मोदी भ्रमण घोषणा

वैशाख २२, २०७५

चन्द्रशेखर अधिकारी

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा भएको छ । कूटनीतिक परम्पराअनुसार दुवै मुलुकका परराष्ट्र मन्त्रालयले शुक्रबार एकै समयमा विज्ञप्ति जारी गर्दै आगामी शुक्रबार र शनिबार मोदीले नेपालको राजकीय भ्रमण गर्ने जनाएका हुन् ।

परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी आगामी २८ गते नेपालको राजकीय भ्रमण आउनेछन् । भ्रमण क्रममा उनी ऐतिहासिक धार्मिक सहर जनकपुर र मुक्तिनाथ जाने कार्यक्रम छ ।’ भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मोदीले राजनीतिक दलका नेताहरूसँग पनि छलफल गर्ने उल्लेख भए पनि नेपालतर्फको विज्ञप्तिमा त्यो विषय उल्लेख छैन । प्रधानमन्त्री मोदीलाई काठमाडौं महानगरपालिका र जनकपुर उपमहानगरपालिकामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार नै भारतीय समकक्षीसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

उनलाई टुँडिखेलमा गार्ड अफ अनर दिने कार्यक्रम छ । भारतले यो भ्रमणलाई द्विपक्षीय नियमित उच्चस्तरको भ्रमणको शृंखला भनेको छ । विज्ञप्तिमा दुवै प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यास संयुक्त रूपमा गर्ने जनाइएको छ । तर, शिलान्यास त्यहीँ पुगेर हुने या संयुक्त पत्रकार सम्मेलन क्रममा स्विच थिचेर गर्ने खुलाइएको छैन ।

दुई प्रधानमन्त्रीबीच नेपाल–भारत सम्बन्धमा रहेका समस्या निराकरणका लागि समेत पहल गर्ने जनाइएको छ । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण क्रममा दुई देशको सम्बन्धमा समस्याको चाङ रहेको बताएपछि भारतीय पक्षले त्यसको स्पष्ट खाका मागेको थियो । परराष्ट्र मन्त्रालय अहिले त्यही खाका तय गर्न जुटेको छ । यद्यपि कतिपय समस्या समाधानको खाका प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा नै छलफल भइरहेको छ ।

भारत भ्रमण क्रममा भारतप्रति गुनासा मात्र राखेका प्रधानमन्त्री ओलीले मोदीलाई यहाँ स्वागत गर्न कुनै कमी नराख्ने र समस्या समाधानका उपायसहित धारणा राख्ने तयारी गरेका छन् । परराष्ट्र सचिव शंकरदास बैरागीले कतिपय विषय छलफलमा रहेको बताउँदै आएका छन् । मोदीको भ्रमणमा पनि दिल्लीमा सहमति भएका विषयहरूमा छलफल हुँदै सम्झौताको चरणमा पुग्ने परराष्ट्र अधिकारीले दाबी गरेका छन् । ‘अन्य नयाँ केही गर्न सकिन्छ कि भनेर छलफल भइरहेको छ । पुराना सम्झौता र सहमति किन कार्यान्वयनमा आएनन् भन्ने खोजी पनि भरहेको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीले दिल्ली भ्रमण क्रममा केही उदाहरण दिँदै काम नभएको बताउँदा भारतीय नेताले आफू लज्जित भएको प्रतिक्रिया दिएका थिए ।’

२०७१ साउनमा भएको मोदीको नेपाल भ्रमण एक प्रकारको क्रमभंगझैं थियो । नेपालबाट भारततर्फ प्रधानमन्त्री गइरहने तर भारतबाट १७ वर्षदेखि नेपाल नआएको अवस्थामा उनले भ्रमण गरेका थिए । त्यही वर्षको मंसिरमा मोदी सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आए । अहिले उनको तेस्रो भ्रमण हो । संविधान जारी भएपछि भारतका कार्यकारी प्रमुखबाट हुन लागेको पहिलो भ्रमण भएकाले पनि यसको छुट्टै महत्त्व रहेको अधिकारीहरूले बताए ।

चन्द्रशेखर

Link copied successfully