कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

विराटनगरमा कोरोनाबाट एक पुरुषको मृत्यु

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकाका कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर-५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै मोरङमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् । 

विराटनगरमा कोरोनाबाट एक पुरुषको मृत्यु

कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएको थियो ।

यसैबीच प्रदेश १ का मुख्य न्यायाधीवक्ता चूडामणि आचार्यसहित सोमबार विराटनगरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर-५ मा बस्दै आएका आचार्यका परिवारका अन्य दुई सदस्यमा समेत संक्रमण पुष्टि भएको हो ।

‘मुख्य न्यायाधिवक्ता आचार्यलाई यसअघि दुई दिन ज्वरो आएर निको भइसकेको थियो,’ विराटनगर महानगरका जनस्वास्थ्य महाशाखाका मोहोम्मद हैदर अलीले भने, ‘आचार्यलाई संक्रमणको स्रोत खुलेको छैन ।’ उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी हुँदै आएकाले प्रदेशका मन्त्रीलगायतका उच्च पदस्थ कर्मचारीहरुमा संक्रमणको जोखिम बढेको अलीको भनाई थियो ।

विराटनगरमा देखिएका संक्रमतिमध्ये न्यूरो अस्पतालका ३ जना नर्स र म्याक्स अस्पतालका एक जना कर्मचारी छन् । प्रदेश प्रहरी कार्यालयका थप ७ जनामा प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएको उनले बताए । यस्तै, कोशी अस्पतालमा कार्यरत थप २ जना स्वास्थ्यकर्मी र विराट मेडिकल कलेजमा कार्यरत एक जना र अन्य सर्वसाधारणमा कोरोना पुष्टि भएको अलीले बताए ।

यस्तै, रंगेली नगरपालिकामा पनि २२ जनामा कोरोना संक्रमण देखिएको छ । रंगेलीमा १३ पुरूष र ९ महिलामा संक्रमण देखिएको हो ।

विराटनगर महानगरमा हालसम्ममा १ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा ३१ जना निको भएर घर फर्किसकेको अलीले बताए । महानगरले समुदायमै संक्रमण फैलिसकेको भन्दै नियन्त्रणका लागि शुक्रबार मध्यरातिदेखि दुई साताका लागि लकडाउन गरेको छ । मोरङमा संक्रमितको संख्या ३ सय ७६ पुगेको छ जसमा २ सय १३ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : श्रावण १९, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?