२०२३) कार्ययोजना बनाएको छ ।

प्रकाशित : आश्विन ३, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?