‘सामान सार्ने, आफन्तकोमा सरण लिनेसम्मको समय त दिनुपर्ने । कतैबाट लुटेर बनाएका त थिएनौँ,’ उनले भने, ‘लुगा फेर्न पाएको छैन । जुत्ता लगाउन पाएको छैन । बुहारी र नातिनीले निकाल्न सकेनन् । सबै पुरियो भन्छन् ।’ आँखाको डिलमा टिल्पिल आँसु पार्दै उनले प्रश्न गरे- ‘अब कहाँ गएर लुगाफाटा खोतल्नु ?’
What you should know
काठमाडौँ — दुई दशकयता खम्बसिंह बुढाथोकीले काठमाडौंको थापाथलीस्थित बागमती किनारमा थातथलो बनाएका थिए । पुराना इँट्टा र जस्ताको टहरो थियो । चार कोठाको टहरो थियो । परिवारमा छ जना थिए । केही र कोही नभएका खम्बका लागि सबथोक थियो त्यो टहरा । दिनभर हात-नंग्रा खियाएर रातमा परिवारलाई ओत दिएको थियो । तीन वटा छोरीलाई खम्बले त्यही घरबाट अन्माए । एउटा छोराले बुहारी भित्र्याए ।
थापाथलीमा बिहीबारदेखि बस्ती छोड्न माइकिङ भयो । खम्ब १५ दिनअघि डकर्मी गर्न काठमाडौं बाहिर गएका थिए । थापाथलीमा उनकी बुहारी र १६ वर्षकी नातिनी मात्र थिए । बुहारीले कतै कोठा पाइनन् । ‘सामान सार्ने, आफन्तकोमा सरण लिनेसम्मको समय त दिनुपर्ने । कतैबाट लुटेर बनाएका त थिएनौँ,’ खम्बसिंहले भने, ‘लुगा फेर्न पाएको छैन । जुत्ता लगाउन पाएको छैन । बुहारी र नातिनीले निकाल्न सकेनन् । सबै पुरियो भन्छन् ।’ आँखाको डिलमा टिल्पिल आँसु पार्दै उनले प्रश्न गरे, ‘अब कहाँ गएर लुगाफाटा खोतल्नु ?’
कामबाट भनेकै दिन छुट्टी पाएनन् । आइतबार साहुले थमाएको गाडी भाडाबाहेक ३५ सय लिएर खम्ब काठमाडौं आए । अघिल्लो दिन शनिबार नै सरकारले डोजर लगाएर उनकी बुहारी र नातिनीलाई अस्थायी सेल्टरमा राखेको छ । उनी पनि सिधैं सुकुमवासीको अस्थायी सेल्टरमा आए ।
इलाममा भएको जग्गा सरकारको गर्दिन्छु
इलामको माङ्सेबुङ्मा खम्बको ४ रोपनी जग्गा छ । मकै फल्ने पाखो पनि छ । तर, बाँदरले बाली भित्र्याउन दिन्न । बादर आतंकले उनी काम खोज्दै काठमाडौं आए । बाबुबाट पाएको अंशको माया त छ । तर, फेरि त्यही पाखोमा गएर बस्न सकिन्नँ । बरु इलामको जग्गा सरकारको नाममा गर्दिन्छु । ‘म सरकारको गरिबी निवारणमा परेँ भने परेँ, नपरे भने के गर्ने ?,’ खम्बले भने, ‘गरेर खान सहर पस्यौँ । सहर पस्नु हाम्रो गल्ती होइन ।’
