कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

समुदायमै युद्धस्तरमा खटेर संक्रमण रोकौं 

महामारीसँग जुध्‍ने तयारी : स्थानीय सरकार, गहन जिम्मेवारी
डा. रीता थापा

काठमाडौँ — आज सोमबार सबै बन्द र ठप्प भएको सातौं दिन भइसक्यो । यसको विकल्प थिएन, मेरो विचारमा यो अझै लम्ब्याउनुपर्छ । तर, लकडाउनले मात्रै कोरोना संक्रमणको नियन्त्रण प्रभावकारी हुँदैन, अरु उपाय पनि अवलम्बन गर्नुपर्छ ।

समुदायमै युद्धस्तरमा खटेर संक्रमण रोकौं 

लकडाउनमा घरमा बसेपछि भाइरस आफैं मर्छ कि भन्नेखालको सन्देश गएको हुनसक्छ । लकडाउनले संक्रमण फैलिन रोक्ने हो, भाईरस नै मार्ने होइन । आज–भोलि नै मार्ने औषधि या खोप आविष्कार भए, महामारी टर्ला । तर यसको तत्काल सम्भावना देखिदैन । हामी बाँच्न र अरूलाई बचाउन यो आसन्न महामारीलाई टार्नै पर्छ र सकिन्छ पनि ।

लकडाउन हुनुअघि चैत महिनामा मात्रै दुबईबाट आएर विभिन्न क्षेत्रमा नेपालीहरु घर फर्केका छन् । चैत्र ७ गते दुबईबाट काठमाडौं, नेपालगञ्ज हुँदै आफ्नो घर धनगढी पुगेका जस्ता कोभिड संक्रमित युवा यहाँ धेरै होलान् । हामीलाई खबरमात्र नभएको हो । तिनीहरुले बाटोमा कति चिज छोए, कतिजनासँग भेटघाट भयो, कतिले चकलेट बाँडे, हामीलाई थाह नै छैन । उनीहरुको अवस्था र उनीहरुसँग सम्पर्क भएका मानिसहरु पहिचान नहुनु ठूलो खतरा हो । उनले थाहा नपाई कतिपय साथी र परिवारका सदस्यलाई संक्रमित गरे, कसैलाई थाहा छैन । यो खतरनाक स्थिति हो । यसले आसन्न महामारीलाई निम्त्याएको छ ।

कोरोना भाईरसबारे चिकित्सक र वैज्ञानिकहरुले बताएअनुसार स्वासप्रश्वास अनि संक्रमितले छोएका बस्तुहरुको माध्यमबाट छिटो अरुमा सर्ने स्वभाव राख्दछ । अनि मानिसको शरीरमा प्रवेश गरेपछि मौलाउन थाल्छ । त्यसैले लकडाउन गरेकै कारण अब महामारी हुँदैन भनेर हामीले भन्नसक्ने अवस्था रहेन ।

सम्भावित संक्रमितहरु कसरी थाहा पाउने ? त्यसको सरल उपाय छ । देशभरका स्थानीय सरकार र समुदायलाई सक्रिय तुल्याउनु नै आजको उपयुक्त विकल्प हो । त्यहाँ गएर सबै शंकास्पद संक्रमितहरुको आक्रामक रुपमा खोजपड्ताल र उनीहरुको पहिचान गर्नुपर्छ । इपिडिमियोलोजीको शब्दमा आजको दिनमा ‘सर्भिलेन्स’ नै प्रमुख रणनीति हुनुपर्छ ।

यसरी खोजपड्ताल गर्ने क्षमता र संयन्त्र हामीसँग छ त ? भनेर प्रश्न पनि उठ्नसक्छ । तर हामी ठूला उपकरण र मेसनरी संयन्त्रका कुरामा मात्रै भूलेका छौं । प्रिभेन्समा ध्यान दिएनौं भने जतिसुकै उपचारका संयन्त्रहरु विकास गरेपछि हाम्रो स्रोतसाधनले थेग्न सक्दैन, इटालीको हालत हुन्छ ।

नेपालले यसअघि पनि यत्तिको नभए पनि सानाठूला समस्याको सामना गरिसकेकै हो । हिजो विफर उन्मुलन गरेकै हो । शहस्राब्दी विकास लक्ष्य हासिल भएको हो । पोलियोको महामारी पनि ‘शून्य’को अवस्थामा पुगिसकेको छ । के कारणले यो सबै सम्भव भयो होला ?

गाँउ र बस्ती तहमा पुगेका हाम्रा सामूदायिक संयन्त्रहरुकै कारण यो सफलता सम्भव भएको हो । यो विषम परिस्थितिमा काठमाडौं र संघीय सरकारमात्रै सक्रिय भएर पुग्दैन । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा मात्रै यो चुनौतीसँग जुध्न सकिन्छ । स्थानीय सरकारको भूमिका त झनै महत्वपूर्ण छ ।

हाम्रा बस्तीहमा विभिन्न सामूदायिक संगठनहरु छन् । उदाहरणका लागि अस्ति बाग्लुङ वा कोहलपुर पुगेको व्यक्ति विदेशबाट फर्किर्एको भन्ने काठमाडौंले थाहा नपाए पनि कोहलपुर वा बाग्लुङको त्यो स्थानीय समुदायले त थाहा पाएको हुन्छ । चकलेट बाँड्नु कसैको अपराध होइन तर हामीले चकलेट बाँडेको समेत ‘अपडेट’ भएर बसेका रहेछौं । घर परिवार वा गाँउको समुदायले विदेशमा यस्तो महामारी छ, त्यहाँबाट आएकाहरुलाई दुई साता छुट्टै राख्नुपर्छ भन्ने थाहा पाएको भए केही न केही त गर्थे होलान् । हाम्रो समुदायले विदेशबाट आएकोमात्रै होइन, चकलेट बाँडेको र त्यो चकलेटको स्वाद पनि थाहा पाएर बसेको हुन्छ । उनीहरुबाट बेलैमा खबर लिन सकेको भए अरु संक्रमित हुन जोगिन्थे ।

म स्वास्थ्य मन्त्रालय अन्तर्गत एकीकृत प्राथमिक स्वास्थ्य सेवा केन्द्रको नेतृत्व गरेर बस्दादेखि नै बस्ती तहमा महिला स्वयंसेविकाको अवधारणामा काम सुरु भएको हो । उनीहरुबाट मातृशिशु स्वास्थ्य र परिवार नियोजनका काममा ठूलो योगदान भएको छ । नेपाली स्वास्थ्य सेवा प्रणालीको मेरुदण्डका रुपमा महिला स्वयंसेविकाहरु छन् । मलेरिया प्रकोप नियन्त्रणका लागि पनि महिला स्वास्थ्य कार्यकर्ताहरुले निकै जनचेतना जगाएका थिए । उनीहरुकै मार्फत् हामीले निमोनिया रोकथाम गरेका हौं । जबसम्म यस्ता संयन्त्रमार्फत् हामीले गाँउतहमा संक्रमण र रोगहरु बारे सचेतना जगाउँदैनौं, तबसम्म यस्ता महामारी नियन्त्रण गर्न कठीन हुन्छ ।

उनीहरुका साथै आमा समूह, सामूदायिक वन उपभोक्ता र सहकारीका सदस्य छन् । विद्यालयको सञ्जाल पनि ठूलो नै छ । स्वास्थ्यकै क्षेत्रमा काम गर्ने अरु संयन्त्रहरु छन् । कृषि र पशुका समूहहरु छन् । आजभोली केही भत्केका भए पनि यी संञ्जाल उपयोग गरेर कोरोनाविरुद्धको अभियानलाई अघि बढाउनुपर्छ ।

हामीले भर्खरै सामूदायिक सञ्जालको प्रयोगबाट नसर्ने रोगहरु कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे अध्ययन गरेका थियौं । आजको मितिमा पनि त्यो नेटवर्कको उपस्थिति बलियो भएकाले उनीहरुबाट रोग रोकथाममा काम गर्न सकिने नतिजा देखियो । नसर्ने रोग नियन्त्रणका लागि त योगदान हुन्छ भने अन्य संक्रमणमा उनीहरुलाई परिचालन गर्न नसक्ने कुनै भएन । यसमा सक्रिय हुन जनप्रतिनिधिहरुले ढिलाई गर्न हुँदैन ।

