भक्तपुरमा बिस्का जात्रा सुरु

लिच्छविकालदेखि बिस्केट जात्रा वि सित अर्थात् नागनागिन मार्‍यो भन्ने भावका आधारमा मनाइँदै आएको छ ।

चैत्र २७, २०८२

सुन्दर शिल्पकार

Biska Jatra begins in Bhaktapur

भक्तपुर — भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शुक्रबारबाट सुरु भएको छ । नयाँ वर्ष सुरुआतको चार दिनअघिबाट सुरु हुने बिस्का जात्रा भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । जात्राको पहिलो दिन भैलख: अर्थात् भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुन्छ  । त : मारी टोलमा रहेको भैरव मन्दिरमा विधिवत् पूजापछि मूल देवतालाई रथमा विराजमान गराएर जात्रा सुरु हुन्छ । 

विषेशगरी जात्रामा त : मारी टोलमा रहेको प्यागोडा शैलीको तीनतले भैलखलाई दुई टोल तल्लो र माथिल्लो टोलका स्थानीयहरुले आ-आफनो टोलमा लैजान दुवै क्षेत्रबाट रथलाई होस्टे हैंसेको लयमा तानातान गरिन्छ । यो नै जात्राको प्रमुख आकर्षण हो । 

जात्राको पहिलो आज भैरवनाथको रथ तल्लो टोलको टौमढीबाट सहरका विभिन्न स्थान हुँदै बंशगोपालचोकसम्म र माथिल्लो टोलको दत्तात्रय मन्दिरसम्म लैजाने परम्परा छ । जात्रा सुरु हुने पहिलो दिनलाई द्यो क्वँबिज्यागु अर्थात् भैरवनाथको रथ तल्लो टोलमा विराजमान हुने भनिन्छ । जात्रामा रथको अगाडि भागमा छ र पछाडी भागमा भैरवनाथको रथलाई ल्याएर गहिटी टोलमा ल्याइसकेपछि आजको जात्रा समापन गर्ने चलन छ । 

लिच्छविकालदेखि बिस्केट जात्रा वि सित अर्थात् नागनागिन मार्‍यो भन्ने भावका आधारमा मनाइँदै आएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा विजय उत्सवका रुपमा पनि मनाइने भएकाले यो जात्रा हेर्नाले शत्रुनास हुन्छ भन्ने जनविश्वास छ ।

सुन्दर

Link copied successfully