नगरपालिकाले मध्यपुर थिमि नगरपालिका स्थापना हुँदाको तत्कालीन दिव्यश्वरी, बालकुमारी, चपाचो, नगदेश र बोदे गाविसको प्रतिनिधित्व हुने गरी ५ जनालाई जनही १०/१० हजार बचत फिर्ता गरेको हो ।
भक्तपुर — मध्यपुर थिमि नगरपालिकाले सहकारी पीडितको बचत फिर्ता गर्न सुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकाले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार आयोजित सभामा समस्याग्रस्त सहकारी कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई जनही १०/१० हजार रुपैयाँ वितरण गर्दै बचत फिर्ता सुरु गरेको हो ।
नगरपालिकाले मध्यपुर थिमि नगरपालिका स्थापना हुँदाको तत्कालीन दिव्यश्वरी, बालकुमारी, चपाचो, नगदेश र बोदे गाविसको प्रतिनिधित्व हुने गरी ५ जनालाई जनही १०/१० हजार बचत फिर्ता गरेको हो ।
मध्यपुर थिमि–३ गठ्ठाघरमा सञ्चालित उक्त सहकारीले बचतकर्ताको रकम फिर्ता नगरी सञ्चालक फरार भएका थिए । उक्त सहकारीलाई नगरपालिकाको सहकारी ऐन २०७९ तथा नियमावली २०८० बमोजिम समस्याग्रस्त घोषणा गरी सहकारीको व्यवस्थापन सुरु गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाले २०८१ जेठ १७ गते कृषि विकास वचत तथा ऋण सहकारी प्रालिलाई समस्याग्रस्त घोषणा गरेको हो । त्यसपछि २०८२ जेठ २८ गते नगरपालिकाले पूर्व न्यायाधीशको अध्यक्षतामा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो ।
उक्त समितिले सहकारीका बचतकर्तालाई बचत रकम दाबी गर्न आउन र सहकारीका ऋणीहरुलाई ऋण रकम चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सोही अनुसार बचत दाबी गर्न आएका बचतकर्ताहरुलाई रकम फिर्ता गर्ने कार्य सुरु गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको भनाइ छ ।
समितिमा हाल ५४९ जना बचतकर्ताहरुले बचत रकम दाबी गर्दै निवेदन पेस गरेको छ । ती मध्ये पहिलो चरणमा समितिमा चेक जम्मा गरेका २५२ बचतकर्ताहरुलाई जनही १०/१० हजार रुपैयाँ फिर्ता गर्ने भएको हो ।
उनका अनुसार उक्त सहकारीको ऋणीहरुबाट ऋण असुलीको पनि कार्य भइरहेको छ । समितिले हालसम्म ४२ लाख रुपैयाँ ऋण असुली गरिसकेको छ । सोही रकमबाट बचत फिर्ताको शुभारम्भ गरिएको नगरप्रमुख श्रेष्ठले बताए । नगरपालिकाको सहकारी शाखाका अनुसार कृषि विकास बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताबाट हालसम्म २२ करोड भन्दा बढी रकमको दाबी परेको छ भने संस्थाले २४ करोड रुपैयाँ ऋण लगानी गरेको प्रमुख श्रेष्ठले बताए ।
