धरहराबाट १५ महिनामा उठ्यो ११ करोड

सिजनमा एकै दिन १२ सयदेखि १४ सयसम्म आउँछन्, सार्वजनिक बिदामा एकै दिन २ हजार जनासम्म पनि आएको रेकर्ड छ ।

चैत्र १०, २०८२

आरती पौडेल

Dharahara raises Rs 110 million in 15 months

काठमाडौँ — पुनर्निर्माणपछि सञ्चालनमा आएको धरहराबाट १५ महिनामै ११ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । नौतले धरहरा २०७२ को महाभूकम्पमा पूर्ण रूपमा भत्किएपछि पुनर्निर्माण गरी ९ मंसिर २०८१ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरिएयता गत फागुनसम्म ६ लाख ५ हजार ३ सय ९१ जनाले अवलोकन गरेका छन् भने ५ करोड ९५ लाख रुपैयाँ राजस्व उठेको छ । 

धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ प्रमुख महेश राई (एमटेन) का अनुसार धरहरा अवलोकनका लागि साताभर नै खुला रहनेछ । ‘मौसम र सिजन हेरेर अवलोकनकर्ता धरहरा आउने गरेका छन्,’ उनले भने, ‘सिजनमा एकै दिन १२ सयदेखि १४ सयसम्म आउँछन्, सार्वजनिक बिदामा एकै दिन २ हजार जनासम्म पनि आएको रेकर्ड छ ।’ 

भुइँतलाको काम नसकिँदै धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो । ‘पुनर्निर्माणको काम लगभग सकिसकेको छ,’ भवन तथा आवास केन्द्रीय आयोजना कार्यान्वयन इकाइका निर्देशक झप्परसिंह विश्वकर्मा भन्छन्, ‘आँगन बनाउने र म्युजियमका केही काम भइरहेका छन् ।’ उनका अनुसार पार्किङको केही भागमा लाइट र जेड फ्यान जडान गरिएका छन्, तर त्यसको परीक्षण गर्न बाँकी छ । ‘सबै काम चालु आर्थिक वर्षभित्र नै सकिन्छ,’ उनले भने । काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच सम्झौता गरेर धरहराका तीनवटा बेसमेन्टमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । 

धरहरा अवलोकन गर्न छुट्टाछुट्टै शुल्क तोकिएका छन् । आन्तरिक पर्यटकका लागि दुई सय रुपैयाँ छ । उक्त शुल्कमा विद्यार्थी एवं वृद्धवृद्धाका लागि ५० प्रतिशत छुट रहेको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई ५ सय रुपैयाँ र अन्य मुलुकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । ठूला चाडपर्वबाहेक अन्य समयमा खुला रहने धरहरा बिहान ८ देखि राति ८ बजेसम्म अवलोकन गर्न पाइन्छ । 

१५ असोज २०७५ मा पुनर्निर्माण थालिएको धरहराको सुरु ठेक्का सम्झौताअनुसार काम सकिनुपर्ने अवधि १४ असोज २०७७ मा थियो । पाँचौं पटक असोज २०८० सम्म म्याद थप गरिए पनि काम सकिएन । छैटौं पटक २० असोज २०८१ सम्मका लागि म्याद थपिएको थियो, तर पूरै काम अझै सकिएको छैन । ठेक्का जीआईईटीसी–रमण जेभीले लिएको छ । जीआईईटीसी चिनियाँ कम्पनी भए पनि काम नेपाली ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ, जसलाई ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँमा ठेक्का दिइएको हो । अहिले वैशाख २०८३ सम्म म्याद थप गरिएको छ । अहिलेसम्म ८५ प्रतिशत मात्र काम सकिएको छ ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully