काठमाडौं महानगरपालिकाले चराचुरुङ्गीको लागि पानीपात्र निर्माण गर्न बजेटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त उल्लेख गरेको हो ।
What you should know
काठमाडौं — काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका निजी तथा सार्वजनिक भौतिक संरचनाहरुको बीमा प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसैगरी नगर–नगर साझेदारी कार्यक्रमको लागि आवश्यक बजेटको पनि व्यवस्था गरेको छ । ‘रात्रिकालिन यातायात सेवा सञ्चालनलाई निरन्तरता दिन, पिउने पानीको व्यवस्थासँगै आवश्यक स्थानमा सार्वजनिक शौचालय व्यवस्थापनको लागि बजेट विनियोजन गरेको छ । ‘पशु बधशाला निर्माण गर्न तथा एग्रो पुलिङका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट छुट्याएको छ । काठमाडौंमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल आयोजना गर्नको लागि बजेट विनियोजन गरिएको छ,’ बजेटमा भनिएको छ, ‘बागमती प्रदेश सरकारसँग समन्वय गरी काठमाडौं महानगरपालिकालाई साँस्कृतिक सहर घोषणा गर्न आवश्यक प्रबन्ध गरिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी एवं साधन स्रोत सम्पन्न गराउन बजेट विनियोजन गरिएको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३, बढ्दो तापक्रमको प्रभाव न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइएको पनि उल्लेख छ । नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण गर्न तथा पार्क निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।
काठमाडौं महानगरपालिकाले चराचुरुङ्गीको लागि पानीपात्र निर्माण गर्न बजेटको व्यवस्था गरेको छ । आगामी वर्षको बजेटमा उक्त उल्लेख गरेको हो । ‘प्लाष्टिक झोलामुक्त काठमाडौंको लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ बजेटमा भनिएको छ, ‘आगामी आर्थिक वर्षका लागि मुलतः वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षातर्फ १ अर्ब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड, सामाजिक विकासमा ४९ करोड, पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड, हरियाली प्रवर्धन गर्न ४३ करोड, सूचना प्रविधितर्फ ४१ करोड, स्वास्थ्य सेवातर्फ ७० करोड र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन गरिएको छ ।’
