लिलतपुर र काठमाडौं महानगरपालिकाले खुला व्यायामशाला बनाइदिने र सञ्चालनका लागि स्थानीयलाई जिम्मा दिने गर्दै आएको छ । स्थापनापछि अनुगमन र व्यवस्थापनमा महानगरले चासो नदिँदा कतिपय व्यायामशालाका उपकरण चलाउनै नमिल्ने अवस्थामा पुगेका छन् ।
What you should know
काठमाडौँ — काठमाडौं र ललितपुर जिल्लाको सीमानामा रहेको शंखपार्कमा बिहानैदेखि चहलपहल हुन्छ, कोही दौडिरहेका हुन्छन्, कोही योग र ध्यानमा मग्न हुन्छन्, कोही साथीहरूसँग हिँडडुल गर्दै गफिरहेका हुन्छन् ।
शंखमुल बस्ने आशा देवी पटेल पनि हरेक बिहान ५ बजे ललितपुरस्थित शंख पार्कमा पुग्छिन् । रौतहट स्थायी घर भएकी ६२ वर्षीया पटेललाई केही वर्षदेखि घुँडा दुख्ने समस्या छ, याे समस्याले हिँडडुलदेखि दैनिक कामसम्म असर पारिरहेको छ । यही पीडाबाट राहत पाउन उनले योग र व्यायामलाई जीवनशैली बनाएकी छन् । योग र व्यायामका लागि उनले यही पार्कको खुला वातावरण रोजेकी छन् । यहाँ नियमित व्यायम गर्दा धेरै सहज भएको उनले बताइन् ।
उनलाई सबैभन्दा बढी राहत दिने साधन थियो पार्कमा राखिएको साइक्लिङ उपकरण । बिहानको चिसो हावामा खुट्टाले उपकरण चलाउँदा दुखाई क्रमशः कम हुँदै गएको उनले बताइन् । उनले भनिन्, ‘साइकल चलाउँदा खुट्टा हल्का हुन्थ्यो, दुखाइ पनि कम हुन्थ्यो, डाक्टरले पनि हल्का व्यायाम गर्न भनेका थिए, त्यसैले म सधैं साइकल चलाउथे ।’ तर, उनलाई राहत दिने त्यो साइकलिङ मेसिन अचेल प्रयोग गर्नै नसकिने अवस्थामा पुगेको छ । पाइडल झरेको छ, सिट भत्किएको छ, नटहरू खुकुला भएका छन् । अहिले त खुट्टा राख्न पनि डर लाग्ने गरेको उनले बताइन् । उनका अनुसार लामो समयदेखि साइक्लिङ मेसिन यही अवस्थामा छ । मेसिन मर्मतमा कसैले ध्यान नदिँदा अलपत्र अवस्थामा छ । उनले भनिन्, ‘केटाकेटीहरू आउँछन्, खेलौना जस्तो ठानेर चलाउँछन्, बिगारेर छोड्छन्, कसैले जोगाउँदैनन्, कसैले पनि बनाउँदैनन् ।’
ललितपुर सानेपाका मुकेश शाक्य पनि दिनको सुरुवात सोही पार्कबाट गर्छन् । बिहानको करिब एक घण्टा समय पार्कमा व्यायाम गरेर बिताउँछन् । पेट बढ्दै गएपछि घटाउने भन्दै पार्कको ‘सिट–अप बेन्च’ उनको दैनिक व्यायामको मुख्य साधन हुने गर्छ । उनी भन्छन्, ‘पेट अलि बढेको छ, घटाउने प्रयास गरिरहेको छु, त्यसैले सधैं यहाँ आएर एक्सरसाइज गर्छु ।’ तर, उनको यो व्यायाम अहिले असहज बन्दै गइरहेको छ । पार्कमा राखिएको सिट–अप बेन्चको कन्डिसन राम्रो नभएको उनले बताए । मेसिन ठिकसँग फिट गरिएको छैन, हल्लिने गर्छ । सन्तुलन नमिलेकाले व्यायाम गर्दा असहज हुने उनको भनाइ छ । व्यायाम गर्दा चोट लाग्ने हो की भन्ने डर हुने उनको भनाइ छ । ‘लडिन्छ कि भन्ने हुन्छ, कहिलेकाहीँ त पूरै एक्सरसाइज गर्न सकिँदैन ।’ मुकेशका अनुसार मेसिनलाई मर्मत गरेर राम्रोसँग मिलाइदिने हो भने धेरैलाई फाइदा पुग्ने थियो । पार्कमा आउने अन्य व्यक्तिहरूले पनि यस्तै गुनासो गर्ने गरेको बताए ।
