विरोधीलाई तह लगाउने सरकारको योजनामा अख्तियारको प्रयोग : कांग्रेस

ऋषिराम पौड्याल

काठमाडौँ — ललिता निवासको जग्गा प्रकरणमा कसुरदारलाई उन्मुक्ति दिएर पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई षड्यन्त्रपूर्वक तरिकाले भ्रष्टाचारको मुद्दा लगाइएको भन्दै कांग्रेसले शुक्रबार प्रतिनिधिसभा चल्न दिएन ।

विरोधीलाई तह लगाउने सरकारको योजनामा अख्तियारको प्रयोग : कांग्रेस

कांग्रेसले विरोधीलाई तह लगाउने सरकारको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाग्न खोजेको भन्दै टिप्पणीसमेत गरेको छ । अख्तियारले गच्छदारविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबार पनि संसद् अवरुद्ध गरेको थियो ।


प्रतिनिधिसभाका कांग्रेस सांसद मीन विश्वकर्माले फरक विचारलाई निस्तेज पार्ने खेलमा सरकारले अख्तियारलाई प्रयोग गरेको बताए । ललिता निवास जग्गा प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालय विस्तारका लागि गुरुयोजना प्रस्तुत गर्ने तत्कालीन मुख्यसचिवलाई उन्मुक्ति दिइएको उनको भनाइ थियो । ‘तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवलाई जोगाएर गच्छदारलाई मात्र मुद्दा चलाइएको छ,’ उनले भने, ‘जग्गा लिनेले लालपुर्जा फिर्ता गर्छु भनेर स्विकारोक्ति गर्दा कारबाही नगर्ने अचम्मको थिति अख्तियारले बसालेको छ,’ उनले भने, ‘चार वर्षअघि कुनै डाक्टरले चोरेको मिर्गौला फिर्ता गर्‍यो भने कारबाही हुन्छ कि हुँदैन ?’


नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता गर्ने सर्तमा कागज गराएर मुद्दा नचलाइएपछि विश्वकर्माले आक्रोश पोखेका हुन् । निर्णय प्रक्रियामा जोडिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव लीलामणि पौडेललाई पनि अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको छ ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अख्तियारले मुद्दा चलाउँदा सरकारको उपलब्धि भन्नु विरोधीलाई थुन्ने प्रपञ्चमा अख्तियारलाई प्रयोग गरेको प्रमाणित हुनु हो,×’ विश्वकर्माले भने, ‘कांग्रेसलाई ठोक्ने र आफ्नालाई रोक्ने रणनीतिमा नियोजित रूपमा लागेको देखिएको छ ।’

अख्तियारले अधिकार दुरुपयोग गरेको विश्वकर्माको टिप्पणी थियो । ‘एउटै मन्त्रिपरिषद्बाट भएको निर्णयमा सहभागीलाई फरक–फरक व्यवहार कसरी हुन्छ ? कांग्रेस कानुनी राज्यको अवधारणालाई विश्वास गर्दै आएको छ । कांग्रेसले नै अख्तियार गठनको कानुन ल्याएको हो । यसलाई संवैधानिक आयोग बनाइयो । पदमा बसेकाले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने हो तर यहाँ कानुनको उपहास भएको छ,’ उनले भने ।


संसद् बैठकको अध्यक्षता गरिरहेका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई पटक–पटक बस्न आग्रह गरेका थिए । कांग्रेस सांसदहरू बस्न नमानेपछि सभामुख सापकोटाले संसद्को क्षेत्राधिकारको विषय स्मरण गराए । उनले प्रतिपक्षले उठाएका विषयमा सम्बन्धित निकायको ध्यान गइसकेको बताए । छलफलबाटै सबै विषयको निकास आउने भन्दै उनले सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गरे । प्रमुख प्रतिपक्ष दलका सांसदहरू बस्न नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । पछि संसद् सचिवालयले सूचना टाँस गरेर आइतबारसम्म बैठक स्थागित गरेको जानकारी दिएको छ ।


कांग्रेस सांसद विजयकुमार गच्छदारको पद निलम्बन भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना प्रकाशन गरेर उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार निलम्बन गरिएको जनाएको छ । अख्तियारले संसद् सचिवालयलाई गच्छदारविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको जानकारी दिएपछि निलम्बनको सूचना जारी गरिएको हो । सूचनाअनुसार उनी मुद्दा दायर भएको दिनदेखि नै निलम्बनमा परेका छन् ।


मन्त्रीले अख्तियारको वकालत गरे : महत

उदयपुर– कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वकालत सरकारका मन्त्रीले गरेको टिप्पणी गरेका छन् । उनले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकामा आपत्ति जनाए ।


‘मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरेका कारण गच्छदारलाई दोषी देखाएर मुद्दा चलाइयो,’ उदयपुरको चौदण्डीगढी, बेल्टारमा शुक्रबार उनले भने, ‘निर्णय कार्यान्वयन गर्ने मन्त्रीलाई मुद्दा चलाउने अख्तियारको सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वकालत गरेकाले बदनियत देखिएको छ ।’ उनले सरकारको सल्लाहबमोजिमै अख्तियारले गच्छदारमाथि मुद्दा चलाएको आरोप लगाए ।

प्रकाशित : माघ २५, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?