धनकुटा समाज सेवा दक्षिण कोरियाद्वारा राहत सामाग्री वितरण

जेष्ठ १६, २०७२

सउरपानी (गोरखा) — महाभूकम्पबाट अत्यधिक प्रभावित क्षेत्र सउरपानी गाविस ५ का भूकम्प पीडितलाई धनकुटा सेवा समाज, दक्षिण कोरियाले बिहीबार राहत सामाग्री वितरण गरेको छ ।


भूकम्पको केन्द्रबिन्दु रहेको वारपाकसंगै सिमाना जोडिएको सउरपानीमा हालसम्म सरकारी तथा अन्य निकायबाट राहत सामाग्री पुग्न सकेको छैन । सउरपानी ५ मा रहेका १ सय १५ घरधुरीमध्ये सबै घर पूर्णरुपमा भत्किएको छ । उक्त स्थानमा पहिलो पटक राहत सामाग्री वितरण गरिएको स्थानीय संयोजक आर.के. गुरुङले जानकारी दिए । रोजगारीका लागि कोरिया पुगेका धनकुटाबासीको संस्था धनकुटा सेवा समाजले संकलन गरेको करिब दुइ लाख रुपैयाँ बराबरको खाद्यन्न सामाग्री वितरण गरेको थियो । समाजका अध्यक्ष चन्द्र राईका अनुसार मानवीय कार्यमा संस्थाले फेरि पनि कार्य गर्ने जानकारी दिए ।
दक्षिण कोरियाबाट पठाइएको रकमबाट खरिद गरिएको राहत सामाग्री काठमाडौंमा बस्दै आएका धनकुटाबासी बगेन्द्र राई, देविबहादुर राई, विजय देवान, रमेशचन्द्र अधिकारी, विक्रम राई, विवश राई लगायतले वितरण गरे । उक्त गाविसका अधिकांश भूकम्प पीडित घर भत्किएपछि आफ्नै प्रयासमा अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन् ।

Link copied successfully