ठमेल क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न २० युगान्डेली महिला पक्राउ

सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा मोलमोलाइ गर्दै यौन व्यवसाय सञ्चालन गर्ने, बाटो हिँड्ने सर्वसाधारण तथा पर्यटकलाई अनावश्यक रूपमा रोक्ने, जिस्क्याउने तथा अशोभनीय व्यवहार गर्दै आएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

चैत्र ११, २०८२

विवेक पोख्रेल

20 Ugandan women arrested for engaging in immoral activities in Thamel area

What you should know

काठमाडौं — काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले २० जना युगान्डेली महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा मोलमोलाइ गर्दै यौन व्यवसाय सञ्चालन गर्ने, बाटो हिँड्ने सर्वसाधारण तथा पर्यटकलाई अनावश्यक रूपमा रोक्ने, जिस्क्याउने तथा अशोभनीय व्यवहार गर्दै आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

‘स्थानीयको सूचनापछि प्रहरीले ठमेलका विभिन्न स्थानमा निगरानी तथा चेकजाँच गर्ने क्रममा फायरचोक क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो,’ भट्टराईले भने, ‘विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप गरी दुःख–हैरानी दिएको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको हो ।’

प्रहरीका अनुसार पक्राउ पर्ने सबै महिला युगान्डाका नागरिक हुन् । उनीहरूको उमेर २३ देखि ४४ वर्षबीच रहेको छ । सोमबार राति पक्राउ परेका उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिने म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विभिन्न समयमा पर्यटक भिसामा नेपाल आएका उनीहरू ठमेल क्षेत्रमा यस्तो गतिविधिमा संलग्न रहेको खुलेको छ । 

नेपालमा सार्वजनिक स्थानमा अश्लील वा यौनजन्य गतिविधि गर्न नहुने व्यवस्था मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गरिएको छ । उक्त संहिताअनुसार सार्वजनिक स्थलमा सहमति भए पनि अशोभनीय वा अश्लील गतिविधि गर्न पाइदैन र यस्तो कार्य सार्वजनिक मर्यादा तथा शान्ति भंग गर्ने मानिँदै कानुनी कारबाही हुने व्यवस्था छ । 

ठमेलमा भित्री रुपमा विगतमा यस्तो कार्य भए पनि ३/४ वर्षदेखि भने समस्याकै रुपमा देखा पर्न थालेको भट्टराईले जानकारी दिए । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully