केयूमा श्रम, आप्रवासन, लैंगिकता र मानवअधिकारबारे अन्तरक्रिया

केयू, स्कूल अफ आर्ट्सका तेस्रो वर्ष दोस्रो सेमेस्टरमा अध्ययनरत कम्युनिटी डेभलपमेन्ट कार्यक्रमका विद्यार्थीहरूले मंगलबार २६ जेठमा बालकुमारीस्थित कुसोम परिसरमा अन्तरक्रिया आयोजना गरेका हुन् ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Interaction on labor, immigration, gender, and human rights at KU

काठमाडौँ — काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले श्रम, आप्रवासन, लैंगिकता र मानवअधिकारबारे अन्तरक्रिया सम्पन्न गरेका छन् । 

केयू, स्कूल अफ आर्ट्सका तेस्रो वर्ष दोस्रो सेमेस्टरमा अध्ययनरत कम्युनिटी डेभलपमेन्ट कार्यक्रमका विद्यार्थीहरूले मंगलबार २६ जेठमा बालकुमारीस्थित कुसोम परिसरमा अन्तरक्रिया आयोजना गरेका हुन् । कार्यक्रममा नागरिक समाजका अगुवा, विभिन्न संस्थाका प्रतिनिधि, अध्यापक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले आप्रवासी श्रमिक, विशेषगरी महिला श्रमिकले भोगिरहेका चुनौती तथा अधिकारमुखी नीतिको आवश्यकतामा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले श्रमिक तथा आप्रवासीहरूको अधिकार सुनिश्चित गर्न विभेदपूर्ण नीतिको पुनरावलोकन, कानुनी सुरक्षा र मानवअधिकारमैत्री आप्रवासन व्यवस्थाको आवश्यकता रहेको बताएका छन् । 

प्यानलमा राष्ट्रिय सुरक्षित आप्रवासन सञ्जालका अशोक राना, श्रमिक सञ्जालका महेश्वर नेपाल, एलायन्स अगेन्स्ट ट्राफिकिङ इन वुमन एन्ड चिल्ड्रेन इन नेपालकी बेनुमाया गुरुङ, आप्रवासी महिला कामदार समूह नेपालकी विजय राई श्रेष्ठ तथा वुमन फोरम फर वुमन इन नेपालकी गोमावती पुन (सृजना) सहभागी थिए । कार्यक्रममा बोल्दै गोमावती पुनले दोहोरी साँझ तथा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरूले भोग्नुपरेको सामाजिक कलंक र विभेदबारे चर्चा गरिन् । 

त्यसैगरी बेनुमाया गुरुङले मानव बेचबिखनविरुद्धको अभियानमा हासिल भएका उपलब्धिहरू स्मरण गराउँदै अहिले बेचबिखनका स्वरूप परिवर्तन भई डिजिटल माध्यम र अनलाइन प्लेटफर्ममार्फत नयाँ जोखिमहरू देखा परेको बताइन्।

श्रमिक सञ्जालका महेश्वर नेपालले खाडी मुलुक तथा मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले सामना गरिरहेका समस्या उजागर गरे। 

विजय राई श्रेष्ठ र अशोक रानाले तथ्य र प्रमाणमा आधारित वकालतको महत्वबारे प्रकाश पारे।

कार्यक्रममा सुकुम्बासी समस्या, अस्थायी आवास केन्द्रहरूको प्रभावकारिता, श्रमिक अधिकार, मानव बेचबिखन नियन्त्रण तथा राज्यका नीतिगत कमजोरीबारे प्रश्नोत्तर सत्र पनि सञ्चालन गरिएको थियो । 

कार्यक्रम समापनका क्रममा स्कुल अफ आर्ट्सका डिन उद्धव प्याकुरेलले लैंगिकता र आप्रवासनबीचको सम्बन्धबारे चर्चा गर्दै विश्वविद्यालय र नागरिक समाजबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। अध्यापक मीना पौडेल तथा कम्युनिटी डेभलपमन्ट कार्यक्रमका संयोजक सीपी अर्यालले यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई बौद्धिक आयामबारे सिक्न धेरै मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कान्तिपुर

Link copied successfully