काठमाडौँ — यतिबेला काठमाडौंसहित देशका विभिन्न भागमा कुक्कु, कोइली र सुन्दर स्वर्गचरीसहितका चरा बसाइँसराइ गरेर आएका छन् । लकडाउनसँगै ध्वनि प्रदूषण रोकिएको छ ।
होहल्ला र कोलाहल शून्यप्रायः हुँदा घर, आँगन, कौसी र करेसाबारीमा पहिले नदेखिएका चराका प्रजाति देखिएका छन् ।
कोइली चरीको सुरिलो स्वरसमेत घरबाट प्रष्टै सुनिएको छ । कतिले विभिन्न प्रजातिका चराको तस्बिरसमेत खिचेर सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा राखेका छन् । कोलाहल नहुँदा बसाइँसराइ गरेर नेपाल भित्रिएका चराको दिनचर्यासमेत सुखद बनेको चराविदहरु बताउँछन् ।
चराविद् विमल थापा ग्रीष्मकालीन चराका लागि लकडाउन सुखद अवसर बनेको विश्लेषण गर्छन् । उनी भन्छन्, 'स्वतन्त्र चरा, त्यहीमाथि होहल्ला र कोलाहल नभएपछि अरु के चाहियो ?'
मार्चसम्ममा ग्रीष्मकालीन चराहरु बसाइँ सरेर काठमाडौं उपत्यका र आसपास आइपुग्छन् । काठमाडौंका टौदह, फूलचोकी, चन्द्रागिरी, शिवपुरी, रानीबारी, गोकर्ण, सुन्दरीजल, नागार्जुनलगायतका स्थानमा गुँड बनाएर बस्छन् ।
एसियाली मुलुक र अफ्रिकाबाट समेत करिब ६०, ६१ प्रजातिका ग्रीष्मकालीन चरा बसाइँ सरेर नेपाल आउँछन्, यहीँ बच्चा कोरल्छन् र हुर्काउँछन् पनि ।
चराविद् थापाका अनुसार त्यसरी लामो यात्रा तय गरेर आएका चरा तीनदेखि चार महिनासम्म काठमाडौं आसपासका डाँडा र रुखहरुमा गुँड बनाएर बस्छन् । केही प्रजाति अलि लामो अवधि पनि बस्छन् ।
काठमाडौंमा खासगरी यतिबेला कोइली, कुक्कु कोइली, काफल पाक्यो कोइली, पूर्वीय कोइली, जुरे कोइली, ठूलो जुरे कोइली, स्वर्गचरी, नीलकण्ठे अर्जुनक, नीलतुथो अर्जुनक, नीलश्वेत अर्जुनक, चिबे कोइली, सानो हजारा चाँचर, गाजले सुनचरी र कटुसटाउके मुरलीचरा आएका छन् ।
अर्का चराविद् टेक घर्तीका अनुसार यतिबेला खासगरी कुक्कु प्रजातिका चरा बसाइँसराइ गरेर नेपाल आउँछन् । त्यस्ता प्रजातिले करिब १९ प्रतिशत ओगट्छन् । सबैभन्दा लामो दूरी तय गरेर आउने जुरे कोइली अर्को महिना (‘मे’तिर) आइपुग्छ । सुन्दर स्वर्गचरी दक्षिणी गोलार्द्धबाट बसाइँसराइ गरेर नेपाल आउँछ ।
‘गर्मीमा आउने सबैजसो चराले यहीँ बच्चा कोरलेर हुर्काउँछन् र जाडो सुरु भएपछि फर्कन्छन्’ चराविद् घर्तीले कान्तिपुरसित भने, ‘बच्चा कोरल्नका लागि नेपाल धेरै चराको मूल थलो हो ।’ उनका अनुसार हाँस प्रजातिका चरा भने यतिबेला आफ्नो थलो साइबेरियातिर फर्किसकेका छन् । बसाइँसराइ गरेर आएका चरामध्ये कोइली प्रजातिले अरुलाई नै बच्चा हुर्काउने जिम्मा लगाउँछन् । उनी भन्छन्, ‘कागले कोइलीको बच्चा हुर्काउँछ, काफल पाक्योले चिबे चरालाई जिम्मा दिन्छ ।’
बर्सेनि बसाइँसराइ गरेर थुप्रै चरा नेपाल आउने भए पनि बासस्थान विनाश चराका लागि मुख्य खतरा बन्दै गएको विश्लेषण गर्छन् पक्षी संरक्षण संघका चराविद् कृष्ण भुसाल । राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा रहेका चराका १ सय ६८ प्रजातिमध्ये करिब ८६ प्रतिशत चरा बासस्थान विनाशले नै संकटापन्न अवस्थामा पुगेका छन् ।
उनका अनुसार घाँसे मैदानमा मात्र पाइने विश्वमै दुर्लभ १३ र राष्ट्रिय रुपमा संकटापन्न २५ प्रजातिका चराहरुले संकट झेलिरहेका छन् । ‘यिनैमध्येको एक हो विश्वमै दुर्लभ अति संकटापन्न अवस्थामा रहेको खरमुजुर,’ भुसाल भन्छन्, ‘जसको आगामी दश वष भित्रै लोप हुने सम्भावना ५० प्रतिशत छ ।’ घाँसे मैदान पर्यावरणको सूचकका रुपमा हेरिने खरमुजुरको संख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिग्रँदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतको ह्रासलाई जनाउँछ ।
-तस्बिर सौजन्य : निर्मल दुलाल, उत्सवजंग थापा र विमल थापा
