माइतीघरमा न्यायका लागि धर्ना बस्दा पनि कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले आयोगको ध्यानाकर्षण गराएका हुन् ।
काठमाडौँ — हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग परिसरमा नाराबाजी गरेका छन् ।
‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर’ नाराका साथ पीडित पक्षले महिला आयोग परिसरमा नाराबाजी गरेका हुन् ।
सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गर्नुपर्ने र खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन् ।
माइतीघरमा न्यायका लागि धर्ना बस्दा पनि कुनै सुनुवाइ नभएको भन्दै पीडित पक्षले महिला आयोगको ध्यानाकर्षण गराएका हुन् ।
पीडित पक्षको मागमा खोटाङ सेवा समाजले ऐक्यबद्धता जनाएको छ । 'पीडितले जतिसक्दो चाँडो न्याय पाउनुपर्छ,' समाजका सचिव नवराज रोकाले भने, 'पीडकले कडाभन्दा कडा सजाय पाउनुपर्यो ।'
