तोकिएको रुटका बसस्टपबाट हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगरप्रहरी खटिनेछन् ।
What you should know
काठमाडौं — काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरेको छ । साझा यातायातसँगको सहकार्यमा साँझ ७:०० बजेदेखि पुल्चोकबाट बससेवा सुरु भएको हो ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार आजदेखि पहिलो चरणमा ललितपुरको लगनखेलबाट बूढानीलकण्ठसम्म, बूढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टदबाट थानकोटसम्मको रुटमा विद्युतीय बससेवा सञ्चालन हुनेछन् ।
ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने कामपाले जनाएको छ ।
थानकोटबाट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको छ । यी २ रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरले जानकारी दिएको छ । 
'बेलुका ८:०० बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगोमा यात्रा गर्नुपर्ने समस्या समाधान गर्न रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौं,' महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भनिन, 'सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेकामा यसले केही हदसम्म समाधान हुने विश्वास छ ।' उनले यसअघि रातिको समयमा किशोरी र महिलाले दुर्व्यवहार भोग्नुका साथै विद्यार्थीलाई आर्थिक रूपमा पनि खर्चिलो हुने गरेकामा केही सहज हुने विश्वास व्यक्त गरे ।
सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित, भरपर्दो दिगो प्रणालीमैत्री बनाउने लक्ष्यसहित कामपाले तयारी गरिरहेको उनको भनाइ छ । तोकिएको रुटका बसस्टपबाट हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगरप्रहरी खटिनेछन् ।
