काठमाडौं महानगरले मोटरसाइकल एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने

बिरामीलाई अस्पताल पुर्‍याउनुअघि मोटरसाइकल एम्बुलेन्समा चिकित्सक पठाइने महानगरले जनाएको छ ।  

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City to launch motorcycle ambulance service

काठमाडौँ — काठमाडौं महानगरपालिकाले दुईपांग्रे(मोटरसाइकल) एक्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लैजानका लागि दुईपांग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको महानगरले जनाएको छ । 

महानगरकी कार्यवाहक प्रमुख सुनिता ढंगोलले जटिल स्वास्थ्य अवस्था आएर आपत सिर्जना भएको ठाउँमा सकेसम्म छिटो पुग्नका लागि दुईपांग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशन दिएकी छिन् । 

‘बिरामी भएका ठाउँमा सकेसम्म छिटो एम्बुलेन्स पुर्‍याउन, आफूले बोलाएको एम्बुलेन्स कहाँ आउँदैछ ? एम्बुलेन्समा को-को छन्, बिरामीका आफन्तले थाहा पाउने प्रणाली ल्याऔं,’ सरोकारवालाहरूसँगको छलफलमा उनले भनिन्,‘सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट बिरामी भएको ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र निर्माण गरौँ ।’ बिरामीलाई अस्पताल पुर्‍याउनुअघि मोटरसाइकल एम्बुलेन्समा चिकित्सक पठाइने महानगरले जनाएको छ । 

उक्त सेवा सञ्चालनका लागि महानगरपालिकाले २०७६ वैशाखबाट नै नेपाल एम्बुलेन्स सेवासँग सम्झौता गरेको जनाएको छ । उक्त सम्झौतापछि १३ करोड ४४ लाख रुपैयाँ अनुदान प्रदान समेत गरेको महानरले जनाएको छ । अहिले उक्त सेवा सञ्चालनको अभ्यासमा एक जना बिरामीका लागि १ हजार ६ सय ५ रुपैयाँ खर्च हुने गरेको र उक्त खर्च आफैंले बेहोर्दै आएको महानगरले जनाएको छ । 

महानगरको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नुपर्ने महानगरको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जनाए । लागत घटाएर सेवाको गुणस्तर बढाउने विषयमा अध्ययन गरिनुपर्ने वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले जनाए । 

सम्पर्क गरेपछिको आठ मिनेटमा बिरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्डबमोजिम उक्त सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने पनि महानगरले जनाएको छ । 

कान्तिपुर

Link copied successfully