चिनियाँ विदेशमन्त्री टुँडिखेल पुग्दा...

काठमाडौं — टुँडिखेलको चौरस्थित एक सय बढी टेन्टमा रहेका भूकम्प पीडितहरु एकाएक बाहिर आए । टुँडिखेल परिसरमा नेपाली सेनाको एक टुकुडी देखेपछि उनीहरुलाई लाग्यो, 'कतै यहाँबाट हामीलाई विस्थापित गर्न त लागेको होइन !'

चिनियाँ विदेशमन्त्री टुँडिखेल पुग्दा...

तर उनीहरु नेपाली सेना भएको स्थानसम्म आइपुग्न नपाउँदै अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका चिनियाँ विदेशमन्त्री पसिना पुछ्दै गाडीबाट झरेको देख्दा उनीहरु जिल्ल परे ।
एक महिलाले नेपाली सेनालाई सोधिन्, ‘उहाँ को हो ?'
उत्तरमा सेनाले भने, 'चीनको विदेशमन्त्री ।'
त्यसपछि ति महिलाले हामीलाई राहत दिन आउनुभएको हो भन्दै सबैलाई बोलाइन् ।
उनी वास्तवमा राहत होइन दिर्घकालीन सहयोगको लागि त्यहाँ आएका थिए । सेतो सर्टमा असिनपसिन देखिएका चिनियाँ विदेशमन्त्री वाङ यीले विस्थापित परिवारको टेन्डमा नै पुगेर दोभासेको सहयोगमा कुराकानी गरे ।
नेपाल एअरलाइन्सको विल्डिङको अगाडिबाट प्रवेश गरेका उनले मध्य भागमा रहेको दुई टेन्टमा पसेर भित्रको अवस्था समेत हेर्दै भने,‘हामी सहयोग गर्न तयार छौँ । चीन नेपालको सच्चा र सहयोगी छिमेकी हो । तपाईंहरुको यो दु:खमा साथ दिन हामी तयार छौं । तपाईहरुको घर पनि बनाईदिन्छौं ।’
धादिङकी सृष्टि पन्तले आफ्नो चार परिवार यहाँ रहेको जानकारी दिइन् । भूकम्प आएलगत्तै आफूहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर र त्यसपछि यहाँ आएर बसेको बताइन् । उनी आफ्नो आमा, भाइ र बहिनी सहित चार जना रहँदै आएको पनि स्पष्ट पारिन् । उनले विदेशमन्त्रीसँग आफूहरुलाई पढाइदिन र बासको ब्यवस्था गरिदिन आग्रह गरिन् ।
यीले अध्ययनको लागि आफूहरुले अवधारणा बनाइरहेको र घरहरु बनाउन नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्ने तयारी गरिरहेको बताए ।
उनले 'राम्रोसँग पढ्नु परिवारको ख्याल गर्नु' भन्दै उनलाई ढाडस दिँदै सहयोगी हात चीनको सधैँ रहने बताए । त्यसलगत्तै अर्को टेण्टमा पसेका उनले सोधे, 'त्यहाँ कति जना बस्नुहुन्छ ?'
दुई जिउकी पवित्रा लामाले १९ जना अहिले यहाँ रहेको बताइन् । 'तपाईंलाई असहज भएको होला । छुट्टै व्यवस्था गर्न आवश्यक छ,' चिनियाँ विदेश मन्त्रीले भने । उनी जस्ता १५ महिला रहेको र उनीहरुको छुट्टै व्यवस्थापन गर्न समेत उनले चासो देखाए । त्यहाँ पहिला एक सय ६५ टेण्ट रहेको र अहिले विस्तारै आफ्नो स्थानतिर जाने र अर्को व्यवस्था गर्ने गरेकाले एक सय १० मात्र रहेको नेपाली सेनाले जानकारी दियो ।
काभ्रेकी ति महिलालाई चिनियाँ विदेशमन्त्रीले भने, 'हिमालय क्षेत्रको तपाईंहरु हाम्रो सिमावर्ती मित्र हो । त्यहाँ तपाईंहरु र हाम्रा नागरिक बीचको सम्वन्ध पनि निकै सुमधुर र दाजुभाई दिदी बहिनी जस्तो छ । हामी तपाईंहरुलाई नेपाल सरकार मार्फत विशेष सहयोग गर्न चाहन्छौं ।'
उनीहरुको अन्तर्क्रिया पछि त्यहाँ उपस्थित केही सञ्चारकर्मीहरुलाई उनले भने,‘ यस्तो दु:खको अवस्थामा हामीले सहयोग गर्न आवश्यक थियो, त्यही भएर गर्‍यौं । अहिले पनि भर्खर चीन सरकारको तर्फबाट मैले नेपाललाई सहयोग गर्ने घोषणा गरेर आयौं । नेपालले अब भौतिक पूर्वाधार विकासमा ठूलो फड्को समेत मार्न सक्छ यसमा हामी साथ छौं ।'
नेपाल चीनको पुरानो र भरपर्दो छिमेकी भएकोले सहयोग गर्न पछि नहटेका उनले बताए ।
















प्रकाशित : असार १०, २०७२ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?