१३ वर्षीया सुत्केरीलाई गाउँ प्रवेशमा निषेध

इज्जत जाने भन्दै गाउँ फर्किन नदिएपछि विभिन्न संघसंस्थाको सहयोगमा सुत्केरी बालिका, उनकी आमा र नवजात शिशुलाई बेंसीसहरमा डेरा खोजेर राखिएको छ । जबर्जस्ती करणीपश्चात् गर्भ रहेको भन्दै बालिकाले आफन्त पर्ने एक युवकविरुद्ध उजुरीसमेत दिएकी छन् ।
आश गुरुङ

लमजुङ — यहाँकी एक १३ वर्षीया बालिकाले गत साता शिशु जन्माइन् । बेंसीसहर नगरपालिकाकी ती बालिकाले चितवनको भरतपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माएकी हुन् । सानो उमेरकी भएकाले लमजुङ जिल्ला सामुदायिक अस्पतालबाट उनलाई भरतपुर पठाइएको थियो । ६ दिन अस्पताल बसेर फर्केकी उनलाई परिवार र गाउँलेले इज्जत नरहने भन्दै नआउन दबाब दिएपछि बेंसीसहरमा डेरा लिएर बस्न बाध्य भएकी छन् ।

यसै वर्ष मात्र कक्षा ८ उत्तीर्ण गरेकी बालिकाले आफ्नो जन्म मिति २०६४ भदौ २३ गते रहेको बताइन् । जन्मदर्ता र स्कुलमा पनि जन्ममिति यही रहेको उनको भनाइ छ । बालिकाकी आमाका अनुसार छोरीको पेट ठूलो हुँदै गएपछि वैशाख दोस्रो साता लमजुङ सामुदायिक अस्पतालमा परीक्षणका लागि आउँदा गर्भ रहेको थाहा भएको हो । त्यतिबेला असार ४ मा सुत्केरी हुने मिति तोकिए पनि २/४ दिन अगाडि अस्पताल आउन भनिएको थियो ।

सानो उमेरमै गर्भ रहेकामा नगरपालिका गएपछि आवश्यक कानुनी तथा उपचार प्रक्रियामा सहयोग पाइन्छ भनेको सुनेर उनीहरू जेठ २५ मा बेंसीसहर नगरपालिका आए । प्रमुख गुमानसिंह अर्याल र उपप्रमुख लक्ष्मीदेवी अधिकारीलाई पनि भेटे । सबै कुरा सुनाएर उनीहरू अस्पतालतर्फ लागे । ‘छोरीले पेट बोक्नै नसक्ने भएपछि बेंसीसहर आएका हौं । नगरपालिकामा जाँदा सहयोग हुन्छ भनेर उहाँहरूले भन्नुभयो । सामुदायिक अस्पतालले नसक्ने भन्दै भरतपुर पठायो,’ बालिकाकी आमाले भनिन्, ‘२५ गते आएका हामी भोलिपल्टै भरतपुर गयौं । छोरीको उमेरका कारण सहजै बच्चा जन्माउन सक्ने कुरा भएन । २७ गते अपरेसन गरेर बच्चा निकालियो ।’ अहिले बच्चा र आमा दुवैको स्वास्थ्य राम्रै भए पनि चिकित्सकलाई थप परीक्षण गराउन भने बाँकी रहेको उनको भनाइ छ ।

बेंसीसहर नगरपालिका, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) र मानवअधिकारवादी संस्था ‘इन्सेक’ का लमजुङका प्रतिनिधि दलबहादुर मजाकोटीको सहयोगमा बालिका, उनकी छोरी र आमा तीनै जना अहिले बेंसीसहरमा डेरा गरी बसेका छन् । उनीहरू जेठ ३२ मा बेंसीसहर फर्केका हुन् । ‘एम्बुलेन्सले ल्याएर बाटैमा झारिदियो । गाउँमा कसैले पनि आउन पाउँदैनौं भनेपछि हामी कहाँ जाने–जाने भयौं । कहाँ जाऊँ, के गरौं भइरहेका बेला प्रहरीले देखेर लग्यो,’ बालिकाकी आमाले भनिन्, ‘त्यसपछि डेरामा बसिरहेका छौं ।’

उनका अनुसार सुत्केरी छोरीलाई पौष्टिक आहार पनि चाहिँदो मात्रामा खुवाउन सकेकी छैनन् । इन्सेकका लमजुङ प्रतिनिधि मजाकोटीका अनुसार राष्ट्रिय मानवअधिकार आयोग र कोपिला नेपालको सहयोगमा पोखरास्थित कोपिला नेपालले नै सञ्चालन गरेको ‘सेफ होम’ मा बालिका र उनकी छोरीलाई पठाउने तयारी गरिएको छ । ‘बालिकाको उमेर सानै छ । सानै उमेरमा बच्चा जन्माएपछि समस्या हुने नै भयो । गाउँमा पनि नआओ भनेर दबाब दिएपछि समस्या भयो,’ उनले भने, ‘बालिका र उनको छोरीलाई पोखरा पठाएर बालिकाकी आमालाई गाउँ पठाउने प्रयासमा छौं ।’

जबर्जस्ती करणी ऐनअन्तर्गत उजुरी

१३ वर्षको उमेरमा आमा बनेकी ती बालिकाले गाउँकै एक आफन्त नाता पर्ने युवकविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । लमजुङ प्रहरीका डीएसपी गंगाबहादुर थापाले सोमबार उजुरी परेको बताए । ‘हामीकहाँ उजुरी आएको छ । बालिकाको संवदेनशीलतालाई ध्यानमा राखेर कसकोविरुद्ध उजुरी परेको हो पनि भन्न मिल्दैन,’ उनले भने । जबर्जस्ती करणी ऐनअन्तर्गत उजुरी दिएपछि प्रहरीले आरोप लगाइएका युवकलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको प्रहरी स्रोतले बतायो ।

प्रकाशित : असार ३, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?