ललितपुर महानगरपालिकाअन्तर्गत शंखपार्कको खुल्ला व्यायायशालामा राखिएका चेस्ट प्रेस तथा सिटेल पुलर, सिट अफ बेन्च, स्की वाकरलगायत सामाग्री बिग्रिएका छन् । साइक्लिङको प्याडल छैन । नट लुज भएको छ सिट भत्किसकेको देखिन्छ । सिट अफ बेन्चमा खिया लागेको र जिर्ण अवस्थामा छ, बस्ने भाग कमसल देखिन्छ । ललितपुर महानगरपालिका वडा नम्बर ९ को संयोजनमा राखिएका यी उपकरण लथालिङ्ग अवस्थामा छन् । केटाकेटी र युवायुवतीले रमाइलोका लागि चलाए पनि वृद्धवृद्धा भने ती उपकरण चलाउन नसक्ने अवस्थामा छन् । 
ललितपुर महानगरपालिकाका प्रवक्ता तथा उक्त पार्क रहेको वडा नम्बर ९ का अध्यक्ष राजु महर्जन व्यायशालाका उपकरणहरू मर्मत गर्ने जनशक्ति नभएको बताउछन् । उनले भने ‘ती उपकरण मर्मत गर्न जान्ने यहाँ मान्छे नै रहेनछन् । अब नयाँ नै राख्नु पर्छ ।’ उक्त पार्कमा बागमती प्रदेशको ४ लाख बजेटले उपकरण राखिएको उनले बताए । प्रदेश सरकारले उपकरणहरू नै खरिद गरेर पठाएको र पार्कमा राखिएको उनले जानकारी दिए । बिहान र साँझ पार्कमा भिड हुने हुँदा मेसिनहरूलाई सुरक्षित राख्न नसकेको उनले जानकारी दिए । साथै, डुबानमा पनि परेकाले मेसिनमा बालुवा भरिएर बिग्रिएको उनले बताए । महानगरका हरेकजसो वडामा खुला व्यायमशाला राखे पनि कस्तो अवस्थामा छन् भनेर अनुगमन गर्ने गरेको पाइदैन । उनले भने, ‘हरेक वडामा व्यायमशाला त छन् तर कति छन् ठ्याक्कै संख्यामा भन्न सकिँदैन ।’
ललितपुर महानगरको शंखपार्कमा जस्तै काठमाडौं महानगरपालिकाका पार्क र खुला स्थानमा राखिएका व्यायमशालाको उपकरणको अवस्था पनि उस्तै छ । बालउद्यममा राखिएका खेल्ने सामाग्रीहरू अथवा व्यायमशालाका उपकरणहरू मर्मत गरिएको देखिँदैन । काठमाडौं महानगरपालिका–२९ अन्तर्गत प्रहरी वृत्त सिंहदरबारका आडैमा सञ्चालित व्यायमशालाका उपकरणहरू पनि बिग्रिएका, भत्किएका र टुटेका देखिन्छन् । अनामनगरबाट नातिनी लिएर पार्कमा पुगेका विश्वबन्धु पौडेल साँझ पार्कमा पुगेर केही समय बिताउने, नातिनीलाई खेलाउने र हल्का हिँडडुल गर्ने गर्छन् । तर, पछिल्लो समय पार्कको अवस्था देखेर चिन्तित छन् । उनका अनुसार पार्कमा राखिएका व्यायाम उपकरणहरू बिग्रिएको, भत्किएको र मर्मत नभएको अवस्थामा छन् । उनले भने, ‘सामानहरू टुट्ने–फुट्ने र बिग्रिने क्रम बढिरहेको छ तर मर्मतमा कसैको ध्यान गएको जस्तो देखिँदैन ।’
महानगरपालिकाले सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गर्दै खुला स्थानहरूमा व्यायामशाला सञ्चालन गर्नु सकारात्मक पहल भए पनि दीर्घकालीन व्यवस्थापनमा भने कमी देखिएको उनको भनाइ छ । उपकरण मर्मत मात्र नभई पार्कको सरसफाइमा पनि कसैले वास्ता नगरेको उनको भनाइ छ । उनले भने ‘पार्कको सरसफाइ पनि राम्रो छैन, फोहोर बढ्दै गएको छ, उपकरणहरू पनि त्यत्तिकै छोडिएका छन् ।’ नातिनीलाई खेलाउन ल्याउँदा असुरक्षित महसुस हुने उनले बताए ।
