नवलपरासी — प्रदेश नम्बर ४ मा पर्ने पूर्वी नवलपरासीको पहिलो जिल्ला सभाले जिल्लाको नाम नवलपुर र त्यसको सदरमुकाम कावासोतीमा राख्ने सर्वसम्मत निर्णय गरेको छ ।
प्रदेश नम्बर ४ मा पर्ने पूर्वी नवलपरासीको पहिलो जिल्ला सभाले जिल्लाको नाम नवलपुर र त्यसको सदरमुकाम कावासोतीमा राख्ने सर्वसम्मत निर्णय गरेको छ ।
कावासोतीमा शुक्रबार साँझ सम्पन्न ८ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र स्थानीय विकास अधिकारीसहितको पहिलो बैठकले नवलपरासीको सुस्ता बर्दघाट पूर्वको भागमा पर्ने जिल्लाको नाम नवलपुर जिल्ला राख्ने र त्यसको सदरमुकाम कावासोतीमा राख्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकले जिल्लाको नाम नवलपुर त्यसको सदरमुकाम कावासोतीमा राख्ने निर्णय गर्दै सरकारलाई त्यसैलाई अनुमोदन गरीदिन माग गर्ने निर्णय पनि गरेको छ ।
पहिलो जिल्ला सभाले जिल्लाको नाम नवलपुर र सदरमुकामका लागि स्थान (कावासोती) एकीन गरेको हो । शुक्रबार कावासोतीको खानेपानी हलमा सम्पन्न पहिलो बैठकमा यहाका मुख्य राजनैतिक दलका जिल्ला प्रमुखहरु, ८ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख र यहाँका ३ वटा क्षेत्रवाट निर्वाचित सांसदहरुको उपस्थिति रहेको छ ।
सरकारले संविधानअनुसार नवलपरासीलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुंगो लगाएको छैन । सरकारले प्रदेश नम्बर ५ मा पर्ने नवलरासीको भाग सुस्तादेखि बर्दघाट पश्चिमको भागलाई नवलपरासी (क) र सुस्तादेखि बर्दघाट पूर्वको क्षेत्रलाई नवलपरासी (ख) (जुन प्रदेश नम्बर ४ मा पर्दछ ) मानेको छ ।
एउटै जिल्ला २ प्रदेशमा विभाजन भएका कारण यहाँ स्थानीय तहको निर्वाचन पनि दुई चरणमा (बैशाख ३१ र असार १४) सम्पन्न भएको थियो ।
दुईवटा प्रदेशमा विभाजन भएका कारण सरकारले यहाँ स्थानीय विकास अधिकारी पनि २ जना खटाएको छ । शुक्रबार सम्पन्न पहिलो जिल्ला सभाले ९ सदस्य रहेको जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी विजयराज पौडेलले जानकारी दिए । उनले केही दिनमा जिल्ला समन्वय समितिको निर्वाचन हुने कावासोतीमै त्यसको कार्यालय राख्न निर्वाचित जनप्रतिनिधिले सर्वसम्मत निर्णय गरेकाले त्यसैअनुसार कार्यालय व्यवस्थापन गरिने जानकारी दिए ।
शुक्रबार साँझ ७ बजे सम्पन्न पहिलो जिल्ला सभाको बैठकमा यहाँका निर्वाचित मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख र ३ जना सांसद र विभिन्न दलका जिल्ला प्रमुखहरु उपस्थित थिए । उनीहरु सबैले सर्वसम्मतिले जिल्लाको नामाकरण नवलपुर राख्ने र त्यसको सदरमुकाम कावसोतीमा राख्न सहमती जनाएका हुन् ।
बर्दघाट सुस्ता पश्चिमको क्षेत्रलाई परासी जिल्ला र त्यसको सदरमुकाम हालको परासीमा नै रहने यसअघि नै सहमति भइसकेको छ
