ठगी आरोपमा ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ

नेपालमा ठगीको कुरा उठेपछि उनी भारतको नयाँ दिल्लीस्थित पहाडगन्जमा ‘अन्नपूर्ण फास्ट फुड’ सञ्चालन गर्दै बसेको तथा भारत सरकारबाट जारी आधार कार्ड र प्यान कार्डसमेत लिएको अनुसन्धानमा खुलेको छ ।

चैत्र १०, २०८२

विवेक पोख्रेल

'Oil Visa' producer Shivaraj Karki arrested on fraud charges

What you should know

काठमाडौँ — अमेरिका पठाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम असुल गरी सम्पर्कविहीन भएको आरोपमा ‘तेल भिसा’ चलचित्रका निर्माता शिवराज कार्की पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–४, माकलबारी बस्दै आएका ४४ वर्षीय कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मंगलबार काठमाडौं–१५ स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

नेपालमा ठगीको कुरा उठेपछि उनी भारतको नयाँ दिल्लीस्थित पहाडगन्जमा ‘अन्नपूर्ण फास्ट फुड’ सञ्चालन गर्दै बसेको तथा भारत सरकारबाट जारी आधार कार्ड र प्यान कार्डसमेत लिएको अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार कार्कीविरुद्ध ६ वटा पक्राउ पुर्जी जारी भएको थियो । २०८२ असार २४ गते प्रहरी वृत्त लैनचौरमा उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत दर्ता भएको थियो । 

प्रारम्भिक अनुसन्धानमा उनले वैदेशिक रोजगारीमा पठाइदिने बहानामा करिब २५० जनालाई ठगी गरेको खुलेको छ, जसमध्ये १०० भन्दा बढी पीडित प्रहरी सम्पर्कमा आएका छन् । ‘युरोपका देशहरूमा लैजाने भन्दै १ लाखदेखि २० लाख सम्म ठगेको देखिएको छ,’ प्रहरी उपरीक्षक भट्टले भने, ‘अहिलेसम्म २ करोड ५० लाखभन्दा बढी रकम उनीमार्फत ठगी भएको देखिए पनि ठगीमा पर्नेहरूको सम्पर्कमा आउने क्रम बढ्दै गएकाले रकम पनि बढ्ने देखिन्छ ।’

चलचित्र निर्माणसँगै उनले करिब १० वर्षदेखि चाबहिलमा ‘पीएण्डएम इनोभेटिभ सर्भिसेज’ नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए । यद्यपि, कार्कीले भने सामाजिक सञ्जालमार्फत आफूलाई सम्पर्क गरेका व्यक्तिहरूसँग समन्वय मात्र गरेको र आफू पनि अन्य व्यक्तिबाट ठगीमा परेको बताउँदै आएका छन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully