उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भएका सुकुमवासीहरूलाई शुक्रबार साँझदेखि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको होस्टेलमा राखिएको हो ।
भक्तपुर — सरकारले एक सातादेखि काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गर्ने सुकुमवासीहरूलाई हटाउन डोजर चलाइरहेको छ । उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भएका सुकुमवासीहरूलाई शुक्रबार साँझदेखि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको होस्टेलमा राखिएको छ । उनीहरूलाई खान र बस्ने व्यवस्था केन्द्रमै गरिएको छ ।
भक्तपुरमा दिउँसो १ बजेसम्म १ सय १८ जना सुकुमवासी ल्याइ पुर्याएको केन्द्रका इन्चार्ज निरञ्जन लामिछानेले जानकारी दिए । जसमध्ये बालबालिकादेखि ज्येष्ठ नागरिकसमेत रहेका छन् । तालिम केन्द्रमा २ सय ५० जना अट्ने क्षमताको दुई वटा भवन रहेका लामिछानेले बताए । हाल उनीहरू त्यही भवनमा रहेका छन् ।
सरकारले अर्का भवन पनि खाली गर्न भनेकाले भवन खाली गरेर तयारी अवस्थामा राखिएको इन्चार्ज लामिछानेले बताए । साँझ सम्ममा थप १ सय ५० जना सुकुमवासी आउने जानकारी गराएपछि तयारी अवस्थामा राखिएको उनले बताए ।
यहाँ आइपुगेका सुकुमवासीहरू भने आफ्नो परिवार र बालबालिका भविष्यप्रति चिन्तित रहेको बताएका छन् । सरकारले व्यवस्थापन गर्ने भनेर बस्तीमा डोजर चलाएपछि आफूहरू अलपत्र परेको उनीहरूको भनाइ रहेको छ । केहीले त आफूले लगाएको लुगा बाहेक केही लिन नपाएको समेत बताएका छन् । वर्षौं मिहिनेत गरेर बनाएको सानो थातथलो छोड्नु पर्दा आफूहरूलाई पीडामाथि थप पीडा थपिएको उनीहरूको भनाइ छ । उनीहरूलाई आफ्नो बालबालिकाहरूको पढाइ छुटेको प्रति निकै चिन्तित बनाएको छ भने सरकारसँगै तत्काल स्थायी समाधान दिएर व्यवस्थापन गर्नुपर्ने माग उनीहरूको छ ।