अब हरेक गाँउ र नगरपालिकाका प्रमुख तथा अरु जनप्रतिनिधिको हातमा आफ्नो बस्ती जोगाउने जिम्मेवारी आएको छ । उनीहरुले आफू अन्तर्गत रहेका यस्ता सामाजिक अंगहरुलाई आक्रामक रुपमा परिचालन गरेर सम्भावित संक्रमितहरुको खोजबिन गर्नुपर्छ । यस्ता काम कसरी गर्ने भनेर लामो अनुभव बोकेका जनशक्ति स्वास्थ्य मन्त्रालयमै छन्, उनीहरुलाई सक्रिय बनाउनुपर्छ ।

यो बेलामा उनीहरुलाई सुरक्षाका उपायसहित समुदायमा परिचालन गर्नुपर्छ । उनीहरुलाई नयाँ रोगको बारेमा तालिम जरुरत पर्छ । त्यसका साथै मास्क, ज्वरो नाप्ने उपकरण, स्यानिटाईजर र इन्टरनेटको खर्च दिनुपर्छ । महिला स्वयंसेविकाहरुले संकास्पद केसलाई मोबाइलको प्रयोग गरी एपबाट स्थानीय सरकार वा तोकिएको संयन्त्रमा नियमित रुपमा सूचित गर्न सक्छन् । त्यसका लागि उनीहरुलाई आधारभूत खर्च दिनुपर्छ । उनीहरुलाई परिचालन गर्न र सम्भावित जोखिम रोक्न त्यस्तो ज्यादा खर्च चाहिदैन, सबै स्थानीय तहको क्षमताबाटै सम्भव हुन्छ ।

केही दिनमै, अझै भनौं बढीमा एक साताभित्र देशभर यस्ता संयन्त्रलाई परिचालन गर्ने हो भने सम्भावित शंकास्पद व्यक्तिहरुको पहिचान हुनेछ । युद्धस्तरमा काम गरेमा आजदेखि नै सबैतिर सूचना पठाएर सक्रिय बनाउन सकिन्छ । कतिपय ठाँउमा अहिले भूईंमा सुताएर उपचार भइरहेको फोटो आइरहेको छ । भेटिएपछि उनीहरुलाई आवश्यकताअनुसार क्वारेन्टाईनमा राख्नुपर्छ । मानवीय रुपमा अनुकुल हुनेगरी आफ्नै घर वा समुदायमा क्वारेन्टाईन गर्न सकिन्छ । धेरै केस भएमा स्कूल, सामूदायिक भवनले यस्ता माग थेग्नेछन् । स्थानीय सरकारको नेतृत्वमा यी साधन स्रोतको सदुपयोगमा ढिलाई गर्नु हुँदैन । आजैदेखि युद्धस्तरमा शंकास्पद सबै केसहरूको सक्रिय खोज पड्ताल आवश्यक छ । त्यसपछि क्वारेन्टाइन, परीक्षण र क्रिटिकल उपचारका लागि रेफर गर्ने तयारी गर्नु आवश्यक छ ।

योसँगै परीक्षणको दायरा र संख्या बढाउनुपर्छ । अहिले काठमाडौंमात्रै परीक्षण भएकोमा केही ठाँउमा विस्तार गर्ने कुरा भएको छ । काठमाडौं र थप एक/दुई सहरमा सीमित परीक्षणले मात्र कोरोनाको आसन्न महामारी धान्न सक्दैन ।

कम से कम प्रदेश र जिल्ला अस्पताल तहसम्म पनि परीक्षण गर्ने क्षमता बढाउनुपर्छ । सरकारले छिटोछरितो नतिजा दिने टेस्टिङ किट भित्र्याउन पहल गर्नुपर्छ । यति लामो समयसम्म काठमाडौंमा मात्रै सीमित भएको परीक्षणबाट करीब ९ सयजनाको अवस्था थाहा हुनु उदेकलाग्दो कुरा हो ।

हामीले संक्रमण फैलिनुअघि रोकथामका उपाय अपनाएनौं र फैलिएमा उपचार गरौंला भनेर बस्यौं भने भयावह अवस्था आउनसक्छ । त्यस्तो अवस्थामा हाम्रा स्वास्थ्यकर्मीहरु जोखिममा पर्छन् । उपकरण, बस्ने ठाँउ, व्यवस्थापनको अभावले स्थिति तहसनहस हुने भएकाले अहिले नै सावधानी अपनाउनुपर्छ ।

(जनस्वास्थ्य विशेषज्ञ थापासँग कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित : चैत्र १७, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?