क्यान्सर परीक्षणमा काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य 

सोमबार सुरु भएको परीक्षणमा सहभागी हुन पहिलो दिनमै स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएको महानगरले जनाएको छ ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City and Bir Hospital collaborate on cancer testing

काठमाडौं — काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा महिलाहरूको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ । 

सोमबार सुरु भएको परीक्षणमा सहभागी हुन पहिलो दिनमै स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट १३६ जनाले रिफरल स्लिप लिएको महानगरले जनाएको छ । जसमध्ये ५ जनाको परिवारमा स्तन क्यान्सर र ३ जनाको परिवारमा सर्भाइकल क्यान्सर रहेको महानगरले जनाएको छ । 

महानगरले र वीर अस्पतालको सहकार्यमा निःशुल्क परीक्षणका साथै प्रारम्भिक अवस्थाको उपचार पनि निःशुल्क गर्न लागेको हो । निःशुल्क परीक्षणका लागि महानगरले वडाको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफरल स्लिप उपलब्ध गराएको छ । महानगरका हरेक वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र रहेकाले त्यहाँबाट रिफरल स्लिप लिएर परीक्षणको लागि वीर अस्पताल जान सकिने जनाएको छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले समेत स्वास्थ्य परीक्षण गरेकी थिइन् । डंगोलले रोग समयमै पत्ता लगाउन सके उपचार गर्न सकिने सो क्रममा बताएकी छन् । ‘समयमै पहिचान गर्न नसके क्यान्सरले जीवन लान्छ । आर्थिक अवस्था र घर परिवारलाई कमजोर बनाउँछ,’ उनले भनिन्, ‘जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ ।’ उनले महिलाले समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने जनाएकी छन् ।

चिकित्सा विज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले क्यान्सरको पहिचान समयमै गर्न नसक्दा डरलाग्दो बनिरहेको उल्लेख गर्दै महानगरले क्यान्सर पहिचानलाई प्राथमिकता राखेर कार्यक्रम चलाउनुले समस्या समाधानमा ठुलो महत्व राखेको बताएका छन् । 

यस्तै प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा दिलिप शर्माले महिलाको स्तन, पाठेघर र सर्भाइकल क्यान्सरका क्षेत्रमा महानगरले परीक्षण सेवा सुरु गरेर अनुकरणीय काम गरेको बताए । 

कार्यक्रममा सस्मिता कार्की थापाले क्यान्सर उपचारको अनुभव सुनाएकी थिइन् । ‘मलाई पिसाबको इन्फेक्सन भइरहन्थ्यो । कहिलेकाही महिनावारी गडवडी हुन्थ्यो । यसलाई मैले कहिल्यै पनि समस्याको रुपमा लिएको थिएन्,’ उनले भनिन्, ‘जब क्यान्सर भएको चिकित्सकबाट थाहा पाएँ । सुरुमा त पत्याइन । तर, पत्याउनु पर्ने दिन आयो । मलाई बाँच्छु भन्ने लागेकै थिएन ।’ 

यस्तै विमला पौडेलले गत वर्षको परीक्षण कार्यक्रममा जाँच गराउँदा पोजेटिभ देखिएपछि उपचारको अनुभव सुनाएकी थिइन् । उनले पहिलो स्टेजमै थाहा पाएका कारण सहज भएको सुनाइन् । ‘जाँच गराउँदा पोजेटिभ देखियो । पहिलो स्टेजमै पत्ता लागेकोले उपचार सहज भयो । अहिले नेगेटिभ भइसकेको छ,’ उनले भनिन्, ‘यदि मैले पहिले नजचाएको भए अहिले म शिथिल बिरामी भएको अवस्थामा हुन्थेँ होला । नयाँ जीवन दिएकोमा काठमाडौँ महानगरपालिका र वीर अस्पताललाई धन्यवाद ।’

वीर अस्पतालकी  क्यान्सर रोग विशेषज्ञ प्राडा सन्ध्या चापागाईं पाठेघरको मुखको क्यान्सर परीक्षण गराउँदा एचपीभी पोजेटिभ देखिए महिला डराउने गरेको जनाइन् । उनले भनिन्, ‘धेरै महिला र परिवारका सदस्य क्यान्सर भयो भनेर डराउनुहुन्छ । तर, एचपीभी पोजेटिभ हुनु क्यान्सर हुनु होइन,’ उनले भनिन्, ‘यसबाट संक्रमण भएर क्यान्सरको जोखिम हुन सक्ने जोखिम हो ।’

पाठेघरको मुखको क्यान्सर जाँच गराउँदा अहिलेसम्म एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण गर्ने गरिएको महानगरले जानकारी दिएको छ ।

वीर अस्पताल प्रयोगशालाका प्रमुख प्रकाश नेपालका अनुसार, गत वर्ष ९८ जनाको परीक्षणमा एचपीभी १६ र १८ देखिएको थिएन । त्यस कारण यस वर्षको परीक्षणमा एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को पनि जाँच गर्ने तयारी गरिएको छन् । 

सिआइएन अर्थात् सर्भाइकल इन्ट्रापेथिलियल नियोप्लासिया क्यान्सरको प्रारम्भिक अवस्था हो । यस्तो अवस्थाका ३ वटा तह (ग्रेड) हुने चिकित्सकको भनाइ छ । पहिलो तहलाई सिआइएन वान, दोस्रोलाई सिआएएन टु र तेस्रोलाई सिआइएन थ्री भनिने उक्त परीक्षणमा बताइएको थियो । 

हृयुमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । ३० बर्षदेखि ६० बर्ष समूहका महिलाले हरेक ५ वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्ने स्वास्थ्य विशेषज्ञले सुझाव छ ।  

१ जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ वर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्क भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुम्रपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलालाई पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुने समेत महानगरले जनाएको छ । 

कान्तिपुर

Link copied successfully