बेलायती सेनाबाट सेवानिवृत्तलाई आवासीय भिसाको व्यवस्था गरिएपछि यताबाट जाने र उतै रोकिने क्रम बढेको छ । उनीहरुले भित्र्याउने रेमिट्यान्स र पेन्सनसमेत रोकिएपछि धरानका सबै खाले व्यापार–व्यवसायमा असर परेको छ ।
(सुनसरी) — बेलायती सेनामा सरदर डेढदेखि दुई दशक सेवा गरेपछि ‘रिटायर्ड लाइफ’ बिताउने थलोका रूपमा धरानलाई छान्ने पूर्वगोर्खा सैनिकहरू र तिनका सन्तति अचेल बेलयतमै रमाउन थालेका छन् ।
सन् २००४ देखि पूर्वगोर्खा र उनीहरूका सन्तानले बेलायती आवासीय अधिकार पाएपछि धरानका हरेक गतिविधिमा उनीहरूको उपस्थिति नगण्य जत्तिकै भएको छ । ‘लाहुरेको सहर’ भनेर चिनिने धरानमा अचेल बेलायती लाहुरे सितिमिति भेटिँदैनन्, न उनीहरूका सन्तान भेटिन्छन् ।
पूर्वगोर्खाहरूमध्ये विभिन्न कारणले बेलायती आवासीय भिसा नपाएका, अति वृद्धवृद्धा र आफ्नै देशमा बस्न चाहने मात्र यहाँ छन् । पहाड र मधेसको संगमस्थलमा रहेको धरानलाई गुलजार बनाउन र व्यापारिक केन्द्र बनाउन पूर्वगोर्खाहरूको योगदान थियो ।
आर्थिक रूपमा सम्पन्न, नेपाली सरकारी जागिरेको तलबभत्ता सुविधाभन्दा बढी पेन्सन, चिटिक्क परेका दुईदेखि चारतलेसम्मका पक्की घर, दालभातका लागि मोरङ र सुनसरीका मधेस क्षेत्रमा कम्तीमा डेढ–दुई बिघा जग्गा, बैंक ब्यालेन्स भएका लाहुरेहरू बेलायतमै रमाउन थालेपछि हरेक क्षेत्रमा त्यसको असर परेको मान्छन् धरानका पूर्वनगरप्रमुख मनोजकुमार मेन्याङ्बो । ‘बेलायती लाहुरेहरूकै कारण धरानको विकास निर्माण, सामाजिक र आर्थिक गतिविधि चलायमान भइरहेको थियो,’ उनी भन्छन्, ‘विदेशको विकास देखेर आएका उनीहरूले स्व:फूर्स्त रूपमा धरानलाई अरूभन्दा फरक बनाउनुपर्छ भनेर जनसहभागितामा आधारित विकास निर्माणमा योगदान दिन सुरु गरेका थिए ।’
नगरपालिकाले अघि सारेको जनसहभागितामा आधारित विकास निर्माणलाई लाहुरे समुदायले आत्मसात् गरे । लाहुरेले विदेशमा डेढ दशक बसेर कमाएको भन्दा निकै बढी सम्पत्ति भएकाहरू पनि धरानमा नभएका होइनन् तर आफू बसेको सहरलाई सुन्दर र आधारभूत पूर्वाधारयुक्त बनाउने काममा सरकारी योजना पर्खनु हुँदैन भन्ने नमुना लाहुरेले देखाएका थिए । अन्य समुदायका तुलनामा अधिक क्रयक्षमता भएका लाहुरे समुदायलाई नै लक्षित गरे धरानमा थुप्रै व्यावसायिक पसल, घर निर्माणका सामग्री बेच्ने हार्डवेयर पसल, डिपार्टमेन्टल स्टोर, सुनचाँदीका गहना पसल, तयारी पोसाकका बिक्री केन्द्र, होटल रेस्टुरेन्ट, निजी बैंक, स्कुल, नर्सिङ होम, फेसनेबल बुटिक, सौन्दर्य प्रसाधन तथा पार्लर र घरघडेरीका कारोबार चलेका हुन् । ‘एकपछि अर्को गर्दै आफ्ना घरजग्गा बेचेर लाहुरे र तिनका सन्तान बेलायत पलायन हुन थालेपछि आर्थिक र सामाजिक गतिविधिमा असर परेको छ,’ मेन्याङ्बोले भने, ‘पूर्वगोर्खाहरू बेलायत पलायन भए पनि पछिल्लो समयमा खाडी मुलुक, मलेसिया र कोरियामा रोजगारीमा जानेहरू छन् तर तिनले धरानको आर्थिक र सामाजिक गतिविधिलाई धान्न नसकेको देखिन्छ ।’ सुन्दर भविष्य खोज्दै बेलायत पलायन हुनु लाहुरेका रहर र बाध्यता भए पनि नगरमा त्यसको नकारात्मक असर परेको उनको भनाइ छ ।
