'अस्पतालमा दैनिक २०० जनाभन्दा बढी व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउँछन् । महानगरपालिकाले प्रदान गरेको खोपले करिब ९ दिनको सेवा सञ्चालन गर्न सक्छौँ ।'
काठमाडौं — काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८०० भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शुक्रबार अस्पतालमै पुगेर उक्त खोप हस्तान्तरण गरेकी हुन् ।
उक्त अवसरमा उनले भनिन्,' अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । जनावरले टोकेपछि उपचारका लागि जाने सरुवा रोग अस्पताल हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिएपछि उपचार थालौंला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ ।'
खरिद प्रक्रियाका कारण खोप अभाव हुनसक्ने देखिएकाले महानगरपालिकासँग सहयोग मागेको अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले बताए । उनले भने, 'अस्पतालमा दैनिक २०० जनाभन्दा बढी व्यक्ति रेबिजविरुद्धको खोप लगाउन आउँछन् । महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब ९ दिनको सेवा सञ्चालन गर्न सक्छौँ ।'
माग गरेपछिको ७ दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको छ । यसबाट अस्पतालको सेवालाई थप सहज बनाएको डा. बाँस्तोलाको भनाइ छ । अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकाले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।