भिरालो स्थानमा रहेको व्यायमशाला, त्यसमा पनि बिग्रिएका उपकरण । जसले जुनसुकैबेला चोट लाग्ने जोखिम रहेको उनले बताए । यस्ता सार्वजनिक स्थानहरू सबैको साझा सम्पत्ति भएकाले संरक्षण र व्यवस्थापनमा महानगरपालिका गम्भीर भएर काम गर्नुपर्ने उनको सुझाव छ । 
काठमाडौं महानगरपालिका–१० स्थित विनायक बाल उद्यानको अवस्था पनि शंखपार्क र सिंहदरबार छेवैको भन्दा फरक छैन । बालबालिकाका लागि व्यायम गर्ने, खेल्ने सामाग्रीहरू भत्किएर भुइँमा लडिरहेका छन् । मध्ये बानेश्वरकी सुस्मिता अर्याल ५ वर्षकी छोरी खेलाउन हरेक दिन उक्त उद्यानमा पुग्छिन् । छोरीको स्कुल छुट्टी भएकाले यही ल्याउने गरेको उनले सुनाइन् । उद्यानका सामागीहरू भने टुटेफुटेको अवस्थामा छन् । उनले भनिन्, ‘केटाकेटीहरू आउँछन् त्यस्तैमा खेल्छन् । लड्छन् यतिकै छोडेको देख्छु कसरी बनाउने हो त्यो थाहा भएन ।’
कसरी सञ्चालन भइरहेका छन् व्यायमशाला ?
उद्यानका अध्यक्ष समेत रहेको वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले आफूले रिपोर्ट गरेर सबै पठाइसकेको बताए । महानगरअन्तर्गत रहने उद्यान व्यायमशालाको अवस्थाबारे महानगरलाई रिपोर्ट गरिसकेको र सुधार प्रक्रिया अगाडि बढाएको बताए । वडाले टोलसुधार समितिलाई जिम्मा दिए पनि प्रभावकारी नियमन नगरेको उनले बताए ।
समितिले रातभर खुल्लै छोडिदिने, निगरानी नगर्ने हुँदा समस्या भएको उनले बताए । उनले भने, ‘सबै स्थानमा वडाले निगरानी र अनुगमन गर्न सक्दैन । जुन जुन ठाउँमा बनाएको हो त्यही ठाउँका टोलसुधार समितिलाई जिम्मा दिएका थियौं । तर, उनीहरूले निगरानी गरिदिएनन् ।’ वडामा ४ वटा बालउद्यान र ४ वटा खुल्ला व्यायमशाला छन् । अब नियन्त्रण र नियमन भने महानगर प्रहरीद्धारा नै गरिने उनले जानकारी दिए । 
काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्र र खाली जग्गामा बालउद्यान, खुल्ला व्यायमशाला निर्माण गरे पनि त्यसलाई व्यवस्थित गर्न सकेको छैन । महानगरमा खुल्ला व्यायमशाला कति छन् एकीन भन्न नसकिने काठमाडौं महानगर पालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । महानगरहरूले जडान गरेर सञ्चालनमा ल्याएका उपकरणहरू मर्मत गर्न नसकेको उनले पनि स्वीकार गरे । फाउण्डेसन बनाइदिने त्यसलाई सरसफाई नगर्ने, मर्मत नगर्ने परम्परागत कामले नै निरन्तरता पाइरहेको बताए ।
मर्मतका लागि आवश्यक बजेट समेत अभाव भएको उनले बताए । उनले भने ‘व्यायमशाला निर्माण गर्दा सामान किन्ने र जोड्ने मात्रै काम भयो । त्यसलाई मर्मत सम्भार गर्ने कुनै योजना नै भएन् । अहिले बजेट पनि छैन मर्मत गरिदिने मान्छे पनि छैन । यसको मर्मतका लागि बजेट को कुनै शीर्षक नै छैन ।’ उनले मर्मतको खर्च बढी भएकाले समस्या भएको बताए । कुनै मापदण्ड कार्यविधिभन्दा पनि आवश्यकता ठानेर निर्माण गरेको उनले बताए ।