आर्थिक विश्लेषकसमेत रहेका सुनसरी उद्योग वाणिज्य संघका पूर्वप्रथम उपाध्यक्ष कृष्ण अग्रवाल धरानको आर्थिक गतिविधिलाई चलायमान बनाउन बेलायती लाहुरेको महत्त्वपूर्ण योगदान रहेको बताउँछन् । ‘जति बढी आम्दानी हुन्छ, त्यति बढी खर्च हुन्छ भन्ने अर्थशास्त्रको सिद्धान्तले भन्छ,’ उनी भन्छन्, ‘त्यसबेला धरान बस्ने गोर्खा लाहुरेहरूको पेन्सन फिक्स इन्कम थियो । उनीहरूका सन्तान पनि प्राय: लाहुरे नै हुने गरेका थिए । ती लाहुरे भएका छोराले पनि धरानमै पैसा पठाउँथे तर अहिले अवस्था फेरिएको छ ।’ लाहुरेहरू बेलायत पलायन भएपछि धरानको व्यापार व्यवसायमा व्यापक असर परेको उनले बताए । ‘यद्यपि पछिल्लो समयमा व्यापारको ट्रेन्डमा केही परिवर्तन आएकाले असर धेरै नदेखिए जस्तो लाग्छ,’ उनी भन्छन् । धरान क्षेत्रको सालभरको आर्थिक कारोबार हाल करिब ८० देखि ८५ अर्ब रुपैयाँ हो । यो कारोबारमा लाहुरेको आम्दानीको योगदानको हिस्सा बर्सेनि घट्दो छ । ‘यदि बेलायत पलायन नभई यतै रहेका भए यतिबेला कारोबार सवा खर्ब पुग्न सक्ने अनुमान गर्न सकिन्छ,’ उनी भन्छन् ।
लाहुरेहरूले धरानका सडक, विद्यालय र पार्कजस्ता समाजका लागि आवश्यक विकासनिर्माणमा करोडौं रुपैयाँ अनुदान र जनसहभागिताका रूपमा खर्च गरेका छन् । उनीहरूकै ‘वन डे पे स्किम’ का आधारमा पूर्वकै पुरानो डिपो स्कुल सञ्चालनमा छ । गोर्खा सैनिक विश्राम भवन, गोर्खा बचत तथा ऋण सहकारी संस्था, गोर्खा सपिङ कम्प्लेक्स, गोर्खा कम्युनिटी हल र विष्णुपादुकाको माछामारा डाँडामा १३ बिघा जग्गामा करोडौंको गोर्खा स्मृति पार्क निर्माण भएका छन् ।
‘यहाँभन्दा बेलायतमा सबै थोकको सुविधा भएकाले धेरै साथीहरू उतै लागे तर धरानका पूर्वगोर्खाले स्थापना गरेका, पुँजी लगानी गरेका र विकासनिर्माण तथा पर्यटनका लागि निर्माण गरेका विभिन्न पार्कहरू, भवन, स्कुलहरू अब नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भनेर विचार गरिरहेका छौं,’ बेलायतको सुविधालाई त्यागेर धरान–१५ एभरेस्टलाइनमा सपरिवार बस्दै आएका गजेन्द्र इस्वो भन्छन्, ‘छाडेर जाने त गइहाले तर भएका सार्वजनिक भौतिक सम्पत्ति कसरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने भन्ने चिन्ता छ ।’ बेलायती लाहुरेले मात्रै लगानी गरेका सार्वजनिक सम्पत्ति र आयमूलक सपिङ कम्प्लेक्स भवन करोडौं रुपैयाँका अझै धरानमा रहेको उनले बताए । ‘तिनलाई रेखदेख गर्ने पुराना पुस्ताको अभाव हुँदै गएको छ,’ उनले भने । उनीहरू बसिन्जेल जनसहभागितामूलक कार्यक्रममार्फत धरानमा दुई दशकको अवधिमा करिब ५० करोड रुपैयाँ बराबरको सडक, नाला र फुटपाथसहितको स्तरीय १ सय २५ किमि कालोपत्रे सडक, नगरका १० वटा वडाका वडा समिति कार्यालय भवन, भूकम्प स्मारक, घण्टाघर, विद्यालय, प्रहरीचौकी निर्माण भएका हुन् । उनीहरू आर्थिक सहयोग गर्न हात खुला गर्ने मात्र नभई निर्माणका काममा आफैं अघि सरेर श्रमदान गर्थे ।
पूर्वका लिम्बू र राई समुदायका युवालाई गोरखा भर्ती गर्ने उद्देश्यले विसं २०१६ मा धरानमा ब्रिटिस घोपा क्याम्प स्थापना भएको थियो । त्यहाँ हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । लाहुरे परिवारका महिलाहरू सुनचाँदी गरहगनाका सौखिन पनि मानिन्थे तर उनीहरूले धरान छाडेसँगै धरानका गहना व्यवसायमा असर परेको सुनसरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष किसन मास्केले बताए । ‘धरानमा गरगहनाका राम्रा र नियमित ग्राहक लाहुरेका परिवार नै थिए,’ उनी भन्छन् । दशकअघि धरानका अधिकांश निजी क्षेत्रबाट खुलेका स्कुलहरूमा कम्तीमा १० देखि ५० प्रतिशतसम्म तिनै लाहुरे समुदायका सन्तान पढ्ने गर्थे । अहिले करिब शून्य बराबर रहेको संस्थागत विद्यालय सञ्चालकहरू बताउँछन् । धरान–१६ जनपथस्थित जेनिथ स्कुलका संस्थापक सुमन जबेगु र धरान–९ को विष्णु मेमोरियल बोर्डिङ स्कुलका निर्देशक बेनिन्द्र कटवालका अनुसार गोर्खा लाहुरेहरूका छोराछोरी बोर्डिङमै पढाउने बानीले निजी विद्यालय सञ्चालन गुल्जार थियो । ‘मेरो स्कुलमा एक दशकको अवधिमा जति विद्यार्थी थिए, त्यसको ५० प्रतिशत लाहुरे समुदायका थिए,’ कटवाल भन्छन्, ‘ती सबै उनीहरूका अभिभावकसँगै बेलायत गए ।’ जेनिथका जबेगुले धरानबाट पूर्वगोर्खाको बेलायत बसाइँसराइले व्यापार व्यवसायमा असर परेजस्तै संस्थागत स्कुलहरूमा असर देखिएको बताए । ‘पहिले पहिले धरानमा लाहुरेहरूले मात्र आफ्ना नानीहरूलाई बोर्डिङ स्कुलमा पढाउन सक्छन् भन्ने मान्यता थियो,’ उनले भने ।
पाउन्डमा पेन्स पाउने लाहुरेको पलायनले शैक्षिक क्षेत्र मात्र प्रभावित नभएर घरजग्गाको कारोबार र घर निर्माण व्यवसायमा पनि उत्तिकै असर परेको छ । इन्जिनियरिङ कन्सल्ट्यान्ट खोलेर घर नक्साको डिजाइनिङ गर्दै आएका निर्देशक सुनल किराती भन्छन्, ‘अचेल लाहुरेको घर डिजाइनिङ गर्नेभन्दा भएको घर बेच्न खोज्नेहरू बढी भएका छन् ।’ दशक अघिसम्ममा ९५ प्रतिशत घर लाहुरेकै मात्र डिजाइनिङ गर्ने गरेकामा हाल काम शून्य बराबर भएको उनले बताए । सुनसरी निर्माण व्यवसायी संघका तदर्थ सचिव बालकृष्ण सिंगकका अनुसार बेलायततिर जाने लाहुरेका कारण नयाँ डिजाइनका घर निर्माण निकै घटेको छ । ‘उतै बसेपछि यहाँ कसले बनाउने घर ?,’ उनले भने, ‘अहिले धरानको घर निर्माण व्यवसायलाई सिंगापुरे लाहुरे, कोरियन, मलेसिया र खाडी मुलुकबाट कमाएर आउनेहरूले मात्र धानेका छन् ।’ धरान उपमहानगर घरनक्सा फाँटका पूर्वकर्मचारी हरिबहादुर कार्कीका अनुसार ५० र ६० को दशकमा वार्षिक आठ सयवटा हाराहारी घर निर्माण हुन्थे । अधिकांश बेलायती लाहुरेले धेरै खर्च गरेर डिजाइनदार घर बनाउँथे ।
‘अभिभावक बेलायततिर बस्न थालेपछि सन्तानको शिक्षा, स्वास्थ्य, आर्थिक उन्नति र रोजगारीको सवालमा सुवर्ण अवसर मान्नुपर्ने भए पनि संस्कार, संस्कृति, भाषा, लिपि पहिचानसँगै रेमिट्यान्सको सवाल भने पेचिलो बनेको छ,’ आर्थिक र सामाजिक विश्लेषक प्राडा राजेन्द्र शर्माले भन्छन्, ‘धरानलाई आधुनिक धरान भनेर पहिचान दिने मुख्य भूमिका नै तिनै गोर्खा लाहुरेहरूले खेलेका हुन् ।’ धरानमा गोर्खा भर्तीका लागि भनेर ब्रिटिस क्याम्प स्थापना भएपछि तिनै लाहुरेहरू बेलायतबाट अवकाश पाएर ३० को दशकमा धरानमै बिस्तारै घरजग्गा किनेर बस्न थालेर यहाँको आर्थिक र सामाजिक गतिविधिमा तीव्रता आएको थियो । ‘धरानको कुल जनसंख्याले गर्ने कारोबारभन्दा लाहुरेहरूले भित्र्याउने रेमिट्यान्स र पेन्सन बढी हुन्थ्यो,’ उनी भन्छन्, ‘जसले यहाँका सबै खालका व्यापार व्यवसायलाई ठूलो भर थियो ।’ ६० को दशकयता धरान, इटहरी, पोखरा र बुटवलजस्ता लाहुरे बाहुल्य भएका सहरमा पूर्वगोर्खाहरू र उनीहरूका सन्ततिको भूमिका क्रमश: घटेको शर्माले बताए ।
धरानमा ब्रिटिस गोर्खा वेलफेयर सर्भिस छ । धरानमा हाल पनि विभिन्न बैंकमार्फत बेलायती सेनाबाट अवकाशपछि पेन्सन पाउनेहरूमा ४ हजार २ सय ७८ जनाको नाम छ । उनीहरूले वार्षिक २ अर्ब ३३ करोड ९९ लाख २८ हजार रुपैयाँ पेन्सनबापत लिँदै आएको तथ्यांक छ । बैंकमार्फत नलिएर नगद लिने १ हजार ३ सय ७० जनासमेतको पेन्सन पनि जोड्दा वार्षिक ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ हुन्छ तर उक्त रकम अधिकांश लाहुरे आफैंले नथापेर बैंकमा जम्मा गरेका छन् या आफन्तका नाममा गरेका छन् । उनीहरूको अनुपस्थितिले गर्दा उक्त रकम चलायमान हुन सकेको छैन ।
यसो त बेलायती सेनामा अहिले पनि धरान स्थायी घर भएका करिब सात सयजना कार्यरत छन् । पछिल्लो पुस्ताका लाहुरे पनि बेलायतमै फ्ल्याट किनेर बस्न थालेपछि उनीहरूले पठाउने अर्बौं रुपैयाँ रेमिट्यान्स उतै रोकिएको छ । बेलायतमा आवासीय अधिकार नपाएका भए पछिल्ला पुस्ताका नयाँ लाहुरेले मात्र वार्षिक करिब २ अर्ब १० करोड रुपैयाँ रेमिट्यान्स भित्र्याउँथे । आर्थिक कारोबारका लागि पुँजी भित्रँदा उपमहानगरको आन्तरिक आय पनि वृद्धि हुन सक्थ्यो ।